Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता नेपालमा हुने

५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता नेपालमा हुने


काठमाडौं । ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता नेपालमा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले यही भदौ १५ गतेदेखि २१ गतेसम्म सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा पहिलोपटक हुन लागेको सो एसियन च्याम्पियनसिपको तयारीका बारेमा जानकारी दिएको हो । महासंघका अनुसार प्रतियोगितामा हालसम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरूले सहभागिता जनाउने जनाएका छन् । ४५ विधामा प्रतिस्पर्धा हुने यस एसियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा र महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने बताइएको छ भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । प्रतियोगिता याक एण्ड यति होटलमा हुने बताइएको छ । साथै, खेलाडीहरूलाई याक एण्ड यति तथा ¥याडिसन होटल राखिने आयोजकले जनाएको छ । नेपालमा हुने यस प्रतियोगिता न्युट्रल भेन्युको रूपमा हुने भएकाले एसियाली देशका खेलाडी एवम् अफिसियलहरूको उल्लेख्य उपस्थित हुने महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सात दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी रजिस्ट्रेसन गरिनेछ । भदौ १६ गते टिम मेनेजर्स मिटिङ, निर्णायक मिटिङ, डोपिङ सेमिनार तथा एसियाली कंग्रेसको आयोजना हुनेछ भने १७ गते खेलाडी तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जाँचको कार्यक्रम रहने उनले बताए । सोही दिन एसियाली वार्षिक कंग्रेसको मिटिङ तथा निर्वाचन समेत हुने श्रेष्ठले जानकारी दिए । यस्तै, प्रतियोगिताको समुद्घाटन भने भदौ १८ गते युवा तथा खेलकुदमन्त्रीको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरेर प्रत्येक राष्ट्रको झण्डासहित मार्च पास्ट परेड गरेर गरिनेछ । यस्तै, सोही दिन १६ वटा विधामा प्रतिस्पर्धा हुने र नतिजा पनि आउने बताइएको छ । उक्त दिन १४ जना नेपाली खेलाडीहरूले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र सोही दिन नतिजा आउनेछ । उक्त दिन २४ जना नेपाली खेलाडीले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । भदौ २० गते नौ वटा विधामा प्रतिस्पर्धा हुने र सोही दिन नतिजा आउनेछ । उक्त दिन पाँच जना नेपाली खेलाडीहरूले चारवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । सोही दिन शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिस्पर्धा गराई मि. एसिया २०२३ को घोषणा गरिनेछ । प्रतिस्पर्धामा धेरै अंक ल्याउने तीन देशलाई टिम च्याम्पियनको प्रथम द्वितीय तथा तृतीय घोषणा गरिने आयोजकले जनाएको छ ।

यस च्याम्पियनसिपमा मनकामना केवलकार मुख्य प्रायोजकको रूपमा रहेको छ भने राष्ट्रिय खेलकुद परिषद्को पनि विशेष सहयोग रहनेछ । अन्य प्रायोजकहरूमा नेपाल टुरिज्म बोर्ड, एभरेस्ट बैंक, नेपाल इनभेस्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सिएफएस रेमिट आदिको विशेष सहयोग रहनेछ । यस प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजलनले तिनै दिन प्रत्यक्ष प्रसारण एवम् मेरो फिटनेसले फेसबुक लाइभ गर्नेछ । यस ५५ औँ एसियन च्याम्पियनसिपको इभेन्ट म्यानेजमेन्टको रूपमा फुनोलोजिक सोलुसन रहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया