Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ विद्युतीय कार निर्माता बीवाईडी र एक्सपेङले किने दुई ठूला कम्पनी

चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी र एक्सपेङले किने दुई ठूला कम्पनी


चीन । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले अमेरिकी फर्म जबिलको मोबिलिटी व्यवसाय दुई दशमलव १७ बिलियन डलरमा किन्ने भएको छ । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले अमेरिकामा आधारित उत्पादन कम्पनी जबिल इंकको सिंगापुर डिभिजनसँग चीनमा आफ्नो मोबिलिटी व्यवसाय १५ दशमलव आठ बिलियन युआन अर्थात् दुई दशमलव १७ बिलियन डलरमा खरिद गर्न सम्झौता गरेको छ ।

यस्तै चिनियाँ विद्युतीय कार निर्माता कम्पनी एक्सपेङले पनि भाडामा यातायात सेवा प्रदान गर्ने दिदीले सञ्चालन गरेको विद्युतीय सहायक कम्पनी किन्ने घोषणा गरेको छ । एक्सपेङले सोमबार सो कम्पनी ७४ करोड अमेरिकी डलरमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारीसाधन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

एक्सपेङ सन् २०१५ मा चीनको दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको विद्युतीय कार निर्माता कम्पनी हो । दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो । यो एपले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दै आएको छ । एक्सपेङले दिदीसँग सहायक कम्पनी किन्ने सम्बन्धमा सम्झौता गरिसकेको छ ।

एक्सपेङ र दिदीबीच भएको यो सम्झौतालाई चिनियाँ लगानीकर्ताले स्वागत गरेका छन् । चिनियाँ सेयरबजारमा एक्सपेङको सेयर सोमबार करिब १३ प्रतिशतले बढेको थियो । युरोपमा समेत आफ्ना उत्पादन बिक्री गर्दै आएको एक्सपेङले १४ हजार चार सयभन्दा बढी मानिसलाई रोजगारी दिँदै आएको छ । एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार चार सय ३५ वटा गाडी बिक्री गरिसकेको छ ।

हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ । बीवाईडी, नियो र एक्सपेङजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरिद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारीसाधानको उत्पादनमा उछाल ल्याएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया