Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रचण्डको असफल अमेरिका तथा चीन भ्रमण

प्रचण्डको असफल अमेरिका तथा चीन भ्रमण


काठमाडौ । बढो तामझामका साथ जम्बो भ्रमण टोली लिएर आफ्नै छोरी गंगालाई झण्डैझण्डै प्रथम महिलाको हैसियत दिएर निर्लज्जरूपमा प्रधानमन्त्री प्रचण्ड केही महिनाअघि भारत र यही महिनाभित्र संयुक्त राष्ट्र संघको महासभामा र एसिइन खेलकुद उद्घाटन समारोहमा भाग लिन मित्र राष्ट्र चीनको भ्रमणमा गए । यी सबै भ्रमणहरूको विश्लेषण गर्दा यी सबैखाले भ्रमणहरू पूर्णरूपमा असफल तथा नेपाल र नेपालीका लागि अपमानपूर्ण हुन गयो । सो भ्रमणले सबै नेपालीको शिर निहुरियो । प्रचण्डको यो प्रधानमन्त्रीकाल नेपाल र नेपालीका लागि अभिसापपूर्ण भइरहेको छ । त्यत्रो जम्बो टोली लिएर गएको भारत भ्रमणको सुरुमै मोदी सरकारले हिँजडाहरू नचाएर तथा भ्रमणमा मिनाक्षी लेखीजस्तो कनिष्ठ मन्त्रीलाई विमानस्थलमा स्वागत गर्न पठाएर प्रचण्डको अपमानको बहानामा नेपाल र नेपालको बेइज्जत गरे । तर प्रचण्डले सबै लाजशरम पचाएर मेरो संसारमै कसैले नपाएको स्वागत भारतमा पाएँ भन्ने डिढोस पिटी नेपाल र नेपालीको ठूलो अपमान गराए । नेपाल र भारतको संयुक्त वक्तव्यमा भारतले दश हजार मेगावाट बिजुली किन्ने सहमति भयो भनेर लेखे । त्यसलाई आफ्नो ठूलो उपलब्धि हो भनी प्रचण्डले नेपाल आएर प्रचारप्रसार आफ्ना दलाल मिडिया र कार्यकर्ताद्वारा गराए । तर वास्तविकता के हो भने एकल भारतसँग त्यस्तो ठूलो परिमाणमा बिजुली किन्ने हैसिएत पनि छैन र नेपालमा त्यस परिमाणको बिजुली उत्पादनको कुनै परियोजना पनि छैन । प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा एक शब्द पनि बोलेनन् । न उनले भारतले एकतर्फीरूपमा लागू गरेको अग्निवीर नामक सैनिक भर्ती योजनाले नेपालीहरूलाई भारतीय सेनामा भर्ना हुने प्रक्रियामा अवरोध पुगेको बारे नै कुरा गरे । उनले यो परियोजनाले नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौताको ठाडो उल्लङ्घन हो भनेर एक शब्द पनि उच्चारण गर्न सकेनन् ।

प्रचण्डले नेपाल–भारत संयुक्त ईपीजी समितिले तयार पारेको रिपोर्टलाई भारतीय सरकारले किन नबुझेको भनेर सोध्ने लाहास साहससम्म गर्न नसकी आफ्नो लाचारी प्रदर्शन गरे । आफ्नै पार्टी र विचारधाराले निषेध गरेको धर्मलाई केवल नरेन्द्र मोदीलाई खुसी पार्न गेरुवस्त्र र रुद्राक्ष धारणा गरी महाकालको दर्शन गरी भारतप्रति आफ्नो बाँदरभक्ति प्रदर्शन गरे । लाजै नमानी नेपाल र नेपालीका स्वाभिमानलाई बेवास्ता गर्दै केवल १५ मुर्रा राँगो उपहारको रूपमा नेपाल ल्याई आफ्नो जग हँसाए र नेपाललाई अपमानित गराए । प्रचण्डको यो भारत भ्रमण पूर्ण असफल भएको प्रमाण नेपालीले बुझे ।

यस भारतीय भ्रमणको केही हप्तापछि संयुक्त राष्ट्र संघको महासभा र चीनमा सञ्चालन हुने एसियन गेम्सको समारोहमा भाग लिन भनी आफ्नो छोरी गंगा दाहाललाई प्रथम महिलाकै हैसियत निर्लज्जताको पराकाष्ठा नाघी दिई उनको जम्बो टोली निस्कियो । नेपालबाट जाँदा त यी पाखण्डीले दौरा सुरुवाल र उनको छोरीले साडी चोली पहिरिएका थिए । तर अमेरिका पुग्दा प्रचण्ड आफू टाइसुटमा थिए भने छोरीचाहिँ कोट पेन्टमा थिइन् । यिनको यो लाजलाग्दो पहिरनले नेपाली राष्ट्रियताको अपमान भयो । यिनलाई अमेरिकाको विमानस्थलमा स्वागत गर्न अमेरिकी सरकारले स्वागत गर्न कोही पठाएन । यस्तो घटनाले नेपाल अपमानित भयो तर निर्लज्ज प्रचण्डलाई यसले छोएन । संयुक्त राष्ट्र संघको महासभामा चीनले नेपालमा वातावरणीय दुष्प्रभावले पारेको अपूरणीय क्षति विश्व समुदायले परिपूर्ति गर्नुपर्छ ।

यसलाई कम गर्न विश्व समुदायले आर्थिक सहयोग गर्नुपर्छ भनी एक शब्द पनि बोलेनन् । बरु ग्रस्तरूपमा अमेरिकी सरकारलाई एमसीसी त पास गराएँ अब एसपीपी पनि पास गर्छु भन्ने आश्वासन दिई नेपालको राष्ट्रियता र स्वाभिमानको खिल्ली उडाए । न यिनले कुनै व्यापारको बारेमा अमेरिका संघ बातचित गर्न कुनै विकास परियोजना बारेमा कुराकानी गरेनन् । प्रचण्डले त अमेरिकालाई आफू अमेरिकी दलाल भएको प्रमाणित गराए । यस्तो प्रचण्डको दुष्कर्मबाट नेपाल र नेपालीको राष्ट्रियता स्वाभिमान र पहिचानलाई धुजाधुजा बनाए । यी भ्रमण पूर्ण असफल भयो तर यी दलाल आफ्नो अमेरिका भ्रमण सफल भयो भनी सारा नेपालीलाई ढाँटी राष्ट्रघात गरिरहेका छन् ।

प्रचण्डको भारत तथा अमेरिकाको भ्रमणले पूरा माओवादी तथा कथित जनयुद्ध यसले उठाएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको मुद्दा र यी सबैलाई समेटर बनाइएको संविधान केही होइन केवल नेपाललाई ध्वस्त बनाई नेपालमा जातीय, धार्मिक क्षेत्रीय युद्ध गराई नेपालको सार्वभौमिक अखण्डतालाई नष्ट गरी नेपाललाई आधार बनाई मित्र राष्ट्र चीनबाट तिब्बतलाई अलग गरी चीनको विकास, समृद्धि र राष्ट्रियतालाई खण्डित गर्ने रणनीति मात्र हो भनी प्रमाणित गराए । आफू अमेरिका तथा भारतको एउटा मसिनरी मात्र हो र अझै पनि उनीहरूकै स्वार्थसिद्ध गर्ने अभियानमा छु भन्दै बाँदरभक्तिमा प्रमाण दिए । प्रचण्डको लागि त यो अमेरिका भ्रमण उपलब्धिपूर्ण भयो होला तर नेपाल र नेपालीका लागि अनुत्पादक, असफल र लज्जाजनक भयो ।

आफ्ना मालिकहरू भारत र अमेरिकासँग गुप्त मन्त्रणा अथवा नेपालमा चीनलाई कसरी निषेध गर्ने चीनद्वारा सम्पन्न गर्न लागेको परियोजनालाई कसरी पूर्ण हुन नदिने षड्यन्त्रपछि प्रचण्ड आफ्ना लावालस्करसहित चीनमा सञ्चालन भइरहेको एसियन गेम्सको उद्घाटनमा भाग लिन पुगे । तर त्यहाँ उनीसँग चीनका राष्ट्रपति सी जिनपीङसँग साधारण भेट त भयो । तर चीनले उनको भ्रमणलाई कुनै महत्व दिएन । केही दिनपछि उनले चीनको राजधानी बेइजिङ चीनद्वारा सञ्चालित र प्रस्तावित वेल्ट एण्ड रोड इनिसिएटिभको छत्रछायाभित्र निर्माण हुने भनिएको कुनै पनि परियोजना नेपालमा सम्पन्न हुन नदिने उद्देश्यका साथ चीन पुगेका थिए भने चीन आफूद्वारा प्रस्तावित वेल्ट एण्ड रोड इनिसिएटिभ ग्लोबल सेक्युरिटी इन्सिएटिभ ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ र ग्लोबल इनिसिएटिमजस्ता परियोजना र अवधारणालाई नेपालले अपनाओस् भन्ने चाहना राखेको थियो । तर नेपाल भने पोखरासहित केही परियोजनाहरूको लागि लिएको ऋण माफी चाहेको थियो । तर चीनले प्रचण्डको अमेरिकाद्वारा निर्देशित चालबाजी पुष्टि बुझेको थियो । भ्रमणको अन्तर्यमा संयुक्त वक्तव्य समेत जारी गर्न चीन नेपालले वेल्ट एण्ड रोज इनिसिएटिभ राख्न समेत नमानेकाले जारी गर्न सहमत भएको थिएन । पछि नेपालले धेरै अनुनय विनय र वेल्ट एण्ड रोड शब्द संयुक्त वक्तव्यमा राख्न सहमत भएपछि मात्र चीन र नेपालले संयुक्त वक्तव्य निकालेका थिए । यो भ्रमणबाट नेपालले कोही पनि हासिल गर्न नसकी पूर्णरूपमा असफल भयो । नेपाललाई केवल ठूलो धनराशिको घाटा यो भ्रमण खर्चबाट भयो । सबैभन्दा दुर्भाग्य त के हो भने प्रचण्डको भारत अमेरिकी दलालीले गर्दा आर्थिक र वैज्ञानिकरूपमा तीव्र गतिमा अघि बढी वैश्विक सुपरपावर भइसकेको मित्र राष्ट्र चीन नेपालसँग धेरै रिसायो र नेपाललाई कुनै पनि विकासका परियोजनाहरू दिएन । चीनलाई अप्रेसन बनाई नेपालको विकास र समृद्धिको यात्रामा पूर्णविराम लगाई नेपालविरुद्ध राष्ट्रघात गरे । प्रचण्डको भारत तथा अमेरिकी दलालीले गर्दा भएको हो । यस्तो, राष्ट्रघातीलाई सत्तामा एक मिनेट पनि बस्ने अधिकार छैन । त्यसैले यो वर्तमान नेपाल सरकारको गठबन्धनलाई सारा नेपालीहरूले एक जुट भएर सत्ताबाट फाल्नुपर्छ । यदि यसो गर्न सकेन भने नेपालको अस्तित्व नै नरहन सक्छ, सबैमा चेतना भया ।

(नोट : यो आलेखमा प्रयोग भएका शब्दहरू लेखकका नित्तान्त व्यक्तिगत रोजाइका हुन् । यी शब्दहरूप्रति आर्थिक दैनिकको संस्थागत धारणा जोडिएको छैन । यसबाट पर्न जाने असुविधाप्रति लेखक स्वयम् जिम्मेवार छन् ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया