Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न माग

विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न माग


काठमाडौं । विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न फर्निचर तथा फर्निसिङ उद्योगी व्यवसायीहरूले माग गरेका छन् । बुधबारदेखि सुरु भएको फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला फर्नेक्स नेपाल २०२३ को उद्घाटन कार्यक्रममा उनीहरूले नेपाली काठ कुहिएर जाने गरेको र आफूहरूले विदेशबाट आयात गर्नुपरेको गुनासो गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा वर्षेनि अर्बौँको काठ कुहिएर गइरहेको बताए । फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए । उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै उनले पछिल्ला दिनहरूमा अवलम्बन गरेका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे । उनले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मुकदर्शक भएर नबस्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफूखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको बताए । फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै उनले एकनासको व्यवहार गर्न आग्रह गरे । समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको उनको आरोप छ ।

निजी क्षेत्रको मनोबल बलियो बनाउँदै उद्योग व्यवसाय प्रवद्र्धनको काम गर्न उनले सरकारसँग आग्रह गरे । कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे । बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको भनाइ थियो ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताए । उनले वषौँ पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे । अर्थतन्त्र चलायमान बनाउन एक्स्पोको आयोजना गरिएको बताएका उनले राज्यले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै आर्थिक क्रियालाप विस्तार गर्नुपर्नेमा जोड दिए ।

एक्स्पोको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयार रहेको बताए ।

यसका लागि आफूले पहलकदमी लिने आश्वासन समेत दिए । यस्तै, उनले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका लागि सुखद् विषय नभएको उनको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरु भएको एक्स्पो पाँच दिनसम्म चल्नेछ । एक सयभन्दा बढी स्टलहरू रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री वितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको बताइएको छ ।

एक्स्पोमा सहभागी हुने व्यवसायीहरूले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ ।

फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त ब्रान्डहरूको सहभागिता रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया