Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाउ शक्तिमा छोरा तस्करीमा

बाउ शक्तिमा छोरा तस्करीमा


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा सोधपुछ गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । दिपेश माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् । स्रोतका अनुसार उनीसँग सीआईबीले केही दिनअगाडि सोधपुछ गरेको हो ।

दिपेश र दावा व्यापारिक साझेदार रहेको बताइएको छ । यद्यपि सीआईबीले पुष्टि भने गरिसकेको छैन । ‘दावाको को–को नेता र तिनका आफन्त/नातेदारसँग सम्पर्क छ, अनुसन्धान गरिरहेका छौँ’, सीआईबी स्रोतले भन्यो, ‘दावाले रोल्पाकी माओवादी कार्यकर्ता अमला रोकामगरसँग विवाह गरेको कारण माओवादी नेताहरूको दावासँग घनिष्ठ सम्बन्ध बनेको देखिन्छ ।’

साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट ६० केजीभन्दा बढी सुन बरामद गरेको थियो । १८ दिन छानबिन गरेर विभागले सीआईबीलाई सबै प्रमाण बुझाएपछि अहिले छानबिन गरिरहेको छ । सोही छानबिनको क्रममा दिपेशसँग दावाको सम्पर्क देखिएपछि उनीसँग सोधपुछ गरेको हो । दिपेशलाई सोधपुछ गरेर छाडिए पनि उनी तथा अन्य केही माओवादी नेताहरू सीआईबीको निगरानीमा छन् ।

दिपेशलाई सोधपुछ गर्नुअघि सीआईबीले पूर्वउपसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई सुन तस्करी प्रकरणमै केही दिनअगाडि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनी माओवादीका युवा संगठन वाईसीएलका उपमहासचिव हुन् । उपमहासचिव राहुल भेपमा नौ किलोभन्दा बढी सुन लुकाएर ल्याएको प्रकरणमा तानिएका हुन् भने दिपेश ६० किलो सुन प्रकरणमा छानबिनमा परेका हुन् ।

उक्त ६० किलो सुन प्रकरणमा पूर्वअर्थमन्त्री समेत भइसकेका माओवादी नेता वर्षमान पुन पनि तानिएका थिए । उनले स्पष्टीकरण दिएर पक्राउबाट बचिरहेका छन् । किनकि अहिले प्रधानमन्त्री नै माओवादी अध्यक्ष भएको कारण उनले पार्टीमा स्पष्टीकरण र विज्ञप्ति निकालेर चोखिने प्रयास गरेका छन् । वर्षमान र दिपेश दुवैको ६० किलो सुन तस्करीमा संलग्न दावासँग सम्पर्क रहेको विभिन्न मितिमा सार्वजनिक भएका तस्बिरहरूले देखाइरहेको छ । उपराष्ट्रपति बन्नुअघिसम्म दिपेशका बाउ नन्दबहादुर पुन माओवादी लडाकुका कमान्डर तथा माओवादी उच्चतहका नेता हुन् । बाउहरू शक्तिमा रहेको बेला उनीहरूले विभिन्न तस्करहरूसँग हिमचिम बढाएर अकुत सम्पत्ति आर्जन गरेको आशंका माओवादीकै नेताहरू गर्छन् ।

माओवादीकै पूर्वउपाध्यक्ष तथा हाल नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पनि दिपेश पुन र राहुल महराका व्यावसायिक साझेदार भएको आशंका गरिए पनि उनी सुन तस्करीभन्दा अगाडि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेको कारण सुन तस्करीमा उनको संलग्नता नदेखिएको स्रोतको दाबी छ । त्यसो त माओवादी पृष्ठभूमिका नेता तथा हाल एमालेका नेता एवं प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । उनी बाउ टोपबहादुरसँग पुर्पक्षका लागि जेलमा छन् । सन्दिपले पनि दिपेश, राहुल र प्रतिकको जस्तो बाउ शक्तिमा भएको बेला तस्करीमा संलग्नहरूसँग हिमचिम बढाएको बताइन्छ ।

सीआईबीले भेपमा सुन ल्याउने गिरोहसँग कृष्णबहादुर महराकै संलग्नता देखे पनि वर्षमानलाई जस्तै पक्राउ गरेको छैन । किनकि उनीहरू दुवै जना माओवादीका उच्च नेता हुन् । रक्तचन्दन तस्करीमा माओवादीका धेरै नेता तथा कार्यकर्ता संलग्न भएर अकुत पैसा कमाएपछि त्यो तस्करी बन्द भएपछि माओवादीका नेताहरू सुन र मानव तस्करीतर्फ मोडिएका हुन् । सुन तस्करीको राम्रोसँग छानबिन हुने हो भने धेरै माओवादी नेताहरू पर्ने आशंका गरिएको छ ।

६० केजी र भेपमा सुन ल्याएको प्रकरणमा सीआईबीले विभिन्न नेता तथा उनका आफन्तलाई निगरानीमा राख्नुको साथै बयान र सोधपुछ जारी राखेको छ । ६० किलो सुन तस्करी प्रकरणमा चिनियाँ, नेपाली, बेल्जियन र भारतीय नागरिक पक्राउ परेका छन् । बेल्जियन राहदानीवाहक चिनियाँ मूलका दावाको माओवादी उच्च नेताहरूसँग सम्बन्ध बढ्नुमा उनकी नेपाली श्रीमती अमला रोकाको प्रमुख हात रहेको छ । दावा र माओवादी नेता तथा उनीहरूका छोराहरू विभिन्न ठाउँमा घुम्न जाने, सँगै खाना खानेगरेका तस्बिरहरू सार्वजनिक भइरहेको बेला सुन तस्करहरूसँग उनीहरूको फोनवार्ता निरन्तर भइरहेको सीआईबीले पत्ता लगाएपछि सोधपुछ र बयान लिएको हो । यद्यपि सुन प्रकरणमा माओवादी नेताहरू शक्तिमा रहुन्जेल निष्पक्ष छानबिन हुनेमा आशंका छ । स्रोतका अनुसार सुन तस्करीमा माओवादी नेताहरूलाई अन्य दलका नेताहरूले जित्नसक्ने अवस्था छैन । कुनै पेसा तथा व्यवसायमा संलग्न नभए पनि माओवादीका नेता र उनीहरूका केही आफन्तको सम्पत्ति अस्वाभाविकरूपमा वृद्धि भएको देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया