Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६१ हजारको परीक्षण २३ हजार क्वारेन्टाइनमा

६१ हजारको परीक्षण २३ हजार क्वारेन्टाइनमा


काठमाडौं, वैशाख २१
कोरोना भाइरस (कोभिड–१९)को ६१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको छ । त्यसमध्ये पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटीमार्फत ४८ हजार ५ सय २९ व्यक्तिको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २ सय ५२ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २ सय ८२, प्रदेश नं २ मा पाँच हजार ६ सय ८७, वाग्मती प्रदेशमा पाँच हजार ५ सय १५, गण्डकी प्रदेशमा पाँच हजार ४ सय ११, प्रदेश नं ५ मा चार हजार २ सय ४०, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ आरडीटी परीक्षण गरिएको हो । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ८५ गरी ८९ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।

परीक्षण गरिएकामध्ये सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट आउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई पनि प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९ सय ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८ सय ६५, प्रदेश नं २ मा एक हजार ३ सय ९१, वाग्मती प्रदेशमा ५ सय ११, गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नं ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ । हाल ३ सय १९ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ । विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण सुरु भएकाले कुल १७ स्थानबाट सेवा थालिएको छ ।

कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कुल ४३ जना उपचाररत छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक/एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

जर्मनीबाट २० हजार थान पीसीआर प्राप्त हुँदै : जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पीसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पीसीआर नेपाल ल्याइएको बताएको छ । काठमाडौैंस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पीसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । शनिबार नै तीन हजार थान पीसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भए÷नभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताए । यसैबीच जर्मनीले कोभिड–१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत नेपाली– जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x