मधेशमा सुन्दरताको व्यापारीकरण
काठमाडौं । आजभोलि मधेशलगायत देशभरै सबै समुदायमा दाइजो प्रथाको कारणले विवाह असफल भइरहेका छन् । यो तथ्याङ्क विगतभन्दा हाल डरलाग्दोरूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाइजोलगायत सामाजिक मनोविज्ञान कति दोषी छ र मोबाईल, टिभिलगायतका टेक्नोलोजीले कति असर पारेको छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाइजो कसरी थियो र आज कसरी भारतबाट नेपालको मधेश हुँदै देशभर नै छ, यी कुराहरू पनि छोटोरूपमा चर्चा गर्दै दाइजो सुन्दरतासँग कसरी गाँसिएको हो, त्यो देखाउनु छ ।
सुन्दरताको व्यापारीकरण : सुन्दरताको व्यापारीकरणबारे बुझ्न हामीले कार्ल मार्क्सको सिद्धान्तको सहारा लिनुपर्छ । किनकि कोमोडिफिकेसन शब्द नै मार्क्सवादी चिन्तनमा पर्ने शब्द हो । यो शब्द पुँजीसँग सम्बन्धित हो । जसको सिधा सम्पर्क मान्छेको सोचसँग हुन्छ । लोइस टाइसन अमेरिकी लेखकले आफ्नो पुस्तक क्रिटिकल थ्योरी टुडे पृष्ठ ६२ मा उल्लेख गर्छिन् कि मार्क्सवादको लागि कोमोडिफिकेसन वस्तुले के गर्छ होईन अपितु सो वस्तुलाई कति रूपैयाँमा बेच्ने वा अन्य कुनै अर्काेसँग साट्ने र सो वस्तु हुँदा मालिक÷स्वामीको कस्तो प्रतिष्ठा समाजमा थपिने हो । उदाहरणका लागि यदि म एउटा किताब आनन्द उठाउन पढ्छु भने त्यो किताबको युज भ्यालु हो, यदि म त्यही किताब बेच्छु भने त्यो त्यसको एक्सचेञ्ज भ्यालु भयो र त्यही किताब म होटलको टेबलमा लिएर मेरो स्ट्याटस अरूभन्दा भिन्न र माथि छ भन्ने देखाउँछु भने त्यो किताबको लागि साइन–एक्सचेञ्ज भ्यालु हुन जान्छ ।
सामान्यरूपमा महिलाको सुन्दरता अमेरिकी र नेपाली समाज जहाँ पनि परम्परागतरूपमा उनको शारीरिक बनावट, छालाको रंग र अनुहारको सुन्दरता तथा पुरूषको लागि उचाइ, छालाको रंग आदि हुन् । जुन शारीरिक बाह्य सुन्दरता मात्र हो । जसले पुरूषलाई र महिलालाई ‘अ ब्युटी अर ब्युटिफुल’को ताज दिलाउने क्षणिक कुरा हो । वास्तवमा सुन्दरताको मापदण्ड शारीरिक अङ्ग र बनावटमा सीमित नभई मान्छेको सोच, व्यवहार, चालचलन, बोलाई आदिसम्म व्यापक हो ।
मधेशमा यसको असर : माथिको टाइसनको सुन्दरताको परिभाषाको प्रभाव मानव समाजमा जहाँ पनि छ, मधेशमा पनि छ । उदाहरणका लागि विवाहको बेला केटाकेटी दुवैजनाले सुयोग्य जीवनसाथी खोज्छन् भने कार्यालय, विद्यालय, बाटामा हिँड्दा वा विपरीत लिङ्गसँग कुराकानी गर्दा जहाँ पनि सुन्दरताले आकर्षण गरी सकारात्मक–नकारात्मक प्रभाव पारिरहेकै हुन्छन् । विवाहको बेला मधेशमा केटाको उचाई, शारीरिक स्वस्थ्यता, सम्पन्नता, जागिर वा व्यवसाय आदि हेरिन्छ भने केटीको अनुहार, शृङ्गार, बोलचाल आदि हेरिन्छ । साथै, यदि केटी काली छ वा पढेलेखेको छैन वा काली भएर शिक्षित भए पनि मोटो दाइजो लिएर केटाले क्षतिपूर्तिको सिद्धान्तअनुसार कतिपय ठाउँमा आफ्नै मनले वा परिवारको दबाबमा बिहे गर्छन् । तर त्यस्तो विवाह जुन मनले मानेको हुनुपथ्र्याे तर त्यो धनले मानेको हो, त्यो धेरै टिक्दैन, टिकाउने नाममा धाने पनि कचकच भइरहन्छ । त्यो पवित्र दुई मनको मिलनभन्दा पनि गलपासो बन्धन विवाह हुन जान्छ । जहाँ सुख दुःखको साथी श्रीमान्÷श्रीमतीले एकले अर्कालाई मान्नुको साटो झेलिरहेको अनुभव भई त्यहीँबाट परपुरूष वा परस्त्रीसँग विवाहेत्तर सम्बन्धसम्म धकेलिदिन्छ । तर बुझ्नुपर्ने के हो भने यो मधेशसँगै सबैतिरको समस्या हो । मधेशको चर्चा यहाँ भइरहेकाले मात्रै उपशीर्षकमा मधेशमा असर भनेर उल्लेख गरिएको हो ।
दाइजो किन हटेन त ? पहिला दाइजो के हो ? वास्तवमा विवाहअघि दुई परिवारबीच बिहेको लागि केटा र केटीबारे कुरा छिनोफानो भइसकेपछि कुलदेवी र देवतालाई धार्मिक, सांस्कृतिकरूपमा खुसी पार्न र सम्झनलाई दिइने वैवाहिक सगुन अर्थात् साइत जुराउने निम्तो मात्र हो, जुन अपार खुसीको प्रतीक हो । आमाबुबा, परिवार, इष्टमित्र र मानव समाजकै लागि पनि हामीले सभ्य मानव समाजको विकासका लागि हामीले एउटा अभिभारा आज पूरा गर्नतर्फ लम्कियौँ । नेपाल–भारतको सनातन हिन्दू–बौद्ध समाजमा मान्छेले रामायण, महाभारतको घट्नाको उदाहरण दिई केटी पक्षबाट दाइजो माग्छन् । यो गलत कुरा हो किनकि समाजपिच्छे सुपारी, रक्सी, दाम, सामान आदि दाइजो जे पनि कम वा बढी सगुनताको प्रतीक खुसी मनले हुन सक्छ । यसमा करचाप नै पहिलाको युगदेखि आजसम्म उल्लेख गरेको पुस्तक, कानुन वा धारावाहिक कथा केही पनि छैन । अवश्य पनि रामायणमा राजा जनकले छोरी जानकीका लागि वा राजा द्रुपदले छोरी द्रौपदीका लागि क्रमशः दुलाहा राम वा अर्जुनलाई दाइजो दिएको उल्लेख छ । तर पौराणिक कालको घटना दिएर दाइजो असुल्ने गैरकानुनी काम गर्नेले भने के बिर्सन्छन् भने पहिलो त सो बेला दाइजो मागेर होइन खुसीले दिन्थ्यो वा नसक्नेले दिँदैनथ्यो । दोस्रो कुरा बिहेपछि मात्र सामान, सुन, चाँदी, नोकरानी, लुगाकपडा, जिन्सी आदि दिइन्थ्यो । जबकि आज बिहेअघि सर्तनामामा मागिन्छन् । तेस्रो कुरा दाइजोको कुरा त्यतिबेला गौण थियो र क्षमताका आधारमा दुलाहा र दुलही खोजिन्थे । आजको जस्तो लोभलालचमा खोजिने जस्तो होइन अर्थात् आज दुलाहा मान्छेलाई नै कोमोडिफाई गरियो जबकि दुलहीको सुन्दरता र सीपको गणना हुन छाड्यो । पढेलेखेको समाजमा यी कुराहरूमा व्यापक सुधार आइरहेको पनि छ । तर अनपढ परिवार गाउँ र सहर जहाँ पनि गरिबी र अशिक्षाका कारण दाइजोको साझा समस्या देखिन्छ ।
मधेशमा सबैले देख्ने गरी दाइजोको रूप उपत्यका र पहाडमा सबै समुदायमा नगदबाट कार, मोटरसाइकल, गरगहना, पलङ, जमिन आदि लिने जिन्सिसम्म पुगिसक्यो । कानुनले बर्जित गरिसकेको अवस्थामा पनि शिक्षित डाक्टर/इञ्जिनियर तथा महँगोमा पढेका भनिएकाहरूले पनि लिन्छन् । किनकि पढाइको खर्च उठाउन खोज्छन् । व्यवसाय चलेन भने र पढाइअनुसारको ‘सामाजिक प्रतिष्ठा’ धान्नलाई घर, कार किन्दा सोबापत पैसा विवाहबाट उठाएको पाइन्छन् । जसमा राज्यले महँगो शिक्षा प्रदान गरेको तथा देशको सरकारी जागिरमा पारदर्शिता नरही अयोग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घुस दिने अब त्यो विवाहबाट असुल्ने धेरैले सोच पलाएको हुन सक्नेलाई कारण मान्छन् । अर्थात् सरकारले सुशासन र पारदर्शिता अपनाइरहेको परिवेशमा अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ । खासगरी नेपाली समाज र मधेशलाई त्यसभित्र राम्ररी हेर्ने हो भने ।
मधेशमा दाइजोको विकृति अवश्य पनि भारतीय समाजबाट आयातीत हो । जहाँ आज पनि कानुनलाई छलेर दुलहा डाक्टरलाई कमलको पुष्प, इञ्जिनियरलाई गुलाफको फूल क्याटेगरी तथा व्यापारी, सरकारी जागिरेलाई यस्तै विभिन्न क्याटेगरीमा विभाजन गरी सबैभन्दा बढी लोटस दुलहाको दाइजो रेट गरी असुलिन्छ, तर उनीहरूले पढाइ खर्च आर्थिक बाध्यता भन्छन् ।
मधेश वा नेपाली समाजमा दाइजोप्रति कस्तो विकृति पनि पाइन्छन् भने एउटै परिवारमा छोरा र छोरी छन् भने पहिला छोरीको बिहेमा दाइजोविरोधी ‘चर्काे अभियन्ता’ भई निःशुल्क बिहे गर्छन् तर छोराको बिहेको बेला ‘अभियन्ता’को जागिरबाट ‘रोगविशेष’ले मुक्तिपाएर मोटो रकम असुलिन्छ । कति जनाको केसमा त के देखियो भने जनकपुर–महोत्तरी कायस्थ जातिमै पनि जुन उच्च जात र साक्षर मधेशमा गनिन्छन् कि कति क्रिष्टल जस्तो सफा मनको केटोेले एकसुको दाइजो लिन चाहेनन् । बलजफ्ती भिडाईयो, केटा सरकारी जागिरदार रहँदा केटी सबै विषयमा अनिवार्य विषयमा जस्ट पासबाहेक अनुतीर्ण, आफ्नो खानासमेत नपकाउने अल्छीलाई इञ्जिनियर केटी भनेर भिडाइयो र भिडाउनेमा राजनीतिक दलकै नेताको संलग्नता पाइयो । किनकि केटी पक्षको घरमा नेताको सम्बन्ध पहिलादेखि कसैको बिहे भएर गाँसिएको छ र उसले यही ‘गुण तिर्न’लाई अल्छी तथा पढ्नमा अक्षम केटीलाई राम्रो केटा आर्थिकरूपले कमजोरसँग विभिन्न अर्थमा बेमेल विवाह हुन भिडाइयो । जसमा नेताले सूचना केटीबारे लुकायो कि केटीको मन पर्ने ब्वाइफ्रेण्ड परजातमा अर्कै छ । फलस्वरूप विवाह त टिकेन नै अब त्यस नेतालाई के गर्ने कानुनले जो मेरो संलग्नता कानुनी ढंगले छैन भन्दै उल्टै ‘समाजसेवा’मा लागेका छन् ? यहाँ दाइजोको नाममा ढाकछोप, पारदर्शिता नअपनाउने र केटा स्वयम्को विवाहमा लाजले अगाडि बढ्न अप्ठ्यारो अवस्थामा उसको बुबा नभएको नाजायज फाइदा उठाएर दाइ र भाइसमेतलाई अलग पारेर झुक्याएको अवस्था छ ।
उपसंहार : सुन्दरता मापनको कुनै तराजु संसारमा र कुनै मानक (ढक) बनेको छैन । अर्थात्, यो मान्छेको मनले ठह-याउने विषय हो न कि कसैको कुन कुरा, गुणले, व्यवहारले, लुगाले, वक्तव्य आदिले म सुन्दर वा कुरूप भन्ने । यस सुन्दरतालाई व्यापक अर्थमा नबुझिकन केवल शारीरिक आकर्षणमा सीमित राखेर अब स्वार्थवश थप कुरा विवाहको बेला केटा पक्षले केटी पक्षबाट माग्नु वा पाउने मनसुवा (आशा) पालेर बस्नु नै केटातर्फका त्रुटि असफल विवाहको कारण हो र दाइजोले जडो गाड्ने कारण हो । त्यस्तै, केटी पक्षले पनि केटा सरकारी जागिर भएको र आर्थिक सम्पन्नता भएकै केटा खोज्ने, आफ्नी कन्या हरेक विषयमा कक्षामा ठ्याक्कै उत्तीर्ण भए पनि वा ब्याक लागेको भए पनि विवाहको बेला केटालाई सूचना नदिने, झुक्याउने, धेरै तेज तथा राम्रो अंकले उत्तीर्ण केटा खोज्नु, विवाहअघिको केटाको चरित्र केरकार गर्ने तर केटीको चरित्रबारे नबोलिदिने, केटा मेहनती खोज्ने तर केटी भने दिनभर मोबाइल चलाउने र टिभी सिरियल हेरेर बस्ने तर खानासमेत राम्ररी नपकाउने, जायज कामहरू गर्न नसक्ने र होटलबाट मगाएर खाने कारणहरू छन् ।
त्यस्तै, अन्य कारणमा कति केटी पक्षले विवाहपछि केटाको आमाबुबासँग नै सम्बन्ध टुटाएर आफ्नो पूर्ण कब्जामा राख्न खोज्ने वा केटीलाई केटाले पूर्ण नियन्त्रणमा लिने जस्ता माथिको विश्लेषणबाट थाहा पाइन्छ । मुख्य कुरो हो स्वतन्त्रताको नाममा चरम अवस्थामा पुगेर समाज, कुल, खान्दान, घर, परिवारको मर्यादा नबुझेर छाडापन केटा वा केटी कसैले देखायो भने अर्काे पक्षले प्रश्न उठाउँछ र घरमा कलह बढ्छ । विवाह आर्थिक समानतामा भयो भने टिकाउ तुलनात्मकरूपमा हुन्छ । किनकि आर्थिक समानता हुँदा केटा वा केटी कसैले हेप्ने वा विभेद गर्ने पाटो सकिन्छ, यससँगै पढाइलगायत शारीरिक रंग आदिको समानता, सोच्ने क्षितिज/दायरा फराकिलोको समानता केटा–केटीमा भए भने अझ सुनमा सुगन्ध थपिने जस्तो हुनेछ । तर परम्परागतमा परिवारद्वारा यति कुरा मिलाउन आजको व्यस्त जमानामा गाह्रो हुने देखिन्छ भने केटा र केटीले नै साथमा बसेर मन र दिल खोलेर इमानदारिताका साथ बिहेअघि अभिभावककै अघि वा अलिक पर कुराकनी गर्न सीमित दायरा समाजले बढायो भने अझ सरल हुनेछ जस्तो लाग्छ । जुन कुरा समाज मनोविज्ञानमा भरपर्छ र व्यक्तिको सोचमा भर पर्छ । अतः दाइजो गैरकानुनी हो नै साथै सफल विवाहको लागि विवाहको बेला पारदर्शिता अपनाउने र गोरो र कालोजस्तो भए पनि सुन्दरताको परिभाषा व्यापक बनाएर अरू गुणमा पनि सन्तोष गरेर जानु उचित देखिन्छ । जीवनमा सबैथोक मनले चाहेर सबैले पाउन सकिँदैन । (समाजशास्त्रमा स्नातकोत्तर लेखक सामाजिक अभियन्ता हुन्)
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया