Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी


काठमाडौं, वैशाख २४
सरकारले लकडाउनले बन्द भएका उद्योगहरुलाई तीन चरणमा खोल्ने तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा तीन चरणमा खुलाउने तयारी भइरहेको जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको ‘कोरोना महामारीपछिको उद्योग वाणिज्य क्षेत्र र आगामी कदम’ विषयक अन्तक्र्रियामा मन्त्री भट्टले जनताको दैनिकीसँग जोडिएका खाद्य उद्योग पहिलो चरणमा खोल्ने र त्यसपछि दोस्रो र तेस्रोमा चरणमा क्रमशः विकास निर्माणसँग सम्बन्धित निर्माण उद्योग र निर्यातमूलक उद्योग खोल्ने गरी गृहकार्य गरिरहेको जानकारी दिए ।

बन्द उद्योगहरु खोल्ने विषयमा उद्योगी व्यवसायीहरुसँग निरन्तर छलफल गरिएको भन्दै उनले उद्योग सञ्चालनको वातावरण बनाउँदै श्रमिक व्यवस्थापनका लागि ट्रेड युनियनहरुसँग छलफल गरिएको बताए । साथै उनले काठमाडौंलाई अहिले नै रेड जोन नभनिएको तर यहाँको जनघनत्व बढी भएकोेले जोखिम बढी हुनसक्ने बताए । साथै उनले अहिले उद्योगहरु कसरी सञ्चालन गर्न सकिन्छ भनेर क्षेत्रगत रुपमा सूक्ष्म विश्लेषण गरिरहेको र सोहीअनुसार रेड, यल्लो र ग्रिनजोन छुट्याएर उद्योग सञ्चालनगरिने उल्लेख गरे । उनका अनुसार यो विषयमा बुधवारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।

‘रोजगारीका अवसरहरु सिर्जना गर्न कृषि र अर्थ मन्त्रालयसँग समन्वय गरि रहेका छौं,’ मन्त्री भट्टले भने, ‘यसका अलावा रुग्ण रहेका उद्योगहरु पीपीपी (सार्वजनिक–निजी–साझेदारी) मोडलमा उद्योग सञ्चालन र लघु, साना तथा मझौला उद्योग सञ्चालन र औद्योगिक ग्रामलाई प्राथमिकताका साथ अघि बढाउदैछौं ।’ यी कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत राखिने उनको भनाई छ । धौवादी फलामखानीलगायतका उद्योगहरु पनि सञ्चालन गरिने उनले जानकारी दिए ।

यस्तै उनले मुलुकभरको आपूर्ति प्रणाली पनि सहज बनाएको दाबी गरे । स्टकमा रहेको सामग्रीहरुको मूल्य नबढेको दाबी गर्दै उनले पछिल्ला समयमा आयात गरिएका वस्तुहरुको मूल्य डलरको भाउ बढेको हुँदा केही मात्रामा वृद्धि भएको हुन सक्ने बताए । तर बजार मूल्य अनावश्यक रुपमा वृद्धि गर्नेलाई कारबाही गरिने र गरिरहेको जानकारी दिए ।

अहिले किसान र बजार विचको बिचमा बिचौलिया नहुँदा स्थानीय उत्पादनको बजारीकरणमा केही समस्या आएको भए पनि त्यसलाई समाधान गर्नका लागि स्थानीय तहका साथसाथै सहकारी संस्थाहरुसँग सहजीकरण गरी बजारको व्यवस्था गरिएको उनको भनाई छ । किसानहरुको उत्पादनको बजार मूल्य र बिक्री नहुने समस्यालाई हटाउन सरकारले नै गहुँको समर्थन मूल्यतोकेर खरिद गरिरहेको र निजी क्षेत्रलाई पनि खरिदका लागि आग्रह गरिएको मन्त्री भट्टले बताए ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले अहिले उद्योग व्यवसायमा चक्रिय समस्या रहेको भन्दै त्यसलाई समधान गर्नका लागि निजी क्षेत्रसँग निरन्तर छलफलमा रहेको बताए । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले उद्योग क्षेत्रमा देखिएका समस्यालाई साझा रुपमा सम्बोधन गर्न आवश्यक भएको बताए । उनले पारिश्रमिक व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै व्याजदर, सञ्चालन खर्चलगायत उद्योग व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने विषयमा भएको उल्लेख गरे । ‘श्रमिक तथा कर्मचारीहरुलाई पारिश्रमिक व्यवस्थापनका लागि सरकार र श्रमिकको योगदान पनि आवश्यक हुन्छ’, अग्रवालले भने, ‘आम्दानी शून्य भएको छ, ७० प्रतिशत ऋण लिएर पनि व्यवसाय सञ्चालन गरेकाका लागि अहिले उद्योगलाई बचाइराख्न समस्या भइरहेको छ, यही समस्या ६ महिनासम्म निरन्तर चले ३५ प्रतिशत उद्योग

बन्द हुन्छन् ।’ सरकारले तीन क्षेत्र निर्धारण गरेर उद्योग छिटै सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । अहिले बजारमा माग ३० देखि ४० प्रतिशत मात्रै रहेको उनको भनाइ छ । होटल क्षेत्रको अवस्था अत्यन्त दयनीय भइसकेको भन्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘नेपाल भ्रमण वर्ष—२०२० लाई लक्षित गरी नयाँ लगानी पनि भइरहेको थियो, अहिले यो उद्योग निरन्तर हुन नै समस्या भएकोले पारिश्रमिक दिन नै कठिन हुन्छ ।’ उद्योगीहरुले अहिले मुनाफाभन्दा पनि बन्द भएका उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा नै अन्योल रहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x