अल्मलिएका युवा र राष्ट्र निर्माणको दायित्व
काठमाडौं । मुलुकको वास्तविक पुँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा, उन्माद र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । शक्ति र ऊर्जाका स्रोत हुन् । मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा हुन्छ । युवाहरूको परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनर्र्निर्माण भइरहेको हुन्छ ।
समाजको विसंगति र बिब्ल्याटाहरूलाई बढार्ने पनि युवा नै हुन् । युवा आक्रोश र विद्रोह हो, ऊ विध्वंश गर्न पनि पछि पर्दैन । नजाने युवा कुण्ठा, भग्नासा र निराशा पनि हो । ऊ पलायन हुन सक्छ, बर्बाद हुन सक्छ । त्यसैले युवाको उपयोग सावधानीमा रहेर गर्नुपर्छ । तर अहिले युवा शक्ति अल्मलिएको, निराश र निरुद्देश्य देखिएको छ । आफ्नो मातृभूमिमा आशाको किरण देख्न छाडेको छ ।
जनगणनाअनुसार नेपालमा आर्थिकरूपमा सक्रियहरूको संख्या ५७ प्रतिशत छ । २० दशमलव आठ प्रतिशत जति जनसंख्या १६ देखि २५ उमेर समूहको छ । १६ दशमलव ४० उमेर समूहलाई युवा मान्दा यो समूह ४० दशमलव ६८ प्रतिशत छ । युवाको परिभाषा देशगतरूपमा मात्र फरक भएको होइन कि कानुन र अर्थशास्त्रले पनि फरक मान्दै आएको छ । युवावस्थालाई उमेरका आधारमा मात्र हेर्ने कि सक्रियता, जोस र दृष्टिकोणबाट हेर्ने भन्ने पनि प्रश्न छ । त्यसैले आजभोलि युवाको परिभाषा नै बदल्नुपर्छ भन्ने पनि चर्चा छ । जे होस्, युवा अवस्था भनेको सपना देख्न सक्ने, सक्रियता देखाउन सक्ने, सामथ्र्य र सम्भावना भएको जीवनको हिस्सा हो, समयले दिने अवसर हो । प्रत्येक व्यक्तिले त्यो अवसर पाउने गर्छ, उपयोग गर्न सक्षमहरू नै प्रगति पनि गर्छन् र मुलुकलाई पनि प्रगतिको मार्गमा लैजान्छन् ।
नेपालमा भन्ने गरिएको जनसाङ्ख्यिक लाभांश उल्लिखित अवस्था हो, जसलाई उपयोग गरेर मुलुक र व्यक्ति दुवै समृद्ध हुन सक्छन् । धेरैजसो मुलुकका लागि यो अवसर उपलब्ध छैन । शताब्दीऔँसम्म उपलब्ध हुने सम्भावना पनि छैन । कतिपय मुलुकहरू एजिङको समस्यामा छन्, कतिपय मुलुकमा विवाह र सन्तान उत्पादन गर्ने सोचबाट विस्तारै विषयान्तर हुने संस्कृतिले जरा गाड्दैछ । लिभिङ टुगेदरको संस्कृति पनि विकास हुँदैछ । तर नेपाल यस्तो प्रवृत्तिबाट बिल्कुल अलग छ र जनसंख्याको लाभ लिन सक्ने अवस्थामा छ । यस अवस्थालाई अवसरको रूपमा लिएर युवा शक्ति, सम्भावना र क्षमतालाई उपयोग गर्नु आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र, समुदाय र युवासँग सम्बन्धित निकायहरूले साझा सोच बनाउन पर्छ ।
नेपालका युवाहरू आफ्नो गाउँठाउँमा सुनिश्चित भविष्य देख्न छाडेका छन् । यसको पृष्ठभूमिमा विगतका दिनमा मुलुकले कैयौँ पटक गुमाएको अवसर, सामाजिक द्वन्द्व, राजनीतिक अस्थिरता र आर्थिक अधोगति कारण बनेर बसेका छन् ।
युवाहरू स–सानो स्वार्थ र प्रदर्शनमा रमाउने गर्नुहँुदैन, जिम्मेवारीमा रहनुपर्छ । अहिलेको तरुणवय सुविधामा उत्साही मात्र होइन, अल्छी पनि बनेको छ । सुविधाले त ज्ञान, शिक्षा, सीप र अवसरका अवरोध भत्काउनुपर्छ, आलस्यता र अल्क्ष्याइँमा लाग्नुहुन्न । युवाले थाहा पाउनुपर्छ, उसको प्रत्येक पल उसैको भविष्यका लागि अमूल्य छ । उसले बुझ्नुपर्छ, कर्मले सफलता ल्याउँछ, एउटा सफलताले अर्कोलाई सजिलो बनाउँछ । अर्को सफलताले झनै ठूलो सफलता हात पार्न थप शक्ति, ऊर्जा र उत्साह पैदा गर्छ । सानो असफलता भइहाले पनि कुण्ठा र निराशामा पुगिहाल्नु हुन्न ।
समय बलवान् छ, समयलाई सञ्चय गर्न सकिँदैन । समयका अवसर टिप्न नसके समयले नै व्यक्तिलाई किनारा लगाउँछ । यस शताब्दीमा अकल्पनीय सुविधा उपलब्ध छन् । सुविधाका पारखी युवाहरू खुसी छन् । तर उनीहरूले बुझ्नु पर्छ कि यी सबै सुविधाहरू आफूजस्तै युवाको परिश्रम, खोज र अन्वेषणका परिणाम हुन् । त्यसैले अवसरको स्वादमा रमाएर युवा दायित्व पूरा हुँदैन । आउने पुस्ताका लागि उसले पनि अरू सुविधा, खोज र प्रणाली निर्माण गर्नसक्नुपर्छ । राम्रो प्रणाली र समाज निर्माण गरेर हस्तान्तरण गर्नुपर्छ । त्यसो गर्न युवाभित्र शक्ति र सामथ्र्य छ, जसलाई उसले नदेखेको मात्र हो ।
नेपालका युवाहरूमा केही असहज संस्कृतिको विकास हुन थालेको छ । पहिलो, उसले नेपालभित्र सम्भावना र भविष्य देख्न छाड्यो । दोस्रो, श्रम गर्ने बानी हराएको छ, परिश्रमलाई उपेक्षा गर्ने संस्कार हुर्किँदैछ । पढलेखाहरूमा यो अरू झाँगिदैछ । तेस्रो, छिटै निराश हुने, विफलताबाट पलायन हुने बानी विकास हुन थालेको छ । चौथो, संयमता र धैर्य लिने बानी टुटेको छ । पाँचौ, सकारात्मकभन्दा नकारात्मक सोच र आरोप संस्कृति हुर्किँदैछ । यी विसंगति नहटाई नेपालको नवनिर्माण गर्न सकिँदैन । तर थोरै प्रयासमा यी विसंगति हटाउन सकिन्छ ।
उल्लिखित प्रवृत्ति विकास हुनुमा मुख्य जिम्मेवारी शिक्षाको छ । नेपालको शिक्षा प्रणाली राष्ट्रिय उद्देश्य पूरा गर्ने, असल नागरिक बनाउने, सीपयुक्त ज्ञान दिने र असल संस्कार सिकाउनेतर्फ अभिमुख छैन । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालयसम्मको शिक्षाले व्यक्तिलाई नागरिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीप र स्वभाव विकास गर्ने हो । तर पाठ्यक्रम, पाठ्यविधि, परीक्षण विधि गतावधिक भएकाले शिक्षाको व्यक्तिगत, सामाजिक र राष्ट्रिय तहको उद्देश्यलाई साथ दिएको छैन । परिणामतः ९१ लाख विद्यार्थीमाथि अन्याय भइरहेको छ । जीवन निर्वाहका लागि सीप पाएको छैन, उच्च शिक्षामा प्रतिस्पर्धा पनि विकास भएको छैन । शिक्षित व्यक्ति श्रम गर्न लजाउँछ, श्रम नगर्ने सोचले टेबुल मानिसहरू सिर्जना भइरहेको छ । यसैले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग वास्तविक रूपमा आबद्ध गर्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता हो । सीपयुक्त शिक्षा गरिबले मात्र लिने हो कि भन्ने सामाजिक मनोवृत्ति पनि सुधार्नु आवश्यक छ । मौजुदा शिक्षक र शिक्षा प्रशासनबाट यो सम्भव छैन । शिक्षा क्षेत्रको जनशक्ति आफ्नो समयको अब्बल होइन, जो यस क्षेत्रमा आबद्ध छन्, राजनीतिकृत भएकाले पाठनपाठनको स्तर गिर्दैछ ।
शिक्षा प्रणालीले योगदान गर्न नसकेर उत्पादनशील प्रक्रियामा सजिलै आबद्ध छैन । सार्वजनिक क्षेत्रको जागिरमा लालायित हुने भावना छ । प्रवेशिका वा उच्च शिक्षा पूरा गरेपछि जागिर आफैँले बनाउनुपर्ने भूमिकाबाट ऊ कति पनि सचेत छैन, बरु जागिर खोज्न भौतारिन्छ । सीप, सिर्जना र स्वरोजगारमा अभिमुखीकरण गरेर उपयोगिता सिर्जना गर्ने बाटो भुलिएको छ । श्रम बजार निकै साँघुरो छ, प्रतिस्पर्धात्मक क्षमता पनि विकास छैन त्यसैले बाध्यात्मकरूपमा पनि जागिरको लालसा जाग्छ र जागिरे बन्छ । जागिरमा पनि निकै कम सम्भावना छन् ।
सार्वजनिक क्षेत्र वा आन्तरिक श्रम बजारमा सम्भावना नदेखेपछि सम्भावना र साहस भएका युवाहरू बाह्य मुलुकमा जाने प्रवृत्ति विगत तीन दशकदेखि बढ्दो छ । औपचारिक र अनौपचारिक माध्यमबाट गरी साठी लाखजति युवाशक्ति विदेशिएको छ र अरूकै मुलुकलाई कर्मभूमि बनाइरहेको छ । सीप र शिक्षामा पछि परेकाले बाह्य मुलुकमा पनि न्यून बेतन र सुविधामा पसिना बगाइरहेका छन् । केही युवाहरू विदेशमा सिकेको सीपलाई सामाजिक विप्रेषणका रूपमा नेपाल फर्केर उपयोग गरिरहेका छन् र आशालाग्दो भविष्यको निर्माण पनि गरिरहेका छन् । तर धेरैजसो युवाहरूमा यो अभिमुखीकरण र सामथ्र्य देखिएको छैन ।
युवाहरू नै समाजका सबै क्षेत्रलाई सुसंस्कृत बनाउने भूमिकामा रहन्छन् । युवा जागरणले नै समाजमा लोकतान्त्रिक संस्कार संस्थागत हुने हो । नेपालका युवाहरू राजनीतिकरूपमा निकै सचेत छन् । तर राजनीतिलाई आग्रह र वैयक्तिक लाभहानिमा हेर्ने संस्कृति बदल्न युवाहरूले भूमिका निर्वाह गर्न सकेको छैन । राजनीति नीति र निष्ठाबाट विचलित छ । यस अवस्थामा सामाजिक सहमति र असल संस्कारको विकास गर्न युवाले सामाजिक परिचालन गर्न सक्छन् । उचित अनुचित परिगेल्न शिक्षा दिन सक्छन् । तर यसका लागि स्वयम् युवाहरू राजनीतिक दलका कार्यकर्ताको साँघुरो घेराबाट बृहत्तर सामाजिक भावनामा पुग्नुपर्छ । राजनीतिक दलभित्र पनि उनीको भूमिका आन्तरिक प्रजातन्त्र विकास, समावेशी सिद्धान्त अवलम्बन, विचार दर्शनको मन्थन र नेतृत्व परिमार्जनको भूमिकामा रहनुपर्छ भने राजनीतिक दल बाहिरका युवाहरूमा समष्टिगत सामाजिक प्रजननशीलता बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । यसले राजनीतिक दलप्रति बढ्दै गएको वितृष्णालाई विश्वासमा बदल्न सक्छ र राज्य प्रणालीको विश्वास बढाउन सक्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया