Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगी-व्यवसायीले खोजे प्रतिपक्षको सहयोग

उद्योगी-व्यवसायीले खोजे प्रतिपक्षको सहयोग


काठमाडौं । देशको अर्थतन्त्र उकास्न सत्तारुढ गठबन्धनले ठोस पहल नगरेपछि उद्योगी/व्यवसायीहरूले प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ र सहयोग खोजेका छन् । अहिलेको गठबन्धन सरकारले २०७८ साल असार २८ गतेपछि निरन्तर सरकारको नेतृत्व गरे पनि अर्थतन्त्रमा कुनै सुधार गरेको छैन ।

२०७८ साल असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी गरेपछि असार २९ गते नै देउवा नेतृत्वमा सरकार गठन भएको थियो । त्यही बेला गठबन्धन सरकारले बिग्रिएको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाएको थियो ।

गठबन्धन सरकारले निर्वाचन गराएर नयाँ सरकार गठन गरे पनि अर्थतन्त्र झन्झन् शिथिल बन्दै गएको छ । अहिले अर्थतन्त्र बिगार्न सरकारले भन्दा पनि नेपाल राष्ट्र बैंकको भूमिका मुख्य रहेको जिकिर सरकारी पक्षले गरिरहेको छ । तर, अर्थतन्त्र बिगार्न वा सपार्न राष्ट्र बैंकको भन्दा अर्थ मन्त्रालयको मुख्य भूमिका हुन्छ । अहिले अर्थ मन्त्रालयको नेतृत्व कांग्रेसका नेता अर्थशास्त्री डा. प्रकाशशरण महतको जिम्मामा छ । तर, अर्थतन्त्र सुधारको कुनै संकेत छैन ।

सरकारले निर्माण व्यवसायीले गरिसकेको कामको रकम पनि भुक्तानी दिन सकेको छैन भने सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । महँगी बढेको छ भने विकास निर्माणको काम ठप्प छ । अहिले भन्सारको राजस्व पनि घटेको छ । यही अवस्था हो भने करले कर्मचारीलाई तलब/भत्ता तथा सामाजिक सुरक्षाको रकम दिनसक्ने अवस्था पनि छैन ।

गठबन्धन सरकारले गर्दा अर्थतन्त्रमा दिनदिनै समस्या थपिँदै गएपछि उद्योगी तथा व्यवसायीले प्रमुख प्रतिपक्ष गुहारेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योगी तथा व्यवसायीको प्रतिनिधिले अर्थतन्त्र सुधार्ने पहल गरिदिन एमालेसँग आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गत असारअगाडि नै निर्माण पूरा भएको कामको सरकारले भुक्तानी नदिँदा कामदारलाई चाडपर्व कसरी मनाउने भन्ने समस्या परेको भन्दै सहयोगको आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश उद्योगी व्यवसायीले यो तरिकाले अर्थतन्त्रमा सुधार आउनै नसक्ने जिकिर गरे ।

उद्योगी तथा व्यवसायीको कुरा सुनेपछि नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि आफ्नो दलले पहल गर्ने आश्वासन दिए । उनले सेयरबजार र अर्थतन्त्रमा देखिएका केही अप्ठ्यारा र जटिल विषयहरूका कारण निम्तिएका समस्याको समाधानका लागि आफूले छलफल थाल्ने बताए ।

अध्यक्ष ओलीले आफूले सरकार र राष्ट्र बैंकसँग पनि छलफल गरेर अहिलेको समस्या समाधान गर्नेतर्फ पहल गर्ने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र बिग्रनुमा प्रधानमन्त्री मुख्य दोषी रहेको जिकिर गरे । उनले प्रधानमन्त्रीले पटक–पटक सबैलाई समन्वय गरेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे पनि कुनै सुधार नआएको बताए ।

साथै उनले सरकारले भाटभटेनीले कमिसन नदिएको झोँकमा फाइल खोतली–खोतली मिनबहादुर गुरुङलाई कारबाही गरेको आरोप लगाएका छन् । सार्वजनिक जग्गा निजी बनाउनेलाई कारबाही गर्नुपर्नेमा उल्टै व्यवसायीलाई बलीको बाख्रो बनाइएको उनको भनाई थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया