Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसारस चराको चाखलाग्दो पक्ष

सारस चराको चाखलाग्दो पक्ष


काठमाडौं । सारसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगोन’ हो । अङ्ग्रेजीमा यसलाई ‘सारस क्रेन’ भनिन्छ । हल्का खरानी रंगको शरीर, लामो र रातो घाँटीमा सेता टाउको अनि लामै खुट्टा हुने यस पन्छीको उचाइ झण्डै पाँच फिट र तौल सातदेखि आठ किलोग्रामसम्मको हुने गर्छ । यो पन्छीको औषत् आयु भने ५० वर्षसम्म रहेको अनुमान गरिएको छ ।

यसरी मानिसकै हाराहारीमा अग्लो र लामो घाँटी भएको सारस विश्वकै दूर्लभ पन्छीहरूको समूहमा पर्दछ । सामान्य चराको भन्दा धेरै लामो र चुच्चो घाँटी हुने यो चरा उड्ने चराहरूमध्येकै सबैभन्दा अग्लो चरा पनि मानिन्छ । सारसको मुख्य आहारा भनेको किरा–फट्याङ्ग्रा र सर्प हो । सारसको एउटा महत्वपूर्ण विशेषता के हो भने यसले पातैपातको गुँढ बनाउँछ र वर्षात्मा गुँढ तयार पार्ने गर्दछ । वर्षमा दुईवटा अण्डा पार्ने सारसको जोडी कहिल्यै छुट्टिएर बस्दैन र जीवनभर आफ्नो जोडी पनि फेर्दैन । त्यसैले सारसलाई प्रेम र सहकालको प्रतीकका रूपमा पनि लिइन्छ । भनिन्छ, यो पन्छीे यदि कसैको जमिनमा गएर बस्यो अथवा गुँढ बनायो भने वर्षभर नै त्यस जमिनमा राम्रो खेतीपाती हुने गर्छ । त्यसो त यसले खेतबारीमा लाग्ने किराफट्याङ्ग्रा तथा सर्प खाइदिने हुनाले पनि त्यसरूपमा लिइएको हुन सक्छ ।

केही दशकअघिसम्म धान खेतमा प्रशस्तै देख्न सकिने यो चरा पूर्वी नेपालबाट लोप भइसकेको छ । नेपालमा यो चरा मूलतः रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लाहरूमा मात्र पाइन्छ । त्यस्तै, नेपालमै पाइने रैथाने प्रजातिको सारस भने विशेषगरी नेपालका भित्री मधेशका केही ठाउँमा पाइन्छ । रमाइलो कुरा के छ भने विश्वमा पाइने १५ किसिमका सारसमध्ये सात थरीका सारस बसाइँसराइ गर्छन् । तर नेपालमा पाइने यो रैथाने चरा भने बसाइँसराइ नगर्ने समूहमा पर्छ । नेपालमै पाइने बसाइँसराइ गर्ने खालको सारस वर्गमा पर्ने चरा भने कर्याङ्गकुरुङ्ग हो । यो र अर्को लक्ष्मण सारस भन्ने सारस पनि यदाकदा भारततिर बसाइँ सर्ने गर्छ । नेपालबाहेक यी पन्छीहरू पाकिस्तान, भारत, बंगलादेश र वर्मा अथवा म्यानमारमा पनि पाइन्छन् ।

विश्व संरक्षण संघ (आईयूसीएन)को संरक्षित सूचीमा परेको सारसको संख्या नेपालमा करिब पाँच सयको हाराहारीमा रहेका छन् । यीमध्ये करिब एकसय जोडी लुम्बिनीमै रहेका छन् । प्राप्त जानकारीअनुसार दुर्लभ पन्छी मानिने सारस बचाउन लुम्बिनी–कपिलवस्तु राजमार्ग निर्माण गर्दा समेत निकै सतर्कता अपनाइएको थियो । तर वि.सं. २०१८ सालमा आएर नेपालको तराई क्षेत्रमा मलेरिया उन्मूलन गर्न डीडीटीको व्यापक प्रयोग गरिएपछि भने यो पन्छी संकटापन्न अवस्थामा पुगेको कुरा जीव वैज्ञानिकहरू बताउँछन् । विशेषगरी धानखेत, धापिलो जमिन र नदीलगायतका स्थानमा विचरण गर्न रूचाउने सारसको विनाश सिमसार क्षेत्रको अतिक्रमण, नदीनालामा औद्योगिक फोहोरको विसर्जन र बढ्दो पर्यावरणीय प्रदूषणको कारणले गर्दा हुन पुगेको हो भन्ने सम्बद्ध विशेषज्ञहरूको भनाइ रहेको छ ।

नेपालमा अन्य क्षेत्रमा पाइने सारसभन्दा लुम्बिनी क्षेत्रभित्र पाइने सारसको विशेष धार्मिक तथा पर्यटकीय महत्व रहेको छ । त्यसैले लुम्बिनी आउने प्रायःजसो पर्यटकहरू सारस हेरेर मात्र फर्किने गर्छन् । विशेषतः भगवान् गौतम बुद्धको कथासँग जोडिएर ऐतिहासिक महत्व समेत बोकेको सारसलाई कतिपय धार्मिक पर्यटकहरू भगवान बुद्धको प्रतीक मान्ने गर्छन् । त्यस्तै, कतिपय भियतनामीहरू पनि यस पन्छीलाई भगवान्कै रूपमा पूजा गर्ने गर्छन् । जसले गर्दा सारस हेर्नकै लागि पनि कतिपय पर्यटकहरू नेपालको लुम्बिनीमा पुग्ने गर्छन् ।

त्यसो त सारसको प्रसङ्गमा चर्चा गर्दा पौराणिक ग्रन्थमा आधारित एउटा रोचक घटना पनि जोडिएर आउने गर्छ । जस्तो बौद्ध धर्मग्रन्थअनुसार सिद्धार्थ गौतम दरबारको बगैँचामा बसिरहेका बेला एउटा घाइते सारस उनको काखमा खस्न पुग्यो । त्यो सारसलाई उनका काकाको छोरा देवदत्तले बाँण हानी घाइते बनाएका थिए । पछि देवदत्त त्यो सारस माग्न आउँदा सिद्धार्थ गौतमले मर्न लागेको सारसलाई आफूले बचाएको दाबी गर्दै दिन मानेनन् । दुई भाइको यो विवादपछि त्यसको फैसलाको लागि राजा शुद्धोधन कहाँ पुग्यो । राजाले मार्न खोज्नेको भन्दा बचाउनेको अधिकार बढी हुने बताउँदै त्यो सारस सिद्धार्थ गौतमकै हुने फैसला सुनाएपछि गौतमले नै त्यसलाई पालेका थिए । यद्यपि बौद्ध धर्मग्रन्थमा त्यो चराको नाम ‘सरहंस’ उल्लेख गरिएको भए पनि स्थानीय भाषामा यसलाई सारस भनिँदैे आएको छ । लुम्बिनी क्षेत्रअन्तर्गत पनि मायादेवी मन्दिर, विश्व शान्ति स्तुप तथा विभिन्न देशहरूबाट तयार पारिएको स्तूपहरू वरिपरिको लुम्बिनी विकास कोषको खास क्षेत्रभित्र पर्यटकका लागि सारस एक महत्वपूर्ण आकर्षण बनेको छ । त्यसैले लुम्बिनी आउने प्रत्येक पर्यटकले यी स्थल पुग्न छुटाउँदैनन् र सारस नहेरी फर्कंदैनन् ।

विशेषगरी घाँसपात, अन्न, किरा र सरिसृपहरू खाएर बाँच्ने सारस बासस्थानको विनाशका कारण दिन प्रतिदिन सङ्कटमा पर्दै गएको छ । यसबाहेक अण्डा, मासु र प्वाँखका लागि पनि यसको अवैध व्यापार हुने गर्छ । हाल तराई क्षेत्रमा बढ्दो वातावरणीय प्रदूषण, अव्यवस्थित विद्युतीय तारहरू, सिमसार क्षेत्रहरूको विनाश र सारसका बच्चा चोरी गरी घरमा पाल्न लैजाने प्रवृत्तिका कारण पनि यो पन्छी संकटापन्न अवस्थामा पर्न पुगेको हो । त्यसो त लुम्बिनी क्षेत्रमा रहेका बिजुलीका नाङ्गा तारमा अल्झिएर पनि यी पन्छी मर्ने गरेका छन् । त्यस्तै, त्यहाँ अव्यवस्थित उद्योगहरूबाट भइरहेको प्रदूषणले पनि सारसको कुल संख्यामा ह्रास आइरहेको चरा विशेषज्ञहरू बताउँछन् । यसरी नेपालमा सारसहरूको संख्यामा ह्रास आइरहेको अवस्थालाई दृष्टिगत गर्दै सारस संरक्षणका लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले समेत सारसलाई संकटापन्न पन्छीको रूपमा संरक्षित चराको अनुसूचीमा सूचीकृत गरेको छ ।

तसर्थ, धार्मिक, पर्यटकीय र पर्यावरणीय दृष्टले समेत अत्यन्त उपयोगी मानिने दूर्लभ पन्छी सारसलाई लोप हुनबाट जोगाउन सम्बद्ध सबै पक्षबाट इमान्दारीपूर्वक प्रयास हुनपर्ने खाँचो देखिएको छ । यसका लागि सर्वप्रथम त यसको बासस्थानकै संरक्षण र व्यवस्थापनतर्फ यथोचित ध्यान पु-याउनु आवश्यक छ । खासगरी सिमसार क्षेत्र र धापिला जमिन वरपरका ठाउँहरू यसको मुख्य बासस्थान हुने भएको हुँदा यी क्षेत्रहरूको उचित संरक्षण एवम् व्यवस्थापनतर्फ सरकार र अन्य सम्बद्ध निकायहरूको ध्यान पुग्नुपर्ने टड्कारो खाँचो देखिएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया