Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजारकोे गिरावट छिट्टै रोकिने अर्थमन्त्रीको दाबी

सेयरबजारकोे गिरावट छिट्टै रोकिने अर्थमन्त्रीको दाबी


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरबजारमा आएको गिरावटलाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् । उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लगानीकर्ताको रकम नडुबोस् भन्नेतर्फ सरकार सचेत रहेको बताएका छन् । सेयरबजारको विकासको लागि नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार गर्ने जवाफ दिएका छन् । उनले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेकाले अहिले सेयरबजारमा देखिएको गिरावट अस्थायी भएको दाबी गरे ।

तर, बिहीबार बजारमा आएको गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । नेप्से परिसूचक २८ दशमलव ९२ अंकले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ । बजार घटेपछि लगानीकर्ता निराश बनेका हुन् । बजारमा लगानीकर्ताको चहलपहल निकै घटेको छ । सेयर किन्नेहरूभन्दा बेच्नेहरू नै धेरै देखिएका थिए । यद्यपि बिहीबार एक अर्ब १५ करोड रुपैयाँबराबरको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएयता सेयरबजार दुई सय ९५ अंकले घटिसकेको छ । खासगरी बजार उच्च ब्याजदर, कम्पनीहरूको लाभांश क्षमता घट्नु र सेयरमा लगानी गर्न सजिलै कर्जा उपलब्ध नहुँदा प्रभावित भएको देखिन्छ ।

अर्कोतर्फ गत आर्थिक वर्षमा मात्रै करिब ३८ अर्ब रुपैयाँको आईपीओ र हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृत गरेको थियो । जसले बजारमा सेयरको आपूर्ति बढाएको छ । यही कारण बजारमा बिक्रीचाप बढ्न गएको देखिन्छ । ठूलो रकम आईपीओ र हकप्रदमा गएको र बैंकबाट सजिलै सेयरमा लगानी गर्न कर्जा पाउन छाडेपछि बजारमा माग पक्ष कमजोर बनेको छ । यसको परिणाम बजार ‘प्यानिक’ बन्दै गएको छ ।

बिहीबार मात्रै लगानीकर्ताको सम्पत्ति ४३ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ३६ अर्बबाट २८ खर्ब ९३ अर्बमा झरेको छ । कारोबारमा आएका दुई सय २८ कम्पनीमध्ये दुई सय तीनवटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । बजार घटे पनि २१ कम्पनीका सेयरधनीले कमाएका छन् भने चारवटाको मूल्य स्थिर रहेको छ ।

कारोबारमा आएका १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ५२ प्रतिशतले घटेको छ । भारतले १० वर्षमा १० हजार बिजुली किन्नका लागि दीर्घकालीन सम्झौता स्वीकृत गरे पनि जलविद्युत् क्षेत्रमा रौनकता आउन सकेन । जलविद्युत्पछि धेरै घट्नेमा अन्य समूह छ । यो समूह दुई दशमलव शून्य ४ प्रतिशतले घटेको छ । यसपछि उत्पादन तथा प्रशोधन एक दशमलव ७३ प्रतिशत, होटल तथा पर्यटन एक दशमलव ७१, जीवन बीमा एक दशमलव ४१, लघुवित्त एक दशमलव ३८, निर्जीवन बीमा एक दशमलव ३६, विकास बैंक र लगानी एक दशमलव १९, फाइनान्स एक दशमलव १६, बैंकिङ एक दशमलव शून्य ७, म्युचुअल फन्ड शून्य दशमलव ९७ र व्यापार शून्य दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजार घटे पनि बिहीबार शुभम् पावरको सेयरकारोबार सकारात्मक ‘सर्किट लेभल’मा भएको छ । थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य पनि सात दशमलव ४६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बराही हाइड्रोपावरको सेयरमूल्य नौ दशमलव ७१ प्रतिशतले घटेको छ । सिटिजन्स म्युचुअल फन्ड–२ र अपर सोलु हाइड्रोइलेक्ट्रिको सेयरमूल्य पनि नौ प्रतिशत बढीले घटेका छन् । सबैभन्दा धेरै कारोबार लिवर्टी इनर्जीको छ करोड १५ लाख रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया