Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनभएको विकास, भएको भ्रष्टाचार

नभएको विकास, भएको भ्रष्टाचार


काठमाडौं । म सानो हुँदा निरक्षर मेरी आमाले पनि विकासका कुरा गर्नुहुन्थ्यो । उहाँले खोज्नुभएको विकास खानेपानी, गामबेसी गर्ने बाटो, छोराछोरीको पढाइजस्ता सामान्य कुरा मात्र थिए । यसभन्दा बढी मेरी आमालाई चाहिएकै थिएन । यति मात्र पूरा गरी दिएको भए उहाँको विकासको चाहना पूरा हुने थियो । ठूलाठूला सडकको चाहना थिएनन् । धेरै ठूला विद्यालयहरूको आवश्यकता पनि थिएनन् । खानेपानी, केही औषधिमूलोजस्ता सानातिना आवश्यकता पूरा भएको भएको भए मेरी आमाजस्ता धेरै आमाहरू निश्चय नै खुसी हुने थिए । तर मेरी आमा १०२ वर्षसम्म विकासको प्रतीक्षा गर्दै बाँचिरहनु भयो । तर, उहाँले सोचेजस्तो विकास देख्नै पाउनु भएन । विकास नदेख्दानदेख्दै यो धर्तीबाट उहाँले बिदा लिनु भयो ।

उहाँले बेलाबेलामा भन्नुहुन्थ्यो ‘कान्छा विकास हेर्नै नपाएर जाने भइयो । आमाले यसो भनिरहँदा मलाई भने खल्लो लाग्थ्यो । उहाँले खोजेको विकास ज्यादै न्यूनस्तरका र साना थिए । किनभने त्यस समयको आवश्यकता पनि ज्यादै न्यून थिए । जसलाई पूरा गर्न सरकारलाई कुनै समस्या नै थिएन । तैपनि विकास भएको थिएन मेरो गाउँमा । मेरी आमा विकास हेर्नकै लागि गोरखाको पालुङटार एयरपोर्टमा जहाज हेर्न जानुभएको थियो । उहाँसँगै म पनि पछिपछि लागेर गएको थिएँ र अरू धेरै आमाहरू गएका थिए । हामीहरू सबैले आकाशमा उड्दै आएको जहाज मज्जासँग धोको फेरेर आँखा तानीतानी हे-यौँ । हामीलाई अचम्म लाग्यो मान्छेले बनाएको हो भन्दा । अनि हामीले बुझ्यौँ विकास भनेको यस्तो पो हुँदो रहेछ ।

हामीलाई लाग्थ्यो, हाम्रो गाउँ घरमा पनि यस्तै विकास आउँछ । तर हाम्रो गाउँमा विकास त आयो कसका लागि आयो पहिचान गर्न पनि सकिएको छैन । विकासका लागि भनेर सिँचाइ आयोजना आयो । योजना मात्र आयो पानी आएन । बाटो आयो हिउँदमा मात्र आयो । बर्खामा आउने भएन । किनभने बर्खामा पूरै सडक बगाइदिन्थ्यो बाढीले । विकास भएको त छ डोजरे विकास । अध्ययन अनुसन्धान, विश्लेषण, लागत अनुमान, प्राविधिक सम्भाव्यताविना सञ्चालन भएका आयोजनाहरू कसको लागि र किन सञ्चालन हुन्छन् सामान्य नागरिकलाई के थाहा ? अहिले जथाभावी सडक निर्माण गरिएका छन् । तिनीहरूको लागत हानि विश्लेषण गरिएको हुँदैन । आवश्यक ठाउँमा निर्माण गरिँदैन र अनावश्यक ठाउँमा निर्माण गरिँदा सीमित साधन स्रोत त्यसै खेर गइरहेको अवस्था छ ।

यसरी गाउँ घरमा केही विकास त पुगेको छ । किन, केका लागि, कसका लागि र कसरी भन्ने प्रश्न अझै पनि अनुत्तरित नै छन् । तैपनि विकास पुगेको छ । किनभने सरकारले त्यहाँ ठूलो लगानी गरेको छ । विकास भएको छ तर जनताले अनभूति हुने गरी भएको छैन । सरकारको संयन्त्र स्थायी छ तर विकास भने अस्थायी छ । त्यसकारण यसरी मेरो गाउँमा नदेखिने गरी विकास भएको छ र देखिने गरी सीमित साधनस्रोतको खर्च भएको छ ।

हामीले खोजेको विकास यस्तो होइन । देखिने विकास हो । अनभूति गर्न सकिने विकास हो । शिक्षाको विकास भएको छ । सामान्यनागरिकले खोजेअनुसारको छैन । शिक्षा त्यस्तो होस् जसले गरिबी निवारण गर्न सकोस् । दुःख पाएका जनताले रोजगारी पाउन सकून र उनीहरूको घरपरिवारको जीविका धानिन सकोस् । तर हाम्रो शिक्षा प्रणाली उत्पादनमूलक हुनै सकेन । रोजगारीमूलक हुन सकेन । रोजगारीको लागि विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना गर्ने पो हुन पुग्यो । अनि यस्तो विकासलाई विकास भन्ने ? अहिले पढेलेखेका युवा दैनिक २५ सयका दरले खाडी मुलुकमा रोजगारीका लागि पलायन भएका छन् । उनीहरूको अभावमा खेतबारी बाँझो पल्टिएका छन् । यस्तै, अवस्था बढ्दै जाने हो भने हाम्रो अर्थतन्त्रले कस्तो रूप लेला र जनताको सामान्य जीवन कस्तो होला ? सबैको लागि चिन्ताको विषय भएको छ ।

धेरै आमाहरूले देखेको आकाशमा उड्ने गरेको हवाई जहाजको विकास त त्यसै हरायो । अहिले खण्डहर भएर कसैको सहयोगको प्रतीक्षामा ठिङ्ग उभिइरहेको छ । भएको विकास लोप भएको देख्दा ती अभागी आमाहरूको मन कति दुखेको होला ? यसतर्फ कसको ध्यान जान्थ्यो र ? हो, गाउँमा शिक्षा पुगेको छ । त्यो शिक्षा हासिल गर्न कति जनताको सहज पहुँच छ र कति महँगो हुँदै गएको छ । सामान्य दैनिकी चलाउन नसक्नेहरूको लागि शिक्षा पुगेर मात्र केही हुँदो रहेनछ । मुख्य कुरो भनेको त्यसलाई ग्रहण गर्न सक्ने क्षमताको हामीले विकास गर्न सकेका छौं कि छैनौँ भन्ने अहम् प्रश्न यो रहेछ ।

विकासकै लागि २०१३ सालमा प्रथम पञ्चवर्षीय योजनाको थालनी गरियो । अहिले हामी १५ औँ योजना सम्पन्न गरेर १६ औँ पञ्चवर्षीय आवधिक योजनाको प्रारम्भिक चरणमा छौँ । यस अवधिमा धेरै पैसा लगानी ग-यौँ । धेरै समय बितायौँ । स्वदेशी र विदेशी गरी धेरै वित्तीय साधनस्रोत खर्च ग-यौँ । अहिले पनि विदेशी सहायता प्राप्त गरिरहेका छौँ । विदेशी अनुदान तथा ऋण मनग्गे प्राप्त गरेका छौँ । अहिले ऋण नै २३ खर्बभन्दा माथि पुगेको छ । प्रत्येक नेपालीको टाउकोमा करिब ७५ हजार ऋणभार छ । यस्तो ऋणले वर्तमानलाई यसै दायित्व छ, भावी पुस्तालाई समेत दायित्व सिर्जना गर्छ । कस्तो अचम्म ! आफूले नलिएको र नखाएको ऋण पनि भावी पुस्ताले चुक्ता गर्नुपर्ने ।

भनिन्छ, देशमा चौतर्फी विकास भएको छ । विकास भएकै कारणले गर्दा प्रतिव्यक्ति आम्दानी करिब १४ सय अमेरिकी डलरको हाराहारीमा पुगेको छ । सामान्यरूपमा हिसाब गर्दा पनि १५० हजार रुपैयाँ प्रत्येक नेपालीको हातमा पर्नुपर्ने हो । यति ठूलो रकम प्रत्येक नेपालीले पाउने भएको भए हामीलाई बिहानबेलुकी छाक टार्न किन समस्या पथ्र्यो र ? यो भनेको त एउटा अर्थशास्त्रीय प्राविधिक विषय मात्र रहेछ । अर्थात् बौद्धिक औजार । त्यसकारण गरिब जनतालाई प्रतिव्यक्ति आयको कुनै अर्थ हुँदो रहेनछ । किनभने जति नै आय बढे पनि उनीहरूको जीवनस्तरमा कुनै सुधार आउँदो रहेन छ । अर्थ त राज्यलाई हुँदोरहेछ, प्रतिव्यक्ति १४ सय आम्दानी पुग्यो भन्न पाउँदा ।

विकास भनेको त तल्लो तहसम्म पुगेको हुनुपर्छ । धेरैभन्दा धेरै जनतालाई समेट्नुपर्छ । अहिलेको विकास भनेको त थोरै मानिसको पहुँच भएको विकास बनेको छ । कुल जनसंख्याको करिब १८ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि जीवन निर्वाह गर्नुपरेको अहिलेको अवस्था हो । राज्यले यस्ता नागरिकलाई हेरेर योजना तर्जुमा गर्नुपर्ने हो । राज्यको ध्यान त अग्लाअग्ला गगनचुम्वी भवन निर्माण, अनगिन्ती भ्यूटावर, मठमन्दिर, विश्रामस्थल, नेताहरूको लागि स्वागतद्वार निर्माण गर्नेतर्फ आकृष्ट भएको देखिन्छ । भुइँ मान्छेको लागि यस्ता महँगा निर्माण कार्यहरू आवश्यक नै छैनन् । बरु उनीहरूको चाहना भनेको त सर्वसुलभ शिक्षा, सानातिना बाटाघाटा निर्माण, स्वास्थ्य सुविधा, खानेपानी, रोजगारीजस्ता क्षेत्रहरू नै हुन् ।

रोजगारी नभएकाले जनताको क्रयशक्तिमा ह्रास आउन थालेको छ । महँगी बढेर सीमा नाघिसकेको छ । रोगले च्यापेको छ, भोकले सताएको छ, जनजीवन कष्टकर बन्दै गएको छ । यसतर्फ सरकारको ध्यान जानुपर्नेमा सरकार भने कसरी सत्तामा पुग्ने र सत्ता टिकाइरहने खेलमा रुमलिरहेको हुनाले नेपाली जनताले विकास देख्ने र अनुभूति गर्ने कुरा त आकाशको फलजस्तै भएको छ ।

अहिले आमजनतालाई चाहिएको विकास भनेको सामान्य आवश्यकता परिपूर्ति गर्ने विकास हो । जुन न्यूनतम मानवीय आवश्यकतासँग सम्बन्धित छन् । यिनै कुराको अभाव छन् भने ठूलाठूला आयोजनाको आवश्यकता नै देखिँदैन । तलैदेखि सानातिना काम गर्न सक्ने हो भने जनताको मन जित्न सकिने हुन्छ । अहिले त हाम्रो विकास प्रक्रिया उल्टो दिशातिर गएको देखिन्छ । विकास तलदेखि माथि उक्लिँदै जाने हो । माथिदेखि तल झर्दै आउने विकासको हाम्रोजस्तो गरिबीको चपेटामा परेको देशको लागि कुनै अर्थ हुँदैन । जनताको चाहना र उपलब्धिबीच ठूलो खाडल बनेको हुनाले विकास भएको छ भन्नँ सकिँदैैन । विकास भनेको त अपेक्षा र प्राप्तिबीच जति साँघुरो हुन्छ, उति विकास भएको हुन्छ ।

हामीलाई चाहिएको विकास हो, विकास हुन सकेन । तर देशमा भ्रष्टाचार भने बढ्दै गएको छ । नेपालको विकाससँग अन्तर्राष्ट्रिय समुदाय परिचित छैन । बरु नेपालमा बढ्दै गएको भ्रष्टाचारसँग राम्रोसँग परिचित भएको छ । तल्लो तहसम्म विकास पुग्न सकेको छैन । भ्रष्टाचार भने सजिलोसँग तलसम्म गइरहेको छ । माथिदेखि तलसम्म जताततै भ्रष्टाचार व्याप्त हुँदै गएको अवस्थामा विकास निर्माणका कार्यहरू ओझेलमा पर्नु स्वाभाविकै हुन्छ । अतः विकासले भन्दा भ्रष्टाचारले प्राथमिकता पाएको देशमा जनताको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । हालै घटेका नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणमा क–कस्को संलग्नता रहेछ र उनीहरूको पहुँच कति माथिसम्म रहेछ भन्ने कुराले पनि नेपालमा भइरहेको भ्रष्टाचार र विकासको गति बुझ्न त्यति कठिन हुने छैन ।

मेरी आमाजस्ता धेरै आमाहरूले विकास भन्दाभन्दै कहिल्यै अनभूति गर्न पाएनन् र अहिले त यो धर्तीबाट बिदा लिइसकेका छन् । भावी पुस्तालाई यस्तो हुन नपाओस् भन्ने कामना राख्नु हामी सबैको कर्तव्य हो । यसैतर्फ राज्यका सबै साधन स्रोत केन्द्रित गरी सामान्य भुइँमान्छेले खोजेको विकास उपलब्ध गराउनेतर्फ नै राज्य लागोस् । यसैमा देश र जनताको भलाइ हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया