अर्थतन्त्र उकास्न सेयरबजारको भूमिका
काठमाडौं । अहिले नेपालको अर्थतन्त्र शिथिल अवस्थामा छ । उद्योग तथा व्यवसायहरूले गति लिन सकेका छैनन् । जसको कारणबाट बेरोजगारी बढ्दै गएको छ । आन्तरिक उत्पादन बढ्न नसकेको हुँदा माग पूर्ति गर्नका लागि आयातमा निर्भर हुनु परेको छ । आयात बढ्दै जानु र निर्यात घट्दै गएको हुँदा शोधनान्तर स्थिति अनुकूल छैन । हुन त केही समयअघि आयातमा नियन्त्रण गर्दा विदेशी मुद्राको सञ्चिति बढेको थियो । आयात नियन्त्रण गरेर विदेशी मुद्राको सञ्चिति बढाउनु भनेको केही समयको लागि सहजता मात्र हो । दिगो र स्थायी समाधान होइन । यसका लागि त आन्तरिक उत्पादन बढाउनै पर्छ ।
स्वदेशमा रोजगारी पाउन नसकेको कारणले गर्दा ठूलो जनशक्ति विदेश पलायन भइरहेको अहिलेको अवस्था हो । त्यही जनशक्तिले पठाएको रकमले अर्थतन्त्रको बाह्य सूचकमा सुधार आएको हो । सधैं यस्तो अवस्था भइरहन्छ भन्न सकिँदैन । आयात नियन्त्रण गरेर र विप्रेषणबाट आएको रकमले मात्र देशको अर्थतन्त्र धानिनु भनेको अर्थतन्त्र जोखिममा रहेको भन्ने बुझ्नुपर्छ । अर्थतन्त्रमा सुधार गर्ने हो भने आन्तरिक उत्पादनलाई एकातिर जोड दिनुपर्छ भने अर्कोतर्फ अर्थतन्त्र चलायमान बनाउन विभिन्न औजार प्रयोग गर्नुपर्छ । यसको लागि केन्द्रीय आर्थिक संगठनका रूपमा रहेका अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वले पहल कदमी चाल्नुपर्ने हो । मुख्य कमजोरी यहाँ नै देखिएको छ ।
देशको अर्थतन्त्र सुदृढ बनाउने प्रारम्भिक चरण भनेको अर्थमन्त्रीले सदनमा पेश गर्ने बजेट नै हो । अर्थतन्त्रलाई सही दिशातिर लैजान बजेटले निर्देश गर्नुपर्ने हो । तर बजेट यस विषयमा चुकेको देखिन्छ । किनभने आर्थिक बर्ष ०८०/०८१ को बजेटमा सेयरबजारलाई उकास्ने गरी बजेटले सम्बोधन गर्न सकेन । बजेटले नै नबोलेपछि सेयरबजारमा सुधारको गुञ्जायस नै रहेन र सेयरबजारमा झनै समस्या थपिँदै गए । बजेट वक्तव्यमा अर्थमन्त्रीले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने भन्नेबाहेक अन्य खासै केही उल्लेख गरेको देखिँदैन । समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने कुरा त्यति सजिलो हुँदैन । सेयरबजारमा गरिने सुधारको विषयमा केही कुरा सम्बोधन गरेको भए निश्चय नै सेयरबजारमा निष्क्रिय रहेको ठूलो रकम चलायमान हुन सक्थ्यो र परिणामस्वरूप बजेटले राखेको आर्थिक स्थायित्वको उद्देश्य हासिल हुन सक्ने थियो । यो वातावरण निर्माण हुन नसकेको कारणले गर्दा न त सेयरबजारमा सुधार आउन सक्यो न त समष्टिगत आर्थिक स्थायित्व नै कायम हुन सक्ने अवस्था देखिएको छ ।
यो त भयो वित्त नीतिको सन्दर्भ । सेयरबजारको अर्को सहयोगी पक्ष भनेको मौद्रिक नीति हो । मौद्रिक नीतिले सेयरबजारलाई उकास्ने नीति ल्याउन नसक्दा सेयरबजार समस्याग्रस्त अवस्थामा गुज्रिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिले पनि सेयरबजारलाई उकास्ने सन्दर्भमा सेयर धितो कर्जामा ५० लाखसम्मको कर्जामा शत प्रतिशत जोखिम भार कायम गरिनु र ५० लाखभन्दा बढीको कर्जा धितोमा एक सय ५० प्रतिशत जोखिमभार कायम गरिएको छ भन्ने प्रावधानबाहेक मौद्रिक नीतिले सेयरबजारमा खासै केही कुरा बोलेको देखिँदैन । जसको परिणामस्वरूप अहिले सेयरबजार ओरालो लागि रहेको अवस्था छ । यी दुई निकायको नेतृत्व तहमा सुमधुर सम्बन्ध र समन्वयको अभाव भएको निश्चय नै हो । दुई नेतृत्वको टकरावको परिणाम सेयरबजारमा पर्न गयो र सेयरबजारले गति लिन नसकेको मुख्य कारण यही हो । यसअघिका अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन नै गरिदिए । भलै गभर्नरलाई पछि सर्वोच्च अदालतले पुनर्बहाली गरी दियो ।
नेपाल राष्ट्र बैंक मुद्रा तथा बैकिङ क्षेत्रको विषयविज्ञ नै हो । त्यस्तो क्षेत्रको नेतृत्व गर्ने व्यक्तिलाई निलम्बन गर्दा मुद्रा तथा बैकिङ क्षेत्रमा कस्तो असर पर्छ भन्ने कुरामा सरकारले ध्यानै पु-याउन सकेन । यसले गर्दा नेपालको मुद्रा बजारले जुन गति लिनुपर्ने थियो त्यो लिन नसकेको पक्कै हो र त्यसको प्रत्यक्ष असर सेयरबजारमा पर्न गयो ।
सेयरबजारमा ठूलो रकम निष्क्रिय भएको अहिलेको अवस्था हो । यति ठूलो रकम निष्क्रिय भएर रहनु भनेको राष्ट्रिय अर्थतन्त्रको लागि ठूलो घाटा हो । किन यस्तो अवस्था सिर्जना भयो सोको निराकरणको लागि सरकारले पहल गर्नुपर्ने हो सो गरेको देखिँदैन । वित्त नीतिको माध्यमबाट अर्थमन्त्रीले केही सम्बोधन गर्नुपर्ने हो सो पनि गरेको देखिँदैन । सेयरबजारका नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयरबजारका कमीकमजोरीलाई केलाई सुधार गर्नुपर्नेमा सो गरेको अवस्था छैन । देशको अर्थतन्त्र खस्किँदै गएर आर्थिक संकट निम्तिने अवस्थामा पुग्दा पनि सुधारका प्रयाससम्म नगरिएकोले यो क्षेत्र झनै चिन्ताको विषय बन्न गएको छ ।
सेयरबजार सुधार गर्ने सम्बन्धमा अर्थमन्त्रीले बजेटमा केही नभन्ने अनि यसबारे मौद्रिक नीतिबाट आवश्यक व्यवस्था हुने भनेर एकातिर पन्छिने काम भएको छ भने अर्कोतर्फ मौद्रिक नीति पनि योभन्दा बढी गर्न सकिने ठाउँ नै छैन भनेर सेयरबजार समस्याग्रस्त हुन पुगेको अहिलेको अवस्था हो ।
अर्थतन्त्रलाई चलायमान नगरी आर्थिक गतिविधि अघि बढ्न सक्दैनन् । गत वर्ष सरकारको पुँजीगत बजेट खर्च निराशाजनक देखियो । चालूगत बजेट पूरै खर्च हुनु र पुँजीगत बजेट खर्च गर्न नसक्ने यथार्थलाई सरकारको कमजोरी भन्नुपर्छ । जनताले तिरेको करको सदुपयोग गर्न नसक्नु भनेको देशको अर्थतन्त्र सही दिशातिर लाग्न नसक्नु नै हो । यसरी अहिले देशको अर्थतन्त्र शिथिल हुँदै गएको छ र यसलाई चलायमान बनाउनुको विकल्प सेयरबजारमा सुधार गर्नु नै हो ।
देशको अर्थतन्त्र चलायमान बनाउने सन्दर्भमा सेयरबजारको भूमिका महत्वपूर्ण हुने भए पनि नेपालमा भने यो क्षेत्रलाई उपेक्षा गरिएको पाइन्छ । सरकारले केही नगरेको हुनाले नै अहिले सेयरबजार खस्किँदै गएको छ । ३२ सय पुगेको नेप्से अहिले दुई हजारभन्दा पनि तल झरेको अवस्था छ । यस्तै, हुँदै जाने हो भने यो क्षेत्रमा निश्चय नै ठूलो संकट आउने छ । यदि संकट आयो भने त्यस समयमा राज्यले ठूलो मूल्य चुकाउनु पर्नेछ ।
सेयरबजार अर्थतन्त्रको एउटा बलियो खम्बा भएको हुनाले नै साधारण मानिसदेखि ठूला–ठूला व्यक्तिहरूको ठूलो लगानी भएको छ । लगानीबाट राम्रो प्रतिफल पाउने आशाले गर्दा यो क्षेत्रमा आकर्षण बढेको हो । अन्यथा यति सानो जनसंख्या भएको मुलुकमा ५८ लाखको हाराहारीमा हितग्राही खाता खोलेर देशको अर्थतन्त्रमा सहभागी भएका लगानीकर्ताको लगानीलाई राज्यले उपेक्षा गरिरहन्छ भने देशको अर्थतन्त्र खस्किँदै जानु कुनै नौलो कुरो होइन । अहिले यही नै भइरहेको देखिन्छ ।
अन्त्यमा, नेपालको सेयरबजार ठूलो आयतनको नभए पनि अर्थतन्त्र चलायमान बनाउने सन्दर्भमा भने यसको भूमिका महत्वपूर्ण रहेको छ । सेयरबजार प्रभावकारी हुन सक्यो भने उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन सक्छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहले अर्थतन्त्र चलायमान हुन्छ । परिणमस्वरूप सेयरमा भएको लगानीबाट अर्थतन्त्र विस्तार हुँदै जान्छ ।
अहिले मुलुकभर सात सय ५३ ओटा स्थानीय तह छन् । सेयरको माध्यमबाट स्थानीय तहमा रकम परिचालन बढ्दै गएको हुन्छ । जसबाट स्थानीय स्रोत साधनको परिचालन गरी विकास निर्माण कार्य सञ्चालनमा सहजता हुन जान्छ । यसरी अर्थतन्त्रको विकास गरी समग्र आर्थिक स्थायित्व कायम गर्न सेयरबजारको महत्व हुँदाहुँदै पनि यो क्षेत्रको विकासमा नीतिगत सुधारको अभाव छ । अहिले खस्किँदै गएको सेयरबजारलाई उकास्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आवश्यक सुधार गर्नै पर्छ । अन्यथा अर्थतन्त्रमा संकट नआउला भन्न सकिँदैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया