Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररित्तिँदै गाउँघर !

रित्तिँदै गाउँघर !


दोलखा । पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् ।

गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर खाली रहेका छन् । २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार जिल्लामा बनेका ७८ हजार दुई सय २९ घरमध्ये १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली रहेका छन् । अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ । गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन् ।

तामाकोशी गाउँपालिका–१, भिरकोटका केशव काफ्ले सरकारी अनुदान लिएर छोराका लागि घर बनाइदिए पनि त्यो घर हाल खाली रहेको बताउँछन् । उनको मात्र होइन सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । तर गाउँमा सरकारी अनुदानमा बनेका दुई कोठे अधिकांश घरमा ताला लागेको छ । भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । तीमध्ये ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघनसरी भवन निर्माण आयोजनाको तथ्याङ्क छ ।

स्थानीय तहले गाउँगाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबासचाहिँ काठमाडौंमा गर्दै आएका स्थानीय रीता सुवेदीले जानकारी दिइन् । यस्तै, भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण गरिएको एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका पनि करिब २५ प्रतिशत घर खाली छन् । सरकारको राहत लिएर बनाइएका दुई कोठे घरको भित्र लेउ पलाउन थालेको स्थानीय बताउँछन् ।

मानिस नहुँदा खेतीयोग्य जमिन बाँझो छ । जिल्लामा उत्पादन हुने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने स्थिति रहेको बैतेश्वर गाउँपालिका–४ वडाध्यक्ष कुमार चौलागाईंले बताए । उनको वडाको पनि ठूलोवन भन्ने गाउँमा १६ वटा घर रहेकोमा १३ वटा घर रित्तै छन् । मानिस नहुँदा खेतीयोग्य जमिन जंगलमा परिणत भएपछि जंगली जनावरको आतंक समेत बढेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया