Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुुनसरी मोरङ करिडोरमा तीन अर्बको लागतमा नयाँ उद्योग सञ्चालन

सुुनसरी मोरङ करिडोरमा तीन अर्बको लागतमा नयाँ उद्योग सञ्चालन


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब तीन अर्ब बढीको लगानीमा फलाम उद्योगको युनिट सञ्चालनमा आएको छ । उद्योगी तथा व्यवसायीहरूले पछिल्लो समय मुलुकको लगानी वातावरणप्रति असन्तुष्टि जनाइरहेका बेलामा यो फलाम उत्पादन गर्ने युनिट स्थापना भएको हो ।

गोल्छा अर्गनाइजेसनले सुनसरीस्थित खनारमा मल्टी पर्पस मेल्टिङ युनिट सञ्चालनमा ल्याएको उद्योगी राजलक्ष्मी गोल्छाले जानकारी दिएकी छन् । करिडोरको खनारमा गोल्छा अर्गनाइजेसनको हुलास वायर इन्डस्ट्रिजले तीन अर्ब लगानीमा फलाम उत्पादन युनिट सञ्चालनमा ल्याएको हो । दैनिक चार सय टन फलामे डण्डी र अढाइ सय टन एचआरसिट तथा पाइप उत्पादन गर्ने गरी मल्टी पर्पस मेल्टिङ युनिट सञ्चालनमा आएको गोल्छाले जानकारी दिइन् । यो उद्योग स्थापनासँगै सुनसरी मोरङ औद्योगिक क्षेत्रमा करिब पाँच सयभन्दा बढीलाई रोजगारी समेत पाउने छन् ।

यो युनिटले फलामे बिलेटबाट टीएमटी छड, एङ्गल र आईबीम तयार गर्छ । त्यस्तै, एमएस सिटबाट राउण्ड पाइपर स्क्वायर पाइप तयार गर्छ । हुलास वायरले यसअघि मोरङको बुढीगंगामा जीआई तार, काँटी, तामापित्तलको सिट, काँडेतार, ग्यावलिङ बक्स उत्पादन गर्दै आएको थियो । उद्योगकी निर्देशक युक्ति गोल्छाले नयाँ युनिटमा चाँडै १५ टनको भट्टी र कपर (तामा) मिलमा पनि थप भट्टी थप्ने योजना आफूहरूको भएको बताइन् । उनको उद्योगका दुई युनिट बुढीगंगा र दुहबीमा गरी एक हजारभन्दा बढीले अहिले पनि रोजगारी पाइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया