सुस्वास्थ्यका लागि फिजियोथेरापी
काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, फिजियोथेरापी, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सरकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सवल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्ष मुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्ष मुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी आठ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीयस्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधी आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसै सिलसिलामा यस लेखमा फिजियोथेरापीको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सबै रोग औषधी खाएर मात्र राम्रोसँग ठीक नहुन सक्छ । कतिपय रोग औषधी नखाई व्यायाम वा अन्य विधिबाट आराम गराउन सकिन्छ । औषधीको प्रयोग विनाव्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार विधि नै फिजियोथेरापी हो । विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या, कुँजोपनले मानवलाई क्रियाशीलको दक्षता र प्रयासबाट विमुख गर्न सक्छ । त्यसकारण शरीरको शारीरिक गतिशीलतालाई कायम राखी गुणस्तरीय स्वास्थ राख्न फिजियोथेरापीको आवश्यकता हुन्छ । फिजियोथेरापिस्टले व्यापामका माध्यमबाट शरीरका मांसपेशीलाई सही अनुपातमा क्रियाशील गराई रोग तथा असरलाई निको पार्न मद्दत गर्छन् । सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगले रोयल इन्सटिच्युट अफ जिम्न्यास्ट खोलेर फिजियोथेरापीको सुरुवात गरेको पाइन्छ । सो संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा रोक्नका लागि मसाज÷मालिस, सुधारात्मक व्यायाम अनि कसरतको सुरुवात गरेको पाइन्छ । सन् १९९४ मा बेलायतमा चार्टर सोसाइटी अफ् फिजियोथेरापी खोलेको पाइन्छ भने फिजियोथेरापीको पहिलो कलेज अमेरिकाको वासिङ्टनमा वाल्टर रिड आर्मी अस्पतालमा भएको थियो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको थियो ।
नेपालमा फिजियोथेरापीको इतिहास हेर्दा नयाँ चिकित्सा पद्धतिको रूपमा केही दशक अगाडि मात्र थोरै निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ । विस्तारै हाल फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू तीव्ररूपमा बढिरहेका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू केही भारतबाट तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत फिजियोथेरापी गरिएको पाइन्छ । सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसीपछिको ३० महिने कोर्सको रूपमा मान्यता दिएको थियो ।
सन् २००२ पछि धुलिखेल मेडिकल इन्स्टिच्युटले फिजियोथेरापीलाई औपचारिक सुरुवात गरेको पाइन्छ । सशस्त्र द्वन्द्वपश्चात वि.सं. २०६३ पछि अङ्गभङ्ग र घाइतेको पूर्ववास र पुनर्स्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरेको पाइन्छ । हाल विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पस, सीटीईभीटीअन्तर्गतका तालिम केन्द्रहरूमा फिजियोथेरापी विषयहरूको अध्यापन सञ्चालन भई आवश्यक जनशक्तिको उत्पादन भई सेवा प्रदान भइरहेको पाइन्छ । जोर्नीहरूको पीडा र समस्यालाई केन्द्रमा राख्दै यस वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाइयो ।
वास्तविकरूपमा औषधीको प्रयोग गरी रोगको निधान गर्दा साइड इफेक्ट गर्ने हुन्छ । जसले गर्दा गुणस्तर स्वास्थ्यमा असर पर्दछ । फिजियोथेरापीमा औषधी प्रयोग हुँदैन साथै शरीरका अङ्गहरू मजबुत बनाउने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । फिजियोथेरापी हरेक उमेर समूहका मानिसलाई प्रभावकारी बनेको छ । फिजियोथेरापीबाट विभिन्न प्रकारका बिरामीहरू जस्तै; प्यारालाइसिस, बाथ, ढाड दुख्ने, मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका, श्वासप्रश्वासका समस्या, मांसपेशीको समस्या, आङ खस्ने, जन्मजात देखिएका समस्या, अपाङ्गतासम्बन्धी आदि बिरामीलाई उपचार गराउँदा प्रभावकारी हुने गरेको पाइन्छ । फिजियोथेरापीबाट मानसिक तथा शारीरिकरूपमा स्वस्थ हुने गर्छ । शारीरिक कसरत गर्दा मानसिक स्वास्थ्यमा समेत सुधार भई आत्मबल बढी दैनिकरूपमा फुर्तिलो भई गुणस्तरीय जीवनयापन गर्न मद्दत मिल्छ ।
अतः कुनै पनि व्यक्तिले आफ्नो शरीर स्वस्थ राख्नका लागि नियमित व्यायाम गर्न आवश्यक छ । व्यायामपछि स्वस्थ भोजन गर्नुपर्ने हुन्छ । अनावश्यक चिल्लो, पिरो, अमिलो तथा आफ्नो शरीरलाई अहित हुने खानेकुरा खानुहुँदैन ।
निष्कर्षमा मानवलाई स्वस्थ राख्नलाई फिजियोथेरापीको पनि महत्वपूर्ण भूमिका रहन्छ । हाल विशेष गरी सहरी क्षेत्रमा जथाभावीरूपमा फिजियोथेरापी केन्द्रहरू स्थापना भई फिजियोथेरापिस्टबाहेक अन्य व्यक्तिले पनि सो कार्य गराएको जनगुनासो छ । यसो गर्दा बिरामीको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । सोको आवश्यक व्यवस्थाको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले अनुगमन तथा निरीक्षण गरी मान्यता प्राप्त प्रशिक्षण केन्द्र तथा शिक्षण संस्थाबाट प्रशिक्षित फिजियोथेरापिस्टद्वारा मात्र फिजियोथेरापी लिने व्यवस्था मिलाई मानव स्वास्थ्यलाई गुणस्तर राख्नु आजको आवश्यकता हो । स्थानीय सरकारले पनि स्थानीय निकायअन्तर्गतका स्वास्थ्य संस्थामा पनि फिजियोथेरापी सेवा सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य राख्न मद्दत गर्न आवश्यक छ । लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया