विकासमा आर्थिक तथा सामाजिक पक्ष
काठमाडौं । विकासको ऐतिहासिक फेहरिस्तलाई विश्लेषण गर्दा प्रगतिको भावना धार्मिक तथा आधुनिक विचारहरूको बीचबाट अथवा विरोधाभासबाट उदय भएको देखिन्छ । त्यस्तै, दुई विचारहरू ‘स्वर्ण युग पहिल्यै थियो’ र ‘स्वर्ण युग पछि आउँछ’ भन्ने विवादबाट अथवा सामन्त र शोषित, श्रमिक र व्यापारीहरूको द्वन्द्व हुँदा यही स्थिति कायम रहनुपर्छ र यसमा सुधार हुनुपर्छ भन्ने विचारको द्वन्द्वबाट प्रगतिको भावना उब्जिएको हो भन्न सकिन्छ । सोह्रौँ र सत्रौँ शताब्दीमा एक्कासी एउटा ठूलो परिवर्तन भयो जसलाई जागरण पनि भनिन्छ । यसबाट मानिसले कुनै पनि घटनामा कारणको खोजी गर्न थाले । १८ औँ शताब्दीतिर सामन्तवादबाट सुरु भएको पुँजीवादी अर्थव्यवस्थाका विभिन्न स्वरूप वा प्रकारहरू विकसित भए । मुख्यरूपमा अहिले पुँजीवादी अर्थव्यवस्थाको नमुनाका रूपमा अमेरिकी अर्थव्यवस्था र ब्रिटिस अर्थव्यवस्था रहेका छन् भने जापान, फ्रान्सको अर्थव्यवस्था पनि यस क्रममा उदाहरणीय रहेका छन् । सन् १७७९ मा एडम स्मिथले ‘एन इन्क्वाइरी इन्टु द नेचुरल एन्ड कज अफ वेल्थ अफ नेसन’ भन्ने सुप्रसिद्ध आर्थिक ग्रन्थ निकालेपछि आर्थिक जगतमा हलचल पैदा भयो । स्मिथको विचारलाई समर्थन गर्दै युरोपलगायत अन्य मुलुकहरूका अर्थशास्त्रीहरूले पनि विभिन्न लेखरचना र पुस्तकहरू प्रकाशन गर्न थाले । सन् १८१५ देखि सञ्चालन हुँदै आएको लाइसेज फायर क्यापिटालिजम प्रथम विश्वयुद्धको सुरुवातसँगै (सन् १९१४) समाप्त हुन्छ ।
प्रथम विश्व युद्धपछि पुँजीवादको विशेषतामा परिवर्तन देखा परे । सन् १९२९ को मन्दी वा त्यसभन्दा अगाडि अमेरिकाको आर्थिक व्यवस्था त्यत्ति सक्षम र सवल देखिँदैन । रुजवेल्टले ‘न्यु डिल प्रोग्राम’ लागू गरी पुँजीवादी अर्थव्यवस्थालाई प्रभावकारी ढंगले अगाडि बढाए । सन् १९१४ सम्म बेलायतको अर्थव्यवस्था माग र पूर्तिको प्राकृतिक नियममा चलेको थियो । वैदेशिक व्यापार, औद्योगिक र कृषि क्षेत्रमा पूर्ण स्वतन्त्रता दिएको थियो । सन् १९१८ तिर बेलायतको अर्थतन्त्रमा विभिन्न प्रभाव पर्न थालेकोले सरकारले नियोजित अर्थतन्त्र अपनाउनुप-यो । सन् १९३६ मा जे.एम.किन्सले लेइज फेयर क्यापिटालिजममाथि कठोर आक्रमण गर्दै ‘द जेनेरल थ्यौरी’ नामक पुस्तिका प्रकाशन गरेपछि नयाँ पुँजीवादी व्यवस्था झन् लोकप्रिय बन्न पुग्यो ।
सन् १९७० को दशकमा गरिबी बढ्न गएको र आर्थिकस्तरबीच असमानता देखिएकाले मानवीय जीवन कष्टप्रद बन्नुका साथै आधारभूत आवश्यकताको परिपूर्तिबाट समेत मानव समाज बञ्चित भएकाले आयको समान वितरणतर्फ ध्यान दिँदै सर्वप्रथम आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्ने मान्यताको विकास गरियो । सन् १९८० को दशकमा विकास भएको विकासप्रतिको स्वावलम्बी विकासको मान्यताले स्थानीय निकायको परिचालनमा जोड दिइयो । स्थानीय जनतामा निरन्तर अन्तर्क्रिया, अनुभव र सीपको आदानप्रदान दक्षता र प्रभावकारिताको अभिवृद्धिमा जोड दिँदै भिन्न स्वावलम्बी संघ–संस्था र लक्षित समूहसँग सह–अस्तित्व र समन्वयका आधारमा विभिन्न क्रियाकलापको थालनी गर्नेतर्फ जोड दिइयो । आर्थिक र मानवीय स्रोतका धनी देशहरूमा पनि वास्तविक विकास देख्न नसकिएको अवस्थालाई मूल्याङ्कन गरी सन् १९८० को दशकमा सामाजिक विकासको मान्यता अगाडि सारियो । सामाजिक विकासको सम्बन्धमा कोर्तेनले समाजका सदस्यहरूको व्यक्तिगत र संस्थागत क्षमतालाई बढाउने सन्दर्भलाई अगाडि सारेका छन् । विकासप्रतिको सामाजिक पक्षको महत्वलाई जोड दिँदै समग्र पक्षको विकासमा जोड दिए । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सन् १९९० मा मानवीय आयु, प्रौढ शिक्षा र प्रतिव्यक्ति आम्दानीलाई मुख्य आधार बनाएर अनुसन्धान गरी विश्वस्तरीय प्रतिवेदन प्रकाशित ग-यो । जुन प्रतिवेदन हरेक वर्षमा हालसम्म पनि प्रकाशित गर्दै आइरहेको छ । सन् १९९० मा मानवीय विकासको त्यस्तो मान्यतालाई जोड दिइयो जसअनुसार आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रलाई पनि विकासको साध्य र साधन दुवै मान्नुपर्छ । अतः विकास भन्नु मानव हितसँग सम्बन्धित विषयको परिवर्तन हो । एउटा सकारात्मक परिवर्तन जुन परिवर्तनले मानव समुदायको हितको संरक्षण र प्रवद्र्धन गर्दछ । त्यसैगरी यसलाई राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रको सर्वाङ्गीण समुन्नति पनि मानिन्छ ।
आधुनिक धारणाको पक्षधर अर्थशास्त्रीहरूले राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, आदिको साथसाथै आधारभूत आवश्यकता, जीवनको भौतिक गुण सूचक, मानव विकास सूचकजस्ता गैरआम्दानी परिसूचकलाई समेत आर्थिक विकासको मापदण्डको रूपमा लिएको पाइन्छ । आर्थिक विकासको मापदण्डलाई वर्तमान समयमा सूक्ष्म अर्थशास्त्र र बृहत् अर्थशास्त्र गरी दुई पक्षबाट हेर्न सकिन्छ । अर्थव्यवस्थामा शिक्षा र प्रशिक्षणको सुविधामा वृद्धि हुनु, लगानीको मात्रामा वृद्धि हुन्छ, मानिसहरूको उत्पादन क्षमतामा वृद्धि हुने तथा समाजमा विद्यमान मूल्य, मान्यता, रहनसहनको स्तरमा क्रमिक सुधार आउनुलाई पनि आर्थिक विकासको मापदण्ड मानिएको छ । केही अर्थशास्त्रीहरूले शिक्षा, स्वास्थ्य, खाद्यान्न, पोषण, सीप, साक्षरता, रोजगारीको अवस्था, आधारभूत आवश्यकताको उपभोग, यातायातको सुविधा, वासस्थान, मनोरञ्जन, सामाजिक सुरक्षाजस्ता विषयलाई आर्थिक विकासको सूचकको रूपमा लिएका छन् ।
(अ) सामाजिक परिवर्तन तथा सामाजिक विकास : अल्पविकसित देशहरूमा अवैज्ञानिक प्राचीन रुढीवादी विचारधाराको प्रभाव रहन्छ । यसले गर्दा त्यहाँको मानिसहरू काममा भन्दा धर्ममा र श्रममा भन्दा भाग्यमा बढी विश्वास गर्छन् । उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा अनुत्पादनशील क्षेत्रमा खर्च गरी समाजमा धाक रवाफ देखाउँदछन् । यस्ता देशमा अवैज्ञानिक जातिपाती, छुवाछुत प्रथा धेरै मात्रामा पाइन्छ । यी सबै कारणले आर्थिक विकास कार्यलाई अगाडि बढ्न दिँदैन । सामाजिकस्वरूप आर्थिक विकासका लागि महत्वपूर्ण प्रभावकारी तत्वको रूपमा रहेको हुन्छ । समाजमा भएका मानिसको सोचाइ तथा आवश्यकताअनुसार नै आर्थिक विकासको कार्यक्रमहरू तय हुन्छन् तथा नीतिहरूको सञ्चालन हुन्छ । फेरि विकासप्रतिको चाहना सामाजिक स्वरूपबाट प्रभावित हुन्छ । समाजको स्वरूपअनुसार नै तिनीहरूको विभिन्न पेशामा संलग्न हुने र सोहीअनुसारका कामहरू सञ्चालन हुने हुँदा आर्थिक तथा सामाजिक विकास समाजको संरचनाले ठूलो प्रभाव पार्छ ।
(आ) आधारभूत आवश्यकता : आधारभूत आवश्यकताको महत्वलाई अर्थशास्त्री महवुब उल हक यसरी व्यक्त गर्दछन् — ‘कुल राष्ट्रिय उत्पादन वृद्धि अपरिहार्य छ र यसलाई आम गरिबीको समस्याको निराकरणका लागि विवेकपूर्ण निर्देशत गरिनुपर्छ । सामजिक सूचक वर्तमान कल्याणसँग मात्र सम्बन्धित नभई मानवीय भविष्यको कल्याणसँग पनि सम्बन्धित हुनेगर्छ । आधारभूत आवश्यकता परिपूर्तिका लागि यस अवधारणाले तीनवटा नीति र प्रक्रियामाथि जोड दियो । क) रोजगारी र आय बढाउने ख) सामाजिक सेवाको क्षेत्रमा राजकीय संलग्नता वृद्धि गर्ने ग) उद्देश्य मानवीय विकासबाट मात्रै हुन सक्छ भन्ने धारणा आएको छ । देशमा शिक्षाको स्तरलाई दर्शाउने विभिन्न परिचायकहरूमध्ये प्रौढ साक्षरता, विद्यालयमा पढेको, औसत वर्ष र शिक्षक विद्यार्थी अनुपात, साक्षरता र विद्यालय शिक्षालाई बढी महत्व दिएका हुन्छन् ।
(इ) मानवीय विकास : मानवीय विकासमा आर्थिक विकासकोे साथसाथै सामाजिक विकासका पक्षहरूलाई पनि समावेश गरिन्छ । स्वास्थ्य, सरसफाइ, औसत आयु, खाद्य तथा पोषण तत्व, शिक्षा, आम्दानी तथा गरिबीको अवस्थाबाट मुक्ति, महिला तथा बच्चाहरूको स्थिति, मानवीय सुरक्षा र वातावरण आदिको समग्र स्थितिमा सुधार हुनु नै मानवीय विकास हुनु हो । मानव सभ्यतामा समग्र स्थितिको सकारात्मक स्थिति मानवीय विकास भए पनि मानव विकासको सूचकांक किटान गर्न गाह्रो पर्छ । मानवीय विकासलाई परिमाणात्मकभन्दा गुणात्मक पक्षले बढी प्रभाव पार्ने भएको हुनाले मानवीय विकासको मापन गर्न कठिनाइ परेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मानवीय विकास सूचकांकको आवधारणा विकसित गरी मानवीय विकासलाई मापन गर्ने प्रयास गरिएको पाइन्छ । यस सूचकमा मानव साधन विकासका लागि निम्नलिखित तीन पक्षलाई समावेश गरिएको छ । १. राम्रो जीवनको लागि आम्दानी २. शिक्षा प्राप्ति ३. जीवन प्रत्याशा ।
विकासको सूचक सम्बन्धमा प्रोफेसर मौरिसले अनुमानित आयु, बाल मृत्युदर तथा साक्षरता दर तीन चरणहरूलाई भौतिक जीवनस्तर सूचकांक तयार गर्नुपर्ने त्यसमा सबैभन्दा कमलाई ‘१’ अंक र सर्वोत्कृष्टलाई ‘१’ स्तर दिई समग्रमा विकासको स्तर निक्र्याैल गर्नुपर्ने विचार व्यक्त गरेका थिए । सन् १९९० पछि विकासको सूचकमा मानवीय विकास सूचकांकलाई महत्व दिन थालियो । उक्त सूचकांकले प्रोफेसर मोरिसद्वारा प्रयोग गरिएको विधि अनुशरण गरी आयु, ज्ञान तथा जीवनस्तर तीन चरणहरू गरी तिनीहरूलाई शून्य ‘०’ देखि सर्वाेत्कृष्ट एक ‘१’सम्मको परिधिभित्र राखी सरदर आधारमा ‘न्यून’ ‘मध्यम’ र ‘उच्च’ मानवीय विकासको निष्कर्ष निकालेको बुझिन आउँछ । मानवीय विकासको अवधारणा नित्तान्त नौलो विचार होइन । तर वैचारिकरूपले बढी सुसंगठित भएर मुलुकहरूले लागू गर्न सक्ने नीतिगत आह्वान र ढाँचा समेत बोकेर यो अवधारणा सन् १९९० देखि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममार्फत विश्वसामु देखापर्न थाल्यो । यस अवधारणाले आर्थिक वृद्धि र आम्दानीको वृद्धिलाई विकासको वास्तविक सूचक मानेन । यस अवधारणाअनुसार उत्पादन, उत्पादकत्व, लगानी र व्यक्तिगत तथा पारिवारिक आम्दानी समेत मानवीय विकासका सूचक नभएर साधन मात्र हुन् । सन् १९५० को दशकको अन्त्यतिर विकासबारे एउटा अवधारणा जन्मियो । यस अवधारणाले मूलरूपमा आर्थिक विकासको अवधारणालाई सका-यो । तर यसले पुँजी र प्रविधिको साथसाथै स्वास्थ्य, शिक्षा, सीपजस्ता श्रमिक पुँजी समेत आर्थिक विकास अपरिहार्य तत्व हुन् भन्ने कुरा अगाडि सा-यो । उत्पादन र वितरणको प्रविधि र प्रक्रियामा थपिएको जटिलता, विविधता, निरन्तरता र विशिष्टताले गर्दा श्रमिकको स्वास्थ्य, शिक्षा र विशेषज्ञतामाथि जोड दिने यस अवधारणाको जन्म स्वाभाविक पनि थियो । शिक्षित, विशिष्ट, सीपयुक्त र स्वस्थ श्रमिकहरू उत्पादकत्व बढाउन सहयोगी हुन्छन् भन्ने कुरा यस अवधारणाले प्रतिपादन ग-यो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको मानवीय विकास, प्रतिवेदनको वार्षिक शृङ्खला सन् १९९४ मा मानवीय विकास सूचकको परिष्कृत रूप प्रस्तुत गरियो । भौतिक जीवनस्तर सूचकांकमा जस्तै मानवीय विकास सूचकअन्तर्गत सम्पूर्णस्तरले सबैभन्दा कम मानवीय संसाधनको विकास तथा ‘१’ एक स्तरले सर्वश्रेष्ठ मानवीय संशाधन विकासलाई दर्शाइएको हुन्छ । त्यसमा अनुमानित आयुद्वारा आयु अन्तरलाई भारित औसत सरदर, वयष्क साक्षरता र स्कुल जानेहरूको सरदरद्वारा ज्ञान तथा विभिन्न देशमा रहेको मुद्राको क्रयशक्ति अन्तरको माध्यमद्वारा मिलान गराएको प्रतिव्यक्ति आयद्वारा ‘जीवनस्तर’ मापन गरिएको छ । मानवीय विकास मापन गर्ने तीन माध्यमहरू जस्तै आयु अन्तराल, ज्ञान तथा जीवनस्तरलाई जटिल सूत्र प्रयोग गर्दै सन् १९९२ को तथ्यांकमा १७३ राष्ट्रलाई मानवीय संसाधन विकासका तीन वर्गहरूमा विभाजन गरिएको थियो । जस्तै १) न्यून मानवीय विकास २) मध्यम मानवीय विकास ३) उच्च मानवीय विकास ।
(ई) जीवनको भौतिक गुण सूचक : आर्थिक विकासको मापन गर्ने महत्वपूर्ण विकास अर्थशास्त्री मोरिस पी मोरिसले गरेका हुन् । अर्थशास्त्री हागुन डी मोरिसको २३ वटा विकासोन्मुख तथा विकसित मुलुकको तुलनात्मक अध्ययनबाट के कुरा निकालेका छन् भने फिजिकल क्वालिटी अफ लाइफ इन्डेक्स बनाउनका लागि सिर्फ तीन कुराहरू भए पुग्छ । ती तीन कुराहरूमा मानवीय सरदर आयु, शिशु मृत्युदर र साक्षरता दर नै पर्छन् । आर्थिक विकासलाई कसरी वास्तविकरूपमा मापन गर्न सकिन्छ । कस्तो तरिका उपयुक्त हुन्छ भनी नयाँ–नयाँ तरिकाको अध्ययन अनुसन्धान गर्ने सवालमा यो सूचकको प्रादुर्भाव भएको हो । यस परिसूचकले राष्ट्रिय आम्दानीको वितरण कसरी भइराखेको छ ? शिक्षा, स्वास्थ्य, पोषण आदिमा राष्ट्रिय आम्दानीको प्रयोग भएको छ वा छैन त्यो हेरेर त्यसैका आधारमा आर्थिक विकासको मापन गर्छ । मानिसको स्वास्थ्य स्थिति, औसत आयु र साक्षरताको प्रतिशत हेरेर आर्थिक विकासको मापन गरिन्छ । यस मापदण्डअनुसार जुन देशका जनताले राम्रो शिक्षा पाएका छन्, जसको जीवन प्रत्याशा राम्रो छ । साथै, जहाँ न्यूनतम बाल मृत्युदर छ, त्यहाँ यत्ति राम्रो भएको मानिन्छ र आर्थिक विकास भएको पनि हुन्छ ।
ग्रामीण विकासको नयाँ सन्दर्भमा सामाजिक विकासलाई आधुनिक विकासवादी अर्थशास्त्रीहरूले बढी जोड दिएका छन् । सामाजिक क्षेत्रमा विकास भन्नाले सामाजिक मूल्य र मान्यतामा परिवर्तन गर्नु हो । वस्तु तथा सेवाहरूको वितरणमा समाजमा रहेका प्रत्येक समूह तथा व्यक्तिहरूलाई सन्तुष्टि प्रदान गरिनु पर्छ । अर्थात्, विकासका प्रयासले समाजमा रहेका प्रत्येक सामाजिक तत्वहरूलाई आधारभूत आवश्यकताका तत्वहरू पूर्ति गरिनुपर्छ । विश्व बैंकको सामाजिक विकास रणनीतिले जनतालाई समावेशीकरणको माध्यमबाट सशक्तीकरण गरिनुपर्छ भन्ने अवधारणा राखेको पाइन्छ । विकासका सन्दर्भमा सामाजिक परिवेश तथा परिदृष्यलाई बेवास्ता गरी नीति तथा आयोजना बनाउने तथा सञ्चालन गर्ने हो भने त्यसले विकासको प्रतिफल दिन सक्दैन । विकासको प्रक्रियाले समाजका प्रत्येक व्यक्ति तथा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नुपर्छ न कि सीमित व्यक्ति तथा समुदायको दिगो र समतामूलक आर्थिक वृद्धिका खातिर सामाजिक विकास एक पूर्वमान्यता हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया