Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता

नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता


काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बीच सम्झौता भएको छ । आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको संघले जनाएको छ । सोमबार दुई संस्थाबीच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्राडा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्री डाइरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यवस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बाँके, कपिलवस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी आँखा शिविरको आयोजना गरी दुई हजार दुई सय मोतियाविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने संघले जनाएको छ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग संघले गर्ने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले कतार च्यारिटीजस्तै दातृ निकायको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत पाँच वर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाविन्दुको सर्जरीमार्फत दृष्टि पुनर्स्थापनाका लागि संघसँग यो सम्झौता गरिएको जानकारी दिए । यसबाट दुई हजारभन्दा बढी बिरामीहरू प्रत्यक्षरूपमा लाभान्वित हुने उनले बताए । अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय भएकाले विभिन्न देशका नागरिकहरू नेपालमा आँखा उपचार गराउन आइरहेको संघका महासचिव भरतबहादुर चन्दले बताए । नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संघले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको उनको भनाइ थियो । कार्यक्रममा संघका अध्यक्ष पन्तले यो सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरूले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया