Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राष्ट्र बैंकको अव्यावहारिक नीतिका कारण उद्योगमा समस्या’

‘राष्ट्र बैंकको अव्यावहारिक नीतिका कारण उद्योगमा समस्या’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको अव्यावहारिक नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदरलगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सबैभन्दा धेरै पीडित भएको बताएका छन् ।

विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा भएको प्रदेश तहका निजी क्षेत्रसँगको छलफल कार्यक्रममा अध्यक्ष राउतले चर्को लोडसेडिङ, भारतको नाकाबन्दीलगायतका राजनीतिक अस्थिरताले थलिएर केहीअघि बढेको निजी क्षेत्र कोभिड–१९ को महामारी, रुस र युक्रेन युद्धबाट झन् प्रभावित बनेको बताए । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले अव्यावहारिक नीति बनाइदिँदा झन् बैंकको ब्याजदरलगायतका थप समस्याले निजी क्षेत्र नै संकटमा पुगेको उनको भनाइ थियो ।

अहिले ६० प्रतिशत हाराहारीमा मात्रै उद्योगधन्दा सञ्चालनमा रहेको उनले जानकारी दिए । उद्योगधन्दा बन्द हुने क्रममा रहेका कारण सरकारको राजस्व असुली समेत प्रभावित भएको उनको भनाइ थियो । ‘नेपालमा औद्योगिकीकरणको आधुनिक इतिहास विराटनगरबाट सुुरु भएको मानिन्छ’, उनले भने, ‘नेपालको औद्योगिकीकरणको प्रस्थानविन्दु नै विराटनगर जुट मिलको स्थापना हो ।’ त्यसपछि खुलेका उद्योगधन्दाले विराटनगर र आसपासका क्षेत्रको आयस्तर वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु-याएको उनले बताए ।

पछिल्लो समय निजी क्षेत्रले राष्ट्र बैंकको नीतिका कारण ठूलो समस्या खेप्नु परेको उनको दाबी छ । कार्यक्रममा उनले कोशी प्रदेशमा जुट, धान, मकै, फलफूल, तरकारीलगायतका कृषि उत्पादनको प्रशोधनमार्फत उद्योगलाई कृषिसँग आबद्धता भइरहेको बताए । औद्योगिक क्षेत्रकै कारण मुलुकको कृषि उत्पादन वृद्धि गर्न समेत योगदान गरिरहेको उनको भनाइ छ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रले कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान गरिरहेको पनि उनले बताए ।

राउतका अनुसार यो औद्योगिक करिडोरमा हाल करिब पाँच सय ५० वटा ठूला तथा मझौता उद्योगहरू सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा विशेष गरी जुट, साबुन, चाउचाउ, प्लास्टिकका सामान, कपडा, गार्मेन्ट, जुत्ताचप्पल, सिमेन्ट, छड, कालो पाइप, इलेक्ट्रिक क्वाइल, टिना, उच्च कोटीदेखि न्यून कोटीका मदिरा, राइस मिल, तेल मिल, फिड उद्योगलगायत धेरै वस्तु उत्पादन भइरहेको छ । केही उद्योगले आफ्ना उत्पादनलाई विदेशमा समेत निर्यात गर्न थालेको अवस्थामा बैंकका कारण ठूलो समस्या झेल्नुपरेको उनले बताए । सिमेन्ट, छडजस्ता उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर धमाधम बन्द हुन थालेको अध्यक्ष राउतले बताए । कोशी प्रदेश लगानीको प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि अहिले लगानी थपिनै नसक्ने वातावरण बनेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरूले औद्योगिक क्षेत्रलाई अघि बढाउन प्रतिस्पर्धी क्षमता विकास, बजारीकरण, तहगत सरकारको राजस्व नीति तथा प्रशासन, लगानीको वातावरण, ऊर्जाको सहज आपूर्ति, व्यापार विरोधी अर्थतन्त्र, पूर्वाधार विकास र भारतसँगको खुला सीमा प्रमुख समस्या रहेको बताएका थिए । मोरङ–सुनसरी कोरिडोरमा मात्रै उत्पादनमूलक, उद्योग, निर्माण उद्योग र खानीजन्य उद्योग विराटनगर महानगरपालिकामा तीन प्रतिशत, बुढीगंगा गाउँपालिकामा १६ प्रतिशत, दुहवी नगरपालिकामा १० प्रतिशत, कटहरी गाउँपालिकामा नौ प्रतिशत र इटहरी उपमहानगरपालिकामा आठ प्रतिशत उद्योगहरू रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया