Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनापछि फस्टाएको पर्यटन र १० लाखको आशा

कोरोनापछि फस्टाएको पर्यटन र १० लाखको आशा


काठमाडौं । ओहो ! त्यो कोरोना महामारी काल सम्झिँदा कस्तो नरमाइलो लाग्छ । जोकोहीलाई ऊबेलाको त्यो कहाली लाग्दो अवस्था सम्हाल्न मन लाग्दैन । हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सरह वुहानबाट पैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिइएको) को महामारीले गर्दा सन् २०२०, २०२१ र २०२२ मा नेपाली पर्यटन मात्रै नभएर विश्व पर्यटनमै ठूलो धक्का लाग्यो । हुन त आज सम्झिँदा त्यस्तो समय पनि आएको थियो र भन्ने लाग्छ । तर त्यसको प्रत्यक्ष झुक्तभोगी र साक्षी त तपाईँ–हामी नै छौँ । अकस्मात् फैलिएको कोरोनाको (कोभिड–१९) को महामारीले विश्वव्यापीरूपमा डरलाग्दो अवस्थामा पुग्छ भन्ने कसैले पनि सोचेका थिएनन् होला । तापनि आखिर कसैले नसोचेको स्केलमा कोरोना महामारी फैलिएरै छाड्यो । कोरोना महामारी फैलिएको मात्रै होइन कि लगभग ७० लाख मानिसहरूको अकालमै मृत्यु भयो भने करोडौँ मानिसहरू कोरोना महामारीबाट पीडित भए ।

हुन पनि त्योबेला ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) ले विश्वलाई आजको स्थितिमा ल्याइपु-याउला भन्ने विश्वका कुनै पनि सरकार प्रमुख, राष्ट्र प्रमुखका साथै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख अनि विश्वका भाइरल रोग विज्ञहरू र वैज्ञानिकहरूले पनि सोचेका थिएनन् होला । त्यसो भएपछि उग्र राष्ट्रवादको कुरो गर्ने विभिन्न देशका सन्काहा शासकको त के कुरो गराई भयो र ? जस्तो कि त्यो बेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक उदाहरणका रूपमा लिन सकिन्छ । उनले त ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) लाई ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) नभनेर ‘चाइनिज भाइरस’ भन्ने गरेका थिए । त्यति मात्रै होइन, उनले उक्त ‘चाइनिज भाइरस’ सन् २०२२ को मार्च लाग्दा नलाग्दै हराएर जाने र अमेरिकीहरूले विनाकुनै बाधा–व्यधान र रोकावट ‘इस्टर पर्व’ आरामले बनाउन पाउने बताएका थिए । तर ट्रम्पले भनेझैं ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) तत्काल हटेर जानुको सट्टा झन्झन् फैलिँदै गएर विश्वव्यापी महामारीको रूप लियो । त्यति मात्रै नपुगेर स्वयम् ट्रम्पलाई पनि कोरोना भाइरसले छाडेन । सम्भवतः ‘(कोभिड–१९) महामारीले विश्वलाई आजको स्थितिमा ल्याइपु-याउला र अहिलेसम्म तन्केर जाला भन्ने कसैले पनि कल्पना गरेका थिएनन् होला । तर अहिलेसम्म (तीन वर्ष पूरा हुँदा पनि) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीबारे यसै हो भनी मुख खोलेर केही बोल्न सकेको छैन । त्यसैले अझै पनि हामीले यो समयलाई ‘कोरोना महामारी’ काल नै भन्नुपर्ने हो कि जस्तो लाग्छ । हुन त सन् २०२२ मा नै विश्वलाई ‘(कोभिड–१९) फ्रि’ भनी घोषणा गर्ने कि ? भनी एक पटक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बहस र छलफल पनि चलाएको हो । तर सो सम्बन्धमा तत्कालै निर्णय गर्न सकेन । त्योबेला विश्वका एकसेएक भाइरल रोग विज्ञ र वैज्ञानिकहरू बीच (कोभिड–१९) को महामारी कति लामो समयसम्म तन्किन्छ वा सधैं रहिरन्छ ? भन्ने सम्बन्धमा मतैक्य रहेको थिएन । कोहीकोही भाइरल रोग विज्ञ र वैज्ञानिकहरूले सन् २०२०/२१ मै ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) हराएर जाने बताउँथे भने कुनैकुनै भाइरल रोग विज्ञ र वैज्ञानिकले चाहिँ सन् २०२३/२४ सम्ममा ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) को असर रहने बताउँथे । त्यस्तै, थोरै भाइरल रोग विज्ञ र वैज्ञानिकहरूले चाहिँ अब ‘नोभेल कोरोना भाइरस’ अर्थात् (कोभिड–१९) विश्वबाट निमिट्यान्न भएर नजाने, त्यसैले यो भाइरससँग लड्ने क्षमता बढाउँदै र नयाँनयाँ तरिकाले बाँच्न सिक्नुपर्ने भनाइ राख्ने गर्थे । नभन्दै कोरोना भाइरसका सम्बन्धमा भाइरल रोग विज्ञ र वैज्ञानिकहरूले अब ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) विश्वबाट निमिट्यान्न भएर जाने कम मात्रै सम्भावना रहेकाले गर्दा हामी मानिसहरूले नोेभेल कोरोना भाइरससँग लड्ने क्षमता बढाउँदै जानुपर्ने र बाँच्ने तरिका पनि नयाँनयाँ अपनाउनुपर्ने भन्ने भनाइ राखेका थिए, छन् ।

हो, कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा विश्वव्यापी पर्यटन तथा नेपाली पर्यटनमा भएको ठूलो र अपूरणीय क्षतिका बारेमा केही जानकारी लिनेतर्फ । हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी वुहानबाट सुरु भएको ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९) ले जसरी विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा मुर्दा शान्तिको स्थित छायो । अर्थात् विश्व पर्यटनमा सोच्दै नसोचे स्तरमा ‘डाउन–फल’ भयो । तर, सन् २०२३ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको संकेत मिलेको छ । किनभने सन् २०२२ मा नौ सय मिलियन अर्थात् ९० करोड पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस्तै, सन् २०२१ मा ६६७ दशमलव ७३ मिलियन विभिन्न देशका पर्यटकले विश्व भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०२० मा चार सय १५ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । जबकि सन् २०१९ मा एक दशमलव पाँच बिलियन पर्यटक भ्रमण गर्न निक्लेका थिए ।

यता नेपालमा चाहिँ सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक संख्या नेपाल भ्रमण गर्न आएका थिए स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । नढाँटीकन भन्नुपर्दा सो संख्यालाई नेपाली पर्यटन व्यवसायीले अपेक्षा नै गरेका थिएनन् । जे भए पनि हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १० लाखको हाराहारीमा पु¥याउने लक्ष्य लिएका छौँ । तर हालसम्मको अवस्था हेर्दा १० लाख नपुग्ने देखिन्छ । कसरी बढाउने भन्ने विषयका साथसाथै उनीहरूको नेपाल बसाइँ अवधि र नेपाल बसाइको क्रममा गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार–मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

पछिल्लो पटक नेपाल भ्रमण गर्न आइरहेका विदेशी पर्यटकको संख्या हेर्दा ईस्वी संवत्को चालू आठ महिनामा विगतका वर्षमा भन्दा राम्रै रहेको देखिन्छ । हुन पनि सन् २०२३ को आठ महिनामा नेपालमा छ लाख एक हजार तीन सय ६० जना विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । त्यस्तै, विगतका तथ्यतथ्याङ्क हेर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अरू बेलाभन्दा केही बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । त्यसो भए पनि सन् २०२३ को बाँकी चार महिनामा बढीमा तीन लाख ८–१० हजारदेखि १५–२० हजार विदेशी पर्यटकले भ्रमण गर्ने अनुमान गर्न सकिन्छ । त्यसैले गर्दा यो वर्ष (सन् २०२३ मा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १० लाख पुग्ने वा १० लाख नाघ्ने सम्भावनाचाहिँ रहेन, छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया