Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानव–वन्यजन्तु द्वन्द्व

मानव–वन्यजन्तु द्वन्द्व


काठमाडौँ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । बढ्दो जनसंख्या, सहरीकरण, वनफडानी र अतिक्रमण एवम् खुला चरिचरनले वन्यजन्तुको वासस्थान मासिँदै गएको छ । आहारामा कमी आएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । ठूला विकास निर्माण तथा पूर्वाधार निर्माणले वन्यजन्तु हिँड्ने बाटाहरू (जैविकमार्ग)को विनाश भएको छ । मान्छे आफ्नो आहाराको लागि वन्यजन्तुको आहारा खोस्छ, आफ्नो बासस्थानको लागि उसको बासस्थान खल्बल्याउँछ । आफ्नो सडक निमार्णको लागि वन्यजन्तुको जैविक मार्ग हनन् गर्छ । पृथ्वीको दिगो भविष्यका निम्ति पारिस्थितिक प्रणालीको सन्तुलनका अवयवहरू भूगोल र धरातल, प्राणी र मानव जीवन, प्रकृति, वनस्पति, मौसम तथा पर्यावरण र वातावरणजस्ता पक्षको स्थिरता महसुस गरी विश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरू लागू गरिरहेको देखिन्छ ।

सर्वश्रेष्ठ प्राणी भनिएको मानवका क्रियाकलापहरू वन विनाश र क्षयीकरण, बढ्दो सहरीकरण, औद्योगीकीकरण, जीवाष्म इन्धनको बढ्दो प्रयोग, विषादीयुक्त कृषि उत्पादन तथा भू–उपयोग नीतिलगायतका कारणले अनियमित वर्षा, खडेरी, हिमपात, कृषि उत्पादनमा विचलन, प्राकृतिक प्रकोप, इन्धनको अभाव, विभिन्न प्रकारका प्राणी तथा वनस्पतिको लोप हुँदै गएकाले वन तथा जैविक विविधता संरक्षण, कृषि, खाद्य सुरक्षा, जनस्वास्थ्य, जलस्रोत तथा सौर्य ऊर्जा उत्पादन, फोहोरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको देखिन्छ ।

नेपालमा वन संरक्षणसँगै वन्यजन्तुको संख्या बढ्दो मानव र वन्यजन्तुको सुमधुर सह–अस्तित्वसँगै एकआपसमा द्वन्द्व पनि बढ्दो क्रममा रहेको छ । द्वन्द्व बढ्नुमा मानव र वन्यजन्तु दुवै उत्तिकै जिम्मेवार छन् । जनावरका कारण मानव समुदायमा मानिस घाइते, अङ्गभङ्ग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, भण्डारण गरेको अन्नपात समेतको क्षति हुने गरेको छ । त्यस्तै, मानिसको तर्फबाट जनावरमा पार्ने क्षतिमध्ये वनविनाश, चोरीसिकार, वन क्षेत्र अतिक्रमण, आगलागी, अवैध वन पैदावार संकलन, बासस्थान खण्डीकरण, प्रतिशोधात्मक हत्या आदि छन् ।

नेपालमा मानव–वन्यजन्तु द्वन्द्व निम्त्याउने मुख्य जनावरमध्ये जंगली हात्ती, बाघ, गैँडा, भालु, चित्तल, चितुवा, रतुवा, जंगली बँदेल, बाँदर, दुम्सी, हिउँ चितुवा, स्याल, अर्ना, ब्वाँसो, मगर गोही, सर्प, अजिंगर, चरा आदि छन् । वार्षिक २० जनाभन्दा बढी मानिसको मृत्यु, दर्जनौँ घाइते, करोडौँ मूल्य बराबरको बालीनाली, फलफूल, भण्डारण गरेको अन्नबाली, पशुधन र घरगोठको क्षति हुने गरेको छ । खेतीपाती गरे वन्यजन्तुका कारण नोक्सानी हुने पीडाले स्थानीय बासिन्दा खेतबारी नै बाँझो छाड्ने बाध्यताबाट गुज्रनुपरेको छ । मानव–वन्यजन्तु द्वन्द्व केवल निकुञ्ज, आरक्षलगायतका संरक्षित क्षेत्र र जिल्ला वन कार्यालयहरूको मात्र समस्या नभएर यो हामी सबैको साझा समस्या हो । मानव–वन्यजन्तु द्वन्द्वका कारण केही वन्यजन्तु बदनाम भएका हुन सक्छन् । तर वनको विकासले त्यहाँको स्वच्छ पानी, स्वच्छ हावा, कृषि भूमिका लागि सिँचाइ र उत्पादकत्व वृद्धिका लागि मलिलो मलजल, पातपतिङ्गर, भूक्षय र भू–स्खलनको न्यूनीकरणबाट तल्लो तटीय क्षेत्रमा कृषि भूमि मरुभूमीकरण हुनबाट जोगाएको छ । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा देशले प्राप्त गरेको उपलब्धिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट वर्षेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवम् अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवम् संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आए ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा एक सय ९७ मानिसको ज्यान गएको तथ्याङ्क छ । साथै, वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । देशभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ ।

प्राकृतिक स्रोतको उपयोगमा स्थानीय निकायलाई जुन अधिकार संविधानले प्रदत्त गरेको छ, त्यसका आधारमा यो समस्या हल गर्ने मुख्य जिम्मेवारी र दायित्व पनि तत्तत् स्थानीय निकायको नै हुन आउँछ । एकातिर स्थानीय निकायले स्थानीय बासिन्दासँग असुलउपर गर्ने कर उनीहरूको जग्गा, घर, व्यवसाय तथा चलअचल सम्पत्तिबाट नै हो । अर्काेतिर मानव–वन्यजन्तु द्वन्द्वबाट ती बासिन्दा आक्रान्त बनेका थुप्रै उदाहरण हाम्रासामु छन् । जनतासँग कर उठाउनुको अर्थ जनताका समस्याको समाधान गर्नका लागि हो । जसले जनतासँग कर उठाउँछ उसले जनताका हरसमस्या पनि हल गर्नुपर्छ ।

निकुञ्ज/आरक्ष र वन कार्यालयहरूले प्रत्यक्षरूपमा जनतासँग कर उठाउँदैनन् । त्यसैले यो स्थानीय निकायहरूको समस्या हो । राजनीतिक दलको चुनावी घोषणापत्रमा जनताको मुख्य समस्याका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई प्राथमिकताका साथ राख्नुपर्छ । जुन दल र नेताले यो समस्या समाधान गर्ने वाचा गर्नेछ जनताले उसैलाई निर्वाचित गर्ने साझा मत बनाउनुपर्छ । उम्मेवारहरूसँग यस विषयमा छलफल गरी सशर्त बचनबद्ध बनाउनु जरुरी छ । स्थानीय निकायले पनि जहाँजहाँ मानव–वन्यजन्तु द्वन्द्व छ, तत्तत् ठाउँमा यो समस्या हल गर्न प्राथमिकतामा राख्नुपर्छ । आगामी दिनमा नववन्यजन्तु द्वन्द्व दिगोरूपमा न्यूनीकरण गर्ने सही विधि यही नै हो ।

आखिरमा वन्यजन्तु हाम्रा शत्रु कहिल्यै थिएनन्, कदापि हुन सक्दैनन् । बरु उनीहरू मानव अस्तित्वका प्रमुख हिस्सा हुन् । एउटा स्वस्थ पारिस्थितिक प्रणालीको लागि सम्पूर्ण जीवजन्तुहरू उत्तिकै जिम्मेवार हुन्छन् । खाद्य चक्रले उनीहरूलाई एउटा साझा जालोमा गाँसेको हुन्छ । जहाँ एक पक्षलाई केही असर परे सम्पूर्ण जालो नै तहसनहस हुन सक्छ । बाघ हात्ती गैंडा र मानव यस जटिल जालोका प्रमुख पात्रहरू हुन् । स्वस्थ पारिस्थितिक प्रणाली, स्वस्थ वातावरणको प्रतीक हो । स्वस्थ वातावरण, स्वस्थ जीवनको आधार हो । मानव र संरक्षणकर्मीबीच द्वन्द्वले चरमरूप लिएर स्थानीयबाटै संरक्षणकर्मीको हत्या भएका दुःखद् घटनाहरू हाम्रासामु छन् । मानव–संरक्षणकर्मीबीचको द्वन्द्व समाधान नगरी मानव– वन्यजन्तु द्वन्द्व समाधान गर्न सकिँदैन । संरक्षणकर्मीहरू आफ्नो ज्यानलाई जोखिममा राखी संरक्षणको महाअभियानमा खटिएका हुन्छन् । वन्यजन्तु संरक्षणको सिद्धान्तले नै मानवलाई वन्यजन्तु संरक्षणमा प्रत्यक्ष सहभागी गराउनुपर्छ भनेको छ । आखिरमा वन्यजन्तु हाम्रा साझा सम्पत्ति हुन् । स्थानीय जनतामा वन्यजन्तुको महत्व, आवश्यकता र यसबाट हुने अवसरसम्बन्धी जनचेतनाको विकास गर्न नित्तान्त आवश्यक छ । स्थानीयलाई संरक्षण कार्यमा प्रत्यक्ष सहभागी गराउनुपर्छ । वन्यजन्तु मानवबीचको द्वन्द्व संरक्षणको एक प्रमुख चुनौती भएको छ । वन्यजन्तुप्रति बदला र प्रतिशोधको भावनाले वन्यजन्तु संरक्षण कदापि हुन सक्दैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया