Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघट्यो वैदेशिक लगानी प्रतिबद्धता

घट्यो वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा दोस्रो महिना भदौमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता सवा नौ अर्ब रुपैयाँले घटेको छ । साउनमा ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएकामा भदौमा घटेर दुई अर्ब ७२ करोड २४ लाख रुपैयाँमा झरेको छ । भदौमा लगानी प्रतिबद्धता रकम, उद्योगको संख्या र रोजगारी प्रतिबद्धतामा कमी आए पनि आगामी महिनादेखि क्रमशः बढ्दै जाने विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा विदेशी लगानी प्रतिबद्धता झण्डै १५ अर्ब रुपैयाँ आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा विदेशी लगानी प्रतिबद्धता १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ आएको छ । सो लगानी प्रतिबद्धता एक सय ११ वटा उद्योग स्थापना गर्नका लागि आएको हो । ती उद्योगमा पाँच हजार पाँच सय दुई जनाको लागि रोजगारी प्रतिबद्धता आएको विभागले जनाएको छ । यसमध्ये आठवटा उद्योग प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) सहित आएको छ ।

उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीका अनुसार समीक्षा अवधिमा विदेशी लगानी प्रतिबद्धता एक सय चारवटा साना, पाँचवटा मझौला र दुईवटा ठूला उद्योगका लागि आएको हो । क्षेत्रगतरूपमा हेर्दा पर्यटन क्षेत्रमा ५३ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको छ । यसबाहेक सेवाजन्यमा ४४ वटा, उत्पादनजन्यमा नौ, सूचना प्रविधिमा दुई, पूर्वाधारमा दुई र कृषिमा एउटा उद्योगको लागि लगानी प्रतिबद्धता आएको हो । कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योगमा विदेशी लगानी आउने गरेको छ भने विभागले उद्योगहरू दर्ता तथा नवीकरणको काम गर्दै आएको छ ।

सरकारी प्रतिवेदनअनुसार नेपालमा आउने विदेशी लगानीमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्याण्डलगायतका मुलुक छन् । साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुकबाट पनि नेपालमा लगानी आउने गरेको छ । समीक्षा अवधिमा भारत, चीनलगायतका मुलुकबाट बढी लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता ठूलो मात्रामा आउने गरे पनि निकै कम लगानी भित्रिने हुँदा वैदेशिक लगानीलाई लिएर उत्साहित हुन नपर्ने विभागका अधिकरीहरू बताउँछन् । विगतको तथ्यांक हेर्दा वैदेशिक लगानीमा प्रतिबद्धता भएको रकमको एक तिहाइभन्दा कम रकम भित्रिने गरेको छ ।

सूचना अधिकारी भण्डारीका अनुसार साउन र भदौमा विदेशी लगानीकर्ताले नेपालमा रहेका उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको जानकारी दिइन् । विदेशी लगानीकर्ताले समीक्षा अवधिमा १२ वटा उद्योगको लागि तीन अर्ब २० करोड २१ लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता र साझेदारी सदस्यता सम्झौता गरेको उनले बताइन् ।

त्यस्तै, विदेशी लगानीकर्ताहरूले उद्योगमा लगानी गरेसँगै लगानी प्रतिफल समेत लैजाने गरेका छन् । चालू आर्थिक वर्षको दुई महिनामा उनीहरूले लाभांशबापत २५ करोड सात लाख नौ हजार रुपैयाँ लगेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने लाभांशबापत आठ करोड ६८ लाख ५७ हजार रुपैयाँ लगेका थिए । चालू आर्थिक वर्षको भदौमा मात्रै चार करोड ७६ लाख ४२ हजार रुपैयाँ लाभांश बाहिरिएको छ ।

लगानी आएसँगै लाभांश रकम लैजाने क्रमले समेत निरन्तरता पाउने हुँदा आगामी महिनामा लाभांश रकममा वृद्धि हुने विभागका अधिकारीहरूको भनाइ छ । विदेशी लगानीकर्ताले धेरैजसो उत्पादन, खानी र उत्खनन क्षेत्रबाट लाभांश लगेको पाइन्छ हाल भने क्षेत्रहरू विभाजन गरी नसकेको विभागले जनाएको छ । विद्युत्, ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट पनि विदेशी लगानीकर्ताले ठूलो रकम लाभांश लैजाने गरेका छन् ।

हरेक महिना विदेशी लगानीकर्ताहरू नेपालमा गरेको लगानी प्रतिफलस्वरूप लाभांश लैजाने गरेको पाइन्छ । लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएका छन् । कोभिड–१९ र रुस–युक्रेन युद्धका बीच पनि नेपालमा विदेशी लगानी रोकिएको थिएन भने सो समयभन्दा अघिदेखि नै नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी निरन्तर आएको छ, जसले गर्दा लगानी प्रतिफलस्वरूप लाभांश लगेको देखिएको हो ।

समीक्षा अवधिमा उद्योग सञ्चालन गरेबापत सरकारलाई तिनुपर्ने रोयल्टीबापत विदेशी लगानीकर्ताले आवश्यक रकम बुझाएका छन् । चालू आर्थिक वर्षको समीक्षा अवधिमा विदेशी लगानीकर्ताबाट ६० करोड ६१ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागले जनाएको छ ।

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गतको प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रतिबद्धता तीन सय २७ वटा उद्योग तथा १७ हजार १२ जनालाई रोजगारीसहित आएको थियो । यस्तै गत आर्थिक वर्षमा १३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी लाभांश देशबाट बाहिरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया