Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपठाओद्वारा राइडरहरूलाई सम्मान

पठाओद्वारा राइडरहरूलाई सम्मान


काठमाडौं । पठाओ नेपालले सुरूवाती दिनदेखि हालसम्म राइड गरेका एक सय ३१ उत्कृष्ट चालकलाई सम्मान गरेको छ । आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा कम्पनीले आइतबार एक कार्यक्रमका बीच उत्कृष्ट चालकलाई सम्मान गरेको हो ।

कम्पनीले पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका एक सय ३१ उत्कृष्ट चालक तथा पठाओ हिरोहरू छनोट भई छुट्टाछुटै क्याटागोरीमा राइडरलाई सम्मान गरेको थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा सहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न सहरमा जाने क्रममा रहेको बताए । उनले अब चाँडै अर्को ५/६ वटा सहरमा जान लागेको समेत जानकारी दिए । पठाओले मुलुकको कुल जीडीपीमा पनि राम्रो योगदान गरिरहेको उनले सुनाए ।

कम्पनीका अनुसार पठाओ चालकलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरी सम्मान गरिएको हो । साथै, राइडरका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै, केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कसपमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । क्याटागोरीअनुसार स्कुल फि स्पोन्सरसीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आबद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौं उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियतस्वरूप कम्पनीको तर्फबाट उपहार भएको थापाले जानकारी दिए । सँगसँगै वार्षिकोत्सवको अवसरमा सोमबारदेखि ‘पठाओ दसैं महोत्सव’ सुरू गर्ने घोषणा पनि गरिएको छ । यस महोत्सवअन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने भएको छ ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तीमा एक प्रतिशतसम्म हुन आउने बताइएको छ । यस्तै कम्पनीले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो(फुड डेलिभरी पर्सन)का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ समेत सुरू गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया