कोरला नाका सञ्चालनको तयारी रहेको छ : मुख्यमन्त्री पाण्डे
म्याग्दी । मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ भौतिक संरचनाहरु निर्माण भइसकेको देखिएको तर मुस्ताङतर्फ सीमास्थलमै केही पनि निर्माण नभएकाले तत्काल भौतिक संरचना निर्माण गर्नुपर्ने बताए ।
कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको र यस विषयमा सङ्घ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल गरेको उनले बताए । उनले भने, “नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारीसाधन आवतजावत गर्नसक्ने बनाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको छ ।”
कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाकामा हरेक वर्षको दुई पटक हुने व्यापार मेला सञ्चालन हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा नेपालका १४ व्यापारिक नाका सञ्चालन गर्न तयार रहेको चिनियाँ पक्षले जानकारी गराएको थियो ।
मुख्यमन्त्री पाण्डेको कोरला नाका भ्रमण टोलीमा सहभागी मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पाण्डेले चिनियाँ पक्षले नाका खुलाउन तयार रहेको कूटनीतिक नोट पठाएपछि गृह मन्त्रालयमार्फत जानकारी आएको र नाका खुलाउन चिनियाँ अधिकारीसँग वार्ता गर्न लागिएको बताए ।
नाकाको ३० किलोमिटर क्षेत्रमा पर्ने ठाउँका बासिन्दालाई परिचयपत्रका आधारमा बाह्रै महिना नाकामा आवतजावत गर्ने व्यवस्था मिलाउने तयारी भएको छ । कोरला नाका सञ्चालन भएमा चिनियाँ सामान आयात र चीनमा सामान निर्यात गर्न सहज हुने तथा व्यापारिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।
मुख्यमन्त्री पाण्डेसहित सङ्घीय सांसद, प्रदेशसभा सदस्यलगायतले मुस्ताङ जिल्लाको सीमावर्ती क्षेत्रका १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग भेट गरेका थिए । कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिका क्रममा रहेको छ । सीमानाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो ।
प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्नसक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधि र स्थानीयबीच अन्तर्क्रिया भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया