Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम पुनः सुरु

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम पुनः सुरु


काठमाडौं, वैशाख २५
राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम पुनः सुरु भएको छ । चैत ११ गते लकडाउन भएसँगै रेलमार्ग निर्माणको काम बन्द हुनपुगेको थियो । रेल विभागका अनुसार वैशाखको पहिलो हप्तादेखि रेलमार्ग निर्माणको कामले पुनः निरन्तरता पाएको हो ।

विभागका महानिर्देशक बलराम मिश्रले सरकारले कोरोना भाइरस (कोभिड १९) कारण सामाजिक दूरी कायम गरी ठूला आयोजना निर्माणकार्य सुरु गर्न निर्देशन दिएसँगै विभाग तथा निर्माण कम्पनीहरुले पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम पुनः अघि बढाएको बताए ।

‘करिब ९ सय ४५ किलोमिटर लम्बाइ रहेको पूर्व–पश्चिम रेलमार्ग अर्थात् पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर)सम्म फैलिएका रेलमार्गमध्ये हाल बर्दिबास निजगढलगायतको क्षेत्रमा निर्माणकार्य अघि बढेको छ’, उनले भने, ‘सो क्षेत्रमा पर्ने १६ वटा पुल निर्माण तथा ट्र्याक निर्माणको काम भइरहेको छ ।’

उनले निर्माण सामग्री (गिट्टी, रोडाढुंगा, बालुवा तथा उपकरणहरु) पहिलेदेखि निर्माण क्षेत्रमा रहेको हुँदा काम सुचारु गर्न असहज नभएको बताए । ‘निर्माण सामग्री र उपकरणहरु पहिलेदेखि नै निर्माण क्षेत्रमा रहेको हुँदा आयोजनाको काम अघि बढाउन समस्या नभएको हो’, उनले भने, ‘यस्तै लालबन्दी निजगढ खण्डको ४० किमि लम्बाइमा पनि रेलमार्ग निर्माण कार्य अघि बढ्ने भएको छ ।’

विभागका अनुसार रेलमार्ग निर्माणको काम जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइएको जनाएको छ । विभागले निर्माण कम्पनीहरुसँग छलफल गरी पूर्व–पश्चिम रेलमार्गको काम अघि बढाएको बताएको छ । ‘यस्ता ठूला आयोजनामा काम गर्ने निर्माण कम्पनीसँग केही संख्यामा कामदार नियमित हुने हुँदा आयोजनाको काम अघि बढाउन सम्भव भएको हो’, महानिर्देशक मिश्रले भने, ‘यतिबेला उपलब्ध कामदार अर्थात् तीन चार सय कामदारहरु आयोजना क्षेत्रमा काम गरिरहेका छन् ।’

उनले कोरोना भाइरसको कारण आयोजना निर्माणमा सहभागी कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएको बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुरुप कामदारहरुको स्वास्थ्य चेकजाँच, माक्र्सलगायत आवश्यक वस्तुको उपलब्ध गराएका छौं’, उनले भने, ‘काम गर्दा पनि सामाजिक दूरी कायम गरी काम गर्नको लागि निर्देशन दिएका छौं ।’

आयोजनामा यसअघि करिब दुई हजारभन्दा बढी कामदारले काम गर्ने गर्थे । ‘लकडाउन अघि करिब दुई हजारको संख्यामा कामदारहरुले आयोजनामा काम गर्ने गरेकोमा हाल भने कामदारको संख्या कम रहेको छ’, उनले भने, ‘लकडाउन भएसँगै कामदारहरु घर फर्केको हुनाले कामदारको संख्यामा कमी आएको हो ।’

महानिर्देशक मिश्रले आगामी दिनमा सकेसम्म रेलमार्ग निर्माणको कामलाई भने निरन्तरता दिने बताए । हामी रेलमार्ग निर्माण कार्यलाई निरन्तरता दिने प्रयास गर्ने बताउँदै उनले यस बीचमा मुलुकमा थप समस्या सिर्जना भई यदि सरकारबाट निर्माण कार्य रोक्नको लागि निर्देशन आएको खण्डमा भने आयोजना निर्माणको काम अघि नबढ्ने बताए ।

लकडाउनअघि बर्दिबास लालबन्दी खण्डको ३० किलोमिटरमा ट्र्याक निर्माणकार्य भइरहेको थियो भने जसमध्ये २८ किमि सम्पन्न भइसकेको विभागले बताएको छ । निर्माण कम्पनीहरुले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई नौ खण्डमा विभाजन गरी काम गरिँदै आएको थियो । सरकारले सुरक्षित ढंगबाट ठूला आयोजनाको काम अघि बढाउन भनेसँगै विभिन्न आयोजनाहरु जस्तो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थल विस्तार, सडक सुधार तथा जलविद्युत् आयोजनाहरुको निर्माणकार्य समेत अघि बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x