Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रमा सुधार आउन थालेको दाबी

अर्थतन्त्रमा सुधार आउन थालेको दाबी


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकारले चालेका केही कदमको कारण अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेका हुन् ।

‘अर्थतन्त्र सुधार्न सरकारले निरन्तर प्रयास गरिरहेको छ’, अर्थमन्त्री महतले भने, ‘सरकारले गरेको प्रयासको कारण पर्यटक भित्रिने क्रम बढेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । साथै अर्थतन्त्रका अन्य सूचकहरूमा पनि सुधार देखिएको छ । अब सबै क्षेत्रको सहयोग हुने हो भने अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ ।’

अर्थतन्त्र सुधारका लागि प्रयास जारी राखिए पनि अझै धेरै समस्याहरू रहेको भने उनले स्वीकार गरे । उनले समस्या समाधानका लागि निजी क्षेत्रलगायत सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरूपमा गत आर्थिक वर्षको सोही अवधिमा भन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा. महतको दाबी छ ।

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । ‘राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्’, अर्थमन्त्री डा. महतले भने, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्यांकन गर्न आवश्यक छ ।’

निजी क्षेत्रको गतिविधिलाई धेरै ‘माइक्रो म्यानेजमेन्ट’ गर्नतर्फ लाग्दा समस्या आउने बताए । यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा पनि अर्थमन्त्री महतको जोड थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वयन गर्न सरकारसँग माग गरे । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया