Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिन प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह

आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिन प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिन प्रस्तावित राजदूतहरूसँग आग्रह गरेको छ । प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदीसंग भएको छलफलमा परिसंघले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरूका बारेमा विदेशी लगानीकर्ताहरूलाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले व्यवसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भएतापनि नेपाल साँच्चिकै लगानी प्रबर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरूको समन्वयनमा व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने उनले बताए । अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रबर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए । यसका लागि परिसंघ सहकार्य गर्न तयार रहेको उनको भनाई थियो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिक भन्दा आर्थिक सम्बन्ध स्थीर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको प्रबर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ । अन्तरक्रियामा प्रस्तावित राजदूतहरूले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रबर्द्धनमा नै आफूहरूको ध्यान रहने भन्दै देश केन्द्रित सुझाव दिन परिसंघलाई आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया