Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिनियाँ पर्यटकको उत्साहजनक आगमन

चिनियाँ पर्यटकको उत्साहजनक आगमन


काठमाडौं । कोभिड महामारीको समययता नराम्रोसँग थला परेको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो समयमा नेपालमा पर्यटकहरूको आगमन दरमा वृद्धि हुँदै जान थालेको तथ्याङ्कले लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र पुनर्उत्थानको दिशामा अघि बढेको देखिन्छ । खासगरी चिनियाँ पर्यटकहरूको उल्लेख्य संख्यामा भइरहेको आगमनले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गरिरहेको देखिन्छ ।

नेपालमा चिनियाँ पर्यटकको भ्रमणको इतिहास धेरै लामो भएको छैन । सन् २००० मा नेपाल र चीनबीचमा नेपालमा चिनियाँ पर्यटकलाई भ्रमण खुला गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तत्पश्चात् चीन सरकारले सन् २००१ मा नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको र सन् २००२ देखि चिनियाँ पर्यटकले औपचारिकरूपमा नेपाल भ्रमण गर्न थालेको इतिहास छ । नेपालमा कोभिड महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए । सो वर्ष नेपाल आएका पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटकहरू सर्वाधिक संख्यामा भित्रिएको तथ्याङ्क छ । सो वर्ष करिब एक लाख ७० हजार चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

कोभिड संक्रमणको प्रभाव तथा महामारीविरुद्ध चीनले अपनाएको तुलनात्मकरूपमा कठोर नीतिका कारण त्यसयताका वर्षहरू भने पर्यटन क्षेत्रका लागि निराशाजनक रहेका थिए । सन् २०२० मा केवल १९ हजार दुई सय ५७ जना चिनियाँ पर्यटकहरू नेपाल आएका थिए भने सन् २०२१ मा यो संख्या अझै घटेर छ हजार एक सय ९८ मा सीमित हुन पुगेको देखिन्छ । सन् २०२२ को तथ्याङ्कमा नौ हजार पाँच सय ९९ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यसरी हेर्दा कोभिड महामारीअघिको अवस्थामा उत्साहजनक ढंगले वर्षेनि निरन्तररूपमा बढिरहेको चिनियाँ पर्यटक आगमनको दर कोभिडपछिका वर्षहरूमा निराशाजनकरूपले ओरालो लागिरहेको अवस्था थियो । तर सन् २०२३ को बितेका सात महिनामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरूको संख्या २५ हजार आठ सय १० पुगेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सात महिनाको अवधिमा चिनियाँ पर्यटकहरूको यो संख्या नेपालको पर्यटन क्षेत्रका लागि उत्साहप्रद रहेको देखिन्छ ।

पछिल्ला महिनाहरूमा चिनियाँ पर्यटक आगमनको संख्या ह्वात्तै बढ्नुमा केही ठोस कारणहरू रहेका छन् । कोभिड महामारीको समयमा लामै समयसम्म कोभिडविरुद्ध शून्य नीति अपनाइरहेको छिमेकी मुलुक चीनले केही समयअघि उक्त नीति अन्त्य गर्ने र सावधानीका अन्य विकल्पसहित कोभिडविरुद्ध लड्ने उद्घोष गरेको थियो । महामारीविरुद्धको शून्य नीतिको अन्त्यसँगै यात्रा प्रतिबन्धहरू खुकुलो भएका र स्थल नाकाहरू पनि खुला भएका थिए । यसबाट लामो अवधिसम्म घुमफिर गर्न नपाएका चिनियाँ नागरिकहरूको ठूलो संख्या भ्रमणका लागि निस्किने मार्गप्रशस्त भएको थियो । यसका साथै चीन सरकारले गत फेब्रुअरीदेखि आफ्ना नागरिकले निर्वाधरूपमा समूहमा घुम्न जाने ६० देशहरूको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको छ । ‘एप्रुभ डेस्टिनेसन स्टाटस (एडीएस)’ भनिने यो सूचीमा सुरुवातमा २० वटा देशहरू मात्र सूचीकृत भएको र नेपाललाई समावेश नगरिएकोमा सन् २०२३ मार्चदेखि नेपाल समेत थप भएको हो । यसरी कोभिडविरुद्धको शून्य नीतिको अन्त्य र नेपालसहित समावेश भएको एडीएस सूचीको सार्वजनिकीकरणसँगै विश्वका अन्य देशहरूलगायत नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्यामा समेत उल्लेख्य संख्यामा वृद्धि भएको देखिन्छ ।

चिनियाँ सरकारको पछिल्लो निर्णयसँगै नेपालमा तीव्रत्तररूपमा बढोत्तरी भएको चिनियाँ पर्यटकहरूको संख्यालाई भ्रमणका क्रममा सन्तुष्ट एवम् खुसी तुल्याउने र थप आकर्षण बढाउन सक्ने हो भने यसले पर्यटन क्षेत्रको पुनर्उत्थानमा प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ । साथै, तुलनात्मकरूपमा गुणस्तरीय पर्यटकहरूको कोटीमा पर्ने चिनियाँ पर्यटकहरूको उच्चदरको आगमनसँगै पर्यटन क्षेत्रमा गुणात्मक प्रभाव पर्न सक्ने अवस्था रहन्छ । घुमफिरका क्रममा संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्यटकहरू पर्छन् । नेपाल राष्ट्र बैंकको केही समयअघिको एक अध्ययनअनुसार अन्य मुलुकका पर्यटकहरूले नेपाल बसाइँमा सरदर प्रतिदिन ४८ डलर खर्च गर्ने गरेकोमा चिनियाँ पर्यटकहरूले प्रतिदिन सरदर ८० डलर खर्च गर्ने गर्छन् । चिनियाँहरू घुमफिरसँगै किनमेलमा समेत रूचि राख्ने भएकाले यसले दैनिक खर्चमा वृद्धि हुनुका साथै स्वदेशी उत्पादनलाई समेत टेवा पुग्छ । पर्यटन व्यवसायीहरूले चिनियाँ पर्यटकलाई अफसिजनका आकर्षक पाहुनाका रुपमा लिने गर्दछन् । चीन सरकारको नीति नै आफ्ना नागरिकहरू समूहमा भ्रमण गरुन् भन्ने रहेकाले चिनियाँ पर्यटकहरू पनि एकैसाथ ठूलो समूहमा भ्रमण गर्ने गर्छन् । यसबाट पर्यटक आगमनका हिसाबले अफसिजनको समयमा ठूलै हुल बनाएर आउने चिनियाँ पर्यटकहरूले पर्यटन क्षेत्रलाई उत्साहित तुल्याउने अवस्था रहन्छ । चिनियाँ पर्यटकहरूको आगमन दरलाई थप वृद्धि गर्न सक्ने हो भने यसले नेपाल चीनबीचको बढ्दो व्यापार घाटालाई समेत कम गर्न सकिन्छ । यसरी चिनियाँ पर्यटकहरूको संख्यात्मक वृद्धिले मुलुकको पर्यटन क्षेत्र र अर्थतन्त्रमा गुणात्मकरूपमा पनि महत्व राख्छ ।

एकातिर ठूलो संख्यामा चिनियाँ पर्यटकहरूको आगमनले उत्साहको सञ्चार गरिरहेको छ भने अर्कोतिर नेपालमा चिनियाँ पर्यटकलाई ठूलो संख्यामा भित्र्याउने र भ्रमणलाई सुखदायक एवम् अविस्मरणीय तुल्याउने सन्दर्भमा थुप्रै सुधारहरू आवश्यक छन् । चिनियाँ पर्यटकहरूले नेपालमा खर्च गर्ने स्थान र क्षेत्र अत्यन्त सीमित रहेका छन् । चिनियाँ पर्यटकहरू पदयात्रा पर्यटनमा भन्दा ठूलो समूहमा आएर एक क्षेत्रभित्रका विभिन्न गतिविधिहरूमा रमाउने प्रकृतिको रहेका देखिन्छन् । नेपालमा काठमाडौं उपत्यकापछि पोखरा र चितवन चिनियाँ पर्यटकहरूले सबैभन्दा बढी रूचाएका गन्तव्यका रूपमा रहेको भ्रमणसम्बन्धी तथ्याङ्कबाट प्रष्ट हुन सकिन्छ । काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण र पोखरा क्षेत्रमा प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी जम्पिङ, बोटिङजस्ता गतिविधिहरूमा चिनियाँ पर्यटकहरू बढी रमाउने गर्छन् । यस हिसाबले चीनका नागरिकहरूलाई नेपाल भ्रमणमा थप आकर्षित गर्न र उनीहरूले गर्ने खर्चमा अझै वृद्धि गर्नका लागि चिनियाँ पर्यटकलाई लक्षित गरी पर्यटन क्षेत्रको ‘प्रडक्ट’ पनि विस्तार गर्न आवश्यक छ ।

नेपालको पर्यटन र पर्यटकीय स्थलका बारेमा चीनमा उल्लेख्यरूपमा बजारीकरण हुन सकेको छैन । डेढ अर्ब हाराहारी जनसंख्या रहेको चीनमा ६५ प्रतिशतभन्दा बढी नागरिकहरू बौद्ध धर्मावलम्बीहरू रहेको सन्दर्भमा लुम्बिनीलगायत नेपालका पर्यटकीय स्थलहरूका बारेमा चिनियाँ समुदाय तहसम्म पर्यटकीय प्रवद्र्धन गर्न जरुरी छ । नेपालमा चिनियाँ खाना र परिकार पस्कने स्तरीय होटल, रेस्टुरेन्टको संख्या पनि सीमित रहेको छ । चिनियाँ नागरिकहरू मूलतः आफ्नै मातृभाषामा मात्र अभ्यस्त रहने कारणले भाषागत समस्या पनि चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा बाधक रहेको छ । नेपालमा चिनियाँ भाषाको शिक्षण सीमित र कमजोर रहेकाले सानो संख्यामा रहेका दोभाषे पर्यटक पथप्रदर्शकले चिनियाँ पर्यटकलाई सेवा दिइरहेका छन् । चिनियाँ पर्यटकको आगमन दरमा भएको व्यापक वृद्धिसँगै यस्ता दोभाषेहरूको संख्यात्मक र गुणात्मक मात्रामा वृद्धि गरिन आवश्यक छ । छिटपुटरूपमा चीनका विभिन्न सहरहरूमा नेपालको पर्यटन प्रवद्र्धनका लागि हुने गरेका गतिविधिहरू पनि ठूलो जनसंख्या र भूभाग रहेको चीनको हकमा अपेक्षितरूपमा प्रभावकारी बन्न सकेका छैनन् । चिनियाँ भाषामा नेपालसम्बन्धी प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्रीहरू तयार गरी चिनियाँ सञ्चारमाध्यममा नियमित प्रकाशन, प्रसारण गर्न र अन्य आवश्यक कूटनीतिक पहल गर्न पनि उत्तिकै आवश्यक छ ।

ठूलो संख्यामा चिनियाँ पर्यटकको आगमन हुनु पर्यटन प्रवद्र्धनका हिसाबले नेपालका लागि निकै खुसीको विषय हो । कोभिड महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिने सन्दर्भमा यस किसिमको आगमनले समग्र पर्यटन क्षेत्रलाई नै भाइब्रेण्ट गरिरहेको छ । यो अवस्थाबाट नेपालले लाभ उठाउन पर्यटन प्रवद्र्धनका हिसाबले बाधकका रूपमा देखिएका समस्याहरूको सुधारमार्फत सङ्ख्यात्मक तथा गुणात्मकरूपमा थप चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्ने दिशातर्फ नेपाल सरकारलगायत सबै सरोकारवालाहरू केन्द्रित हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया