Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन नियन्त्रण गर्न सकिन्नँ’

‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन नियन्त्रण गर्न सकिन्नँ’


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्रै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नसकिने बताएका छन् । यसको नियन्त्रणको लागि सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।

मानव बेचबिखनविरुद्धको १७ औंँ राष्ट्रिय दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले मानव बेचबिखन नियन्त्रणका लागि सामाजिक संघसंस्था, गैरसरकारी संघसंस्था तथा निजी क्षेत्रलगायतको समेत भूमिका अहम् रहने बताए । यस अभियानमा सरकार पूर्णरूपमा सक्रिय रहनाका साथै नियन्त्रणका लागि सम्बन्धित सबै निकायसँग हातेमालो गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयले सरकारको सहयोग र समन्वयनमा पुनःस्थापना केन्द्र सञ्चालन गरी मानव बेचबिखनमा परेका पीडितलाई पुनःस्थापन गर्नका लागि मनोसामाजिक परामर्श प्रदान गर्ने, तथ्याङ्क एकीकृत गर्ने, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, परिवारमा पुनःमिलन गराउने गरेको बताए । यस्तै, राष्ट्रिय दिवसका अवसरमा यस क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत तथा सम्मान गर्दै आएको समेत जानकारी दिए । भारतसँगको खुला सिमाना, गरिबी, नागरिकको न्यून सचेतनास्तर, मानव बेचबिखनको बदलिँदो प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिजस्ता कारणले मानव बेचबिखनका समस्या देखिए पनि अपेक्षितरूपमा समाधान हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सम्बन्धित पक्षले जिम्मेवारी लिन नसक्नु नेपालको प्रमुख समस्या रहेको बताइन् । यस अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् । यस्तै, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र तरिका फेरिएको बताइन् । उनका अनुसार विगतमा गरिब वर्गलाई आर्थिक प्रलोभन पारी बेचबिखनको शिकारमा पारिन्थ्यो भने अहिले धनी वर्गका दिग्गज व्यक्तिलाई उत्कृष्ट रोजगारको प्रलोभनमा पारी बेचबिखन गरेको पाइएको छ । यस विषयमा सम्बन्धित निकायबीच समन्वय र सहकार्य नहुँदा समस्या बढ्दै गएकाले मानवीय विकासलाई ध्यानमा राख्दै जनचेतना अभिवृद्धि गराउन आवश्यक रहेको उनले उल्लेख गरिन् । यस्तै, आयोगका सदस्य लीली थापाले मानव बेचबिखनको प्रमुख माध्यम नै वैदेशिक रोजगारीको क्रममा गैरकानुनी ढङ्गबाट जानु रहेको बताइन् । मानव बेचबिखनविरुद्ध यस वर्षको नारा ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण’ भन्ने रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया