Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयसकारण ‘लकडाउन’लाई निरन्तरता दिँदै छ सरकार

यसकारण ‘लकडाउन’लाई निरन्तरता दिँदै छ सरकार


काठमाडौं, वैशाख २४
छिमेकी भारतमा लकडाउन खुकुलो बनाउँदा २४ घण्टाको अवधिमा चार हजार कोरोना संक्रमित थप भएर दुई सय जनाको मृत्यु भएको समाचार सार्वजनिक हुनासाथ नेपालले पनि लकडाउनलाई निरन्तरता दिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । यद्यपि कति दिन लकडाउनलाई निरन्तरता दिने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले नै गर्नेछ । मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्नेछ ।

उद्योगी तथा व्यवसायीहरुले काठमाडौं उपत्यकालगायत कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा लकडाउन खुकुलो गर्नुपर्ने माग गरिरहेको बेला सरकारले भने पास भएका गाडीहरुलाई पनि काठमाडौं उपत्यकामा प्रवेश गर्न नदिने नीति लिएको छ । मंगलबार मात्रै काठमाडौं छिर्ने प्रयासमा रहेका सयौं गाडीहरुलाई नागढुंगाबाट प्रहरीले बाहिर नै फिर्ता गरिदिएको छ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, बैठकपछि सचिव बिडारीले भने । बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहन लकडाउन नै उपयुक्त भएको ठहर गरेको थियो ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार लकडाउन खुकुलो पार्दा भारतमा संक्रमणको दर तीव्र भएको कारण काठमाडौंलगायतका क्षेत्रमा कोरोना संक्रमण नदेखिए पनि खुकुलो बनाउन समस्या परेको हो । काठमाडौंमा सबै जिल्लाका मानिसको बसोबास रहेको कारण सरकारले थप सतर्कता अपनाउँदै गाडी नै प्रवेश गर्न नदिएको हो । यद्यपि केही हिमाली र पहाडी जिल्लामा खुकुलो गर्न सकिने मंगलबार उद्योगी/व्यवसायीसँगको भेटमा उद्योग मन्त्री लेखराज भट्टले जानकारी दिएका छन् । उनले उद्योगहरु पनि खोल्न सकिने बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले पनि मंगलबार नै संसदीय समितिको बैठकमा लकडाउनको मोडालिटीमा परिवर्तन गरिने बताएका छन् ।

सरकारले नागढुंगाबाट प्रवेश गर्न नदिए पनि सीतापाइला–धार्के सडकबाट लुकीछिपी काठमाडौं प्रवेश गर्ने प्रयास गरेका छन् । उक्त सडक खण्डमा अहिले ग्राभेल गर्ने काम भइरहेको छ । काठमाडौंको प्रशासनले भने नागढुङ्गाको साथै फर्पिङ, मुड्खु, जगाती, जरसिङपौवा, गुर्जेभन्ज्याङ नाकालाई थप कडाइ गरेको छ ।

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार पाँच सय हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै चार सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीन जना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरू सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरू बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । समितिले लकडाउनको अवधि बढाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको कारण २५ गतेपछि लकडाउन थप कडा हुने देखिएको छ । यद्यपि पहाडी र हिमाली जिल्लामा खुकुलो हुने सम्भावना पनि प्रबल छ ।

कोरोना संक्रमितको संख्या ८२ पुग्यो – बाँकेमा सात जनामा थपिए,समुदायस्तरमा स्वाब सङ्कलन सुरु :
प्रदेश नम्बर ५ को बाँकेको नेपालगञ्जमा पुनः मंगलबार सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको हो । २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोना देखिएको हो । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा मंगलबार बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेसन आसपासका क्षेत्रबाट स्वाब सङ्कलन सुरु गरिएको छ ।

कोरोना सङ्क्रमित वडा नं. ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन सुरु गरिएको हो । उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । गत शुक्रबारदेखि मङ्गलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ ।

प्रदेश २ मा थप कडाइ : सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलिनसक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उक्त प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरूपमा लागू गरी सीमा सतर्कता बढाइएको छ ।

भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ । सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश नं २ मा अहिलेसम्म कोरोना पोजेटिभको सङ्ख्या १० पुगेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडीटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो । ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ । हाल प्रदेश नं २ मा आइसोलेसनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ । लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७ सय ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६ सय ७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नं २ रेडजोनमा आएपछि लकडाउनलाई पूर्णरूपमा पालना गराउन कडाइ गरिनाका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x