Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदवीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सुरु

वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सुरु


काठमाडौं । वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका हुने बताए । ‘अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ । यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ’, उनले भने, ‘नेपालको खेल जगतलाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।’

खेलाडीले व्यक्तिगत आकर्षणलाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने बताए । कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री एवम् सांसद उदयशम्शेर राणाले पदको मोह सबैलाई हुने बताउँदै पदको मोह त्यागेर कर्ममा क्रियाशील हुनुपर्ने बताए । ‘हरेक क्षेत्रमा काम गर्दा पदको मोह सबैलाई हुन्छ । प्रधानमन्त्री पदको मोह त्यागेर देश र जनताका लागि सबैलाई मिलाउनुपर्छ भनेर लाग्नुहुने नेता गणेशमान सिंहको नाममा आयोजित खेलकुद प्रतियोगितामा हामी छौँ’, उनले भने, ‘पदका लागि भन्दा पनि नागरिक र जनताको हितका लागि प्राथमिकता दिएर काम गर्नुपर्छ ।’ राणाले खेलकुदका लागि सरकारको सीमित बजेट भए पनि निजीस्तरबाट सहयोग लिएर भए पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिए । यस्तै, बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुदको माध्यमबाट सांस्कृतिक र पर्यटकीय विकास गर्न सकिने बताए ।

प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले आठ÷आठ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महर्जनले बताए । खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद रू एक लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिम च्याम्पियनले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया