Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीक्यान्सर डायग्नोसिस सेन्टर स्थापनाका लागि पदयात्रा

क्यान्सर डायग्नोसिस सेन्टर स्थापनाका लागि पदयात्रा


काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर डायग्नोसिस सेन्टर स्थापनाका लागि पदयात्रा गर्ने भएको छ । क्यान्सर रोगीको संख्या बढ्दै गइरहेका बेला बिरामीको उपचारमा सहयोग पु-याउने उद्देश्यका साथ संस्थाले क्यान्सर डायग्नोसिस सेन्टर स्थापना गर्न लागेको हो ।

संस्थाले आफ्नो ४१ औँ वार्षिकोत्सवको अवसरमा क्यान्सर रोगसम्बन्धी सचेतना जगाउने उद्देश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । ‘क्यान्सर रोगबाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रूपमा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका साथै उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ’, संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने । इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना सो पदयात्रा हुने बताइएको छ ।

पदयात्रा काठमाडौंको खुलामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकु, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्युरोड गेट, रानीपोखरी, दरबार मार्ग हुँदै सात किलोमिटरको यात्रापछि खुलामञ्चमा नै समापन हुनेछ । विभिन्न किसिमका रोग र यसबाट बच्न अपनाउनुपर्ने सावधानी तथा रोकथामका विषयमा स्वास्थ्य परामर्श दिने, रक्तदानजस्ता कार्यक्रम समेत समेत आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ ।

‘स्टेपिङ फरवार्ड फर क्यान्सर फ्रि फ्युचर’ भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डायग्नोसिस सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए । पाँच हजार जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरूप संकलित रकम संस्थाको निर्माणाधीन भवनमा क्यान्सर डायग्नोसिस सेन्टरको पूर्वाधार निर्माणमा लगानी हुने बताइएको छ । पदयात्रामा सहभागी हुनेहरूले प्रतिव्यक्ति एक हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टिसर्ट, क्याप र फुड प्याकेज पाउनेछन् । कार्यक्रमको पेमेन्ट पार्टनर आईएमई पेमा लगइन गरेर पदयात्रामा सहभागी हुनका लागि टिकट खरिद गर्न सकिने इभेन्ट सोलुसनले जनाएको छ ।

समाज सेवाको यो अभियानमा सहभागी भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघसंस्थालगायतलाई आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने तीन दर्जन बढी संस्थाले सहयोग गरेका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पु-याउँदै आएको छ ।

नेपालमा सूर्तिजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको यस संस्थाले सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पु-याउँदै आएको छ । विशेतः सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रण, खानपान रहनसहन र दिनचर्यालाई गतिशील र चलायमान बनाउनुपर्ने कुरा, पोषणयुक्त खानपानको उपभोगजस्ता कुरालाई पनि कार्यक्रममा एकाकार गर्दै लगिएको संस्थाले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया