Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६४ हजारको कोरोना परीक्षण

६४ हजारको कोरोना परीक्षण


काठमाडौँ, वैशाख २३
मुलुकभर हालसम्म पीसीआर र आरडीटी प्रविधिबाट गरी कुल ६४ हजार ४ सय ८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४० र आरडीटी प्रविधिबाट ५० हजार ८ सय ४५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप एक हजार ३ सय ८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए । आरडीटी प्रविधिबाट हालसम्म प्रदेश नं १ मा पाँच हजार ८ सय ३७, प्रदेश नं २ मा पाँच हजार ७ सय ३६, वाग्मती प्रदेशमा आठ हजार ६ सय १०, गण्डकी प्रदेशमा पाँच हजार ८ सय ८२, प्रदेश नं ५ मा चार हजार ८ सय ३१, कर्णाली प्रदेशमा पाँच हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनामा कोरोना परीक्षण गरिएको छ ।

मुलुकभर हाल जम्मा २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कुल १ सय ६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसमध्ये काठमाडौँ उपत्यकामा एक र उपत्यकाबाहिर १ सय ५ जना आइसोलेसनमा छन् । मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा एक हजार ८ सय ७६ स्वास्थ्य जिज्ञासासम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए ।

यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एपमा पछिल्लो २४ घण्टामा ४८४ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप सात जना ‘रेडजोन’मा परेका छन् । रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य मुलुकभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हाल ७५ पुगेको छ । त्यसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये ५९ जना उपचारमा रहेका र बाँकी निको भई घर फर्किसकेका छन् । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमित देखिएकामध्ये प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् ।

प्रवक्ता देवकोटाले केही दिनयता मुलुकका विभिन्न क्षेत्रमा कीटनाशक औषधिका झोलले ‘स्प्रे’ गरी ‘डिसइन्फेक्टेड’ गर्ने गरिएको देखिएको बताउँदै त्यस्तो झोल सिधँै मानिसको शरीरमा छर्किदा हानिकारक हुनसक्ने बताए । उनले तोकिएको मापदण्ड पूरा गरी सही तरिकाले स्प्रे गरिएमा भने यसको प्रयोगले भुइँ र सतहलाई भने निस्सङ्क्रमण गर्न सकिने जानकारी दिए । कोरोनाको सङ्क्रमणबाट जोगिने सबैभन्दा सरल र प्रभावकारी उपाय भने पटक–पटक २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्नु नै हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x