Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा जोड

लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा जोड


काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनमा जोड दिएका छन् । स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगहरूले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै उनले यस्ता उद्योगहरूको प्रवर्द्धनमा जोड दिएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन गर्दै उनले घरेलु र साना उद्योगले मात्र देशलाई आर्थिक समृद्धितर्फ डो¥याउने बताए । उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समितिका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा पनि घरेलु र साना उद्योगको योगदान उच्च रहेको बताए । छरिएर रहेको पुँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनले बताए । यस्तै, उनले नेपालमा उद्योग स्थापना गर्न भारतीय उद्यमीलाई आग्रह गरे । नेपाल भारतको सांस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोड््न चाहेको उनले बताए ।

कार्यक्रमका संयोजक एवम् घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका महासचिव डा सोनी महतोले महिला उद्यमशीलताको क्षेत्रमा लगानी वृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालिम, सरल व्यावसायिक कर्जा तथा उपयुक्त प्रविधिमा सरसहयोग विस्तार गर्नुपर्नेमा जोड दिइन् । महिलाहरूले सञ्चालन गरेका उत्पादनमूलक व्यवसायलाई विशेष कर छुटको व्यवस्था गर्न सकिएको खण्डमा महिलाहरू घरेलु तथा साना उद्योग व्यवसायमा आकर्षित हुने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विदेशमा उत्पादन भएका वस्तु उपयोग गर्ने परिपाटीमा सुधार ल्याउनुपर्नेमा जोड दिइन् । यस्तै, उनले महानगरमा महिलाहरूको व्यवसायमा ४० प्रतिशत कर छुटको व्यवस्था मिलाएको बताइन् । यस्तै, ३२ वडामा ३२ प्रकारको वस्तु उत्पादन हव बनाउने निर्णय समेत गरेको उनले जानकारी दिइन् । सांसद प्रतिमा गौतमले समृद्धिको प्रमुख औजार उद्योग भएको भन्दै महिलाले घर परिवार पनि सम्हाल्नुपर्ने र घरायसी श्रमको मूल्यमा गणना नहुने अहिलेको समस्या भएको बताइन् । ‘राज्यले महिलाहरूको सक्षमता वृद्धि गर्न थुप्रै काम गर्न बाँकी छ । घरेलु उद्योगलाई विशेष सेवा सुविधा दिनु जरुरी छ’, उनले भनिन्, ‘हाम्रा उत्पादनको दुवै देशमा निर्वाध बजार प्रवेशमा यस्ता कार्यक्रमहरू लाभदायी हुने बताइएको छ ।’

कार्यक्रममा महिला उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल र भारतका अग्रणी महिला उद्यमीलाई सम्मान गरिएको थियो । ग्लोबल इन्डिया मिसनका अध्यक्ष सुनिलकुमार सिंहले कार्यक्रममा ३५ भारतीय महिला उद्यमी सहभागी रहेको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया