Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नेपालले यूएईसँगको श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’

‘नेपालले यूएईसँगको श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल–यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा उनले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कूटनीति अपरिहार्य रहेको बताएका हुन् ।

राजदूत क्षेत्रीले यूएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न सक्ने बताए । चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि यूएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले नेपालबाट हुने कपडा, गलैंचा र हस्तकलाका सामानले युएईमा राम्रो बजार पाउन सक्ने र त्यहाँको बजारमा नेपाली सामानको प्रवर्द्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । खाडी मुलुकहरू नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने उनको भनाइ छ ।

सरकारी अनुमानअनुसार करिब पाँच लाख नेपाली रोजगारीका लागि युएईमा रहेका छन् र यहाँबाट २८ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ । ‘नेपालले उच्च मूल्यका वस्तुहरू युएईको बजारमा निर्यात गरी पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्छ, युएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ, किनकि गत वर्ष करिब छ सय पर्यटक मात्र नेपाल आएका थिए,’ क्षेत्रीले भने ।

कार्यक्रममा नेपालका लागि युएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता आफूहरूका लागि राम्रो आकर्षण भएको बताए । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले युएईको समृद्धिमा नेपाली कामदारको भूमिका अपार रहे पनि त्यहाँ समस्यामा परेको बताए । नेपालले व्यावसायिक सुरक्षा उपायहरू लागू गर्नुपर्ने र त्यसका लागि युएई सरकारलाई अनुरोध गर्नुपर्नेमा सचिव भण्डारीले जोड दिए । सचिव भण्डारीले यूएईको आवश्यकता हेरेर नेपालमा रोजगार अभिमुखीकरण केन्द्रहरू बढाउनुपर्नेमा जोड दिए । गतवर्ष नेपालबाट करिब सात लाख नेपाली औपचारिकरूपमा वैदेशिक रोजगारीमा गए पनि नेपालको अभिमुखीकरण केन्द्रले वर्षमा करिब एक लाख व्यक्तिलाई मात्रै तालिम दिएको उनले जानकारी दिए ।

सचिव भण्डारीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीरूपमा उठाउन नेपाल सरकारलाई कोपलाई प्लेटफार्मको रूपमा प्रयोग गर्न पनि सुझाव दिए । अबको कोप सम्मेलन युएईको दुबईमा हुँदैछ । जसमा ३३ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । यो नेपालका लागि पनि राम्रो अवसर भएको सचिव भण्डारीको भनाइ छ । नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपालमा लगानी आकर्षित गर्न र त्यहाँ नेपाली उत्पादनको प्रवर्द्धन गर्न युएईमा वकालत अभियान चलाउन राजदूत क्षेत्रीलाई आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया