Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह


काठमाडौं । विदेशस्थित नेपाली राजदूतावासहरूमार्फत स्वदेशी वस्तुहरूको निर्यात एवम् प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्न नेपाल उद्योग परिसंघले सरकारसँग आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदलाई भेटी वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरूको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरूले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तर्क्रिया गर्न सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालवाहक एवम् अन्य सवारीको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ । भेटमा मन्त्री साउदले परिसंघले उठाएका विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । प्रतिनिधिमण्डलमा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया