Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटनको नौ महिनाः संख्या बढेको बढ्यै ?

पर्यटनको नौ महिनाः संख्या बढेको बढ्यै ?


काठमाडौं । नेपालमा यो वर्ष (सन् २०२३) को हालै आएको ताजा समाचारअनुसार सन् २०२३ को नौ महिनामा छ लाख ९२ हजार चानचुन विदेशी पर्यटकले भ्रमण गरेका छन् । सो तथ्याङ्कअनुसार जनवरी महिनामा ५५ हजार ७४ जना, फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना, मार्च महिनामा ९९ हजार चार सय २६ जना, अप्रिल महिनामा ९८ हजार सात सय ७३ जना र मे महिनामा ७७ हजार सात सय तीन जना, जुन महिनामा ७२ हजार दुई सय ५० जना, जुलाई महिनामा ५७ हजार दुई सय २६ जना, अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना र सेप्टेम्बर महिनामा ९१ हजार १२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका छन् । यसरी तथ्याङ्क हेर्दाखेरि अबको चालू वर्ष अर्थात् सन् २०२३ को बाँकी तीन महिनामा तीन लाख १० हजार चानचुन विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने सम्भावना कमै देखिन्छ । किनभने सन् २०२३ को बाँकी तीन महिनामा मासिकरूपमा एक लाख तीन हजारका दरले विदेशी पर्यटक नेपाल आउनपर्ने हुन्छ । तर त्यसका लागि सबैभन्दा खड्किएको विषय भनेको विभिन्न पर्यटकीय सम्भावना भएका देशहरूमा हवाई उडान पर्याप्त नहुनु नै हो । जे भए तापनि सन् २०२३ को नौ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या क्रमशः जनवरी महिनामा ५५ हजार ७४ जना । फेब्रुअरी महिनामा ७३ हजार दुई ५५ जना । मार्च महिनामा ९९ हजार चार सय २६ जना । अप्रिल महिनामा ९८ हजार सात सय ७३ जना । जुन महिनामा ७२ जना दुई ५० जना । जुलाई महिनामा ५७ हजार सात सय २६ जना । अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना र सेप्टेम्बर महिनामा ९१ हजार १२ जना रहेको छ । यसरी हेर्दा सन् २०२३ को नौ महिनामा जम्मा छ लाख ९२ हजार तीन सय ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । जुन संख्यालाई नराम्रो मान्नुहुँदैन । तर पनि नेपाल सरकार र सरकारी कर्मचारीहरूको भनाइ सुन्दाचाहिँ सन् २०२३ मा ‘जसरी भए पनि १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने’ हो कि ? भन्ने देखिन्छ ।

हुन पनि सन् २०२२ को नौ महिना र सन् २०२३ को नौ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलना गर्दा सन् २०२३ मा लगभग ५१ प्रतिशतले बढी संख्या रहेको छ । त्यसैले हालसम्मको सङ्ख्यालाई आधार मान्दा सन् २०२३ अर्थात् यो वर्ष विदेशी पर्यटकको संख्या कम्तीमा नौ लाख १५–२० हजारदेखि नौ लाख ५०–५५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । अथवा बढीमा १० लाखको छेऊछाऊ पुग्ला कि ? भन्ने आशा गर्न सकिन्छ ।

त्यस्तै, नेपाल सरकारको केन्द्रीय बैंक राष्ट्र बैँकले केही महिनाअघि निकालेको तथ्याङ्कअनुसार आर्थिक वर्षको ०७७/७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल छ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा मात्रै आम्दानी भएको थियो । यस्तो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिमताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएर बिस्तारै विश्वव्यापीरूप लिएको नोभल कोरोनाभाइरस (पछि कोभिड–१९ नाम दिइएको) संक्रामक भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको थियो । फलतः त्योबेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षितरूपमा धक्का खानुपरेको थियो । तर अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘कोरोना फ्रि’ भनी घोषणा गरिसकेको हुनाले आगामी दिनमा विश्व पर्यटन गतिविधिले तीव्रताका साथ ‘रात दुई गुणा र दिन चार चार गुणा’ उन्नति, प्रगति गर्ने छ भन्ने आशा गर्न सकिन्छ । हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिकरूपमा तथ्याङ्क राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यसयताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै गएको छ, जुन धेरै राम्रो हो । यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ सम्म आइपुग्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । जुन संख्या सन् २०१८ को तुलनामा दुई दशमलव एक प्रतिशतले बढी रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ जना, अघिल्लो वर्षको तुलनामा २४ दशमलव आठ प्रतिशतले नै बढी रहेको थियो । त्यस्तै, सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ जना, अघिल्लो वर्षको तुलनामा दुई दशमलव एक प्रतिशतले बढी र सन् २०१६ मा सात लाख २९ हजार पाँच सय ५० जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको रफ्तारलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा पुनः ते-याएर (त्यसअघि सन् १९९८ र सन् २०११ नेपाल भ्रमण वर्ष मनाइसकेको थियोे) मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट अकस्मात्रूपमा फैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिईएको)’ को स्वरूप परिवर्तन भएर महामारीको रूप लिएको हुनाले सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरी सकेको, सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेर उद्घाटन समेत भइसकेको भए पनि रातारात स्थगित गर्नुपरेको थियो । हुन त ऊ बेलामै विश्वको पर्यटन र पर्यटन उद्योगका सम्बन्धमा विज्ञता हासिल गरेका विज्ञ महानुभावले विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२५/२६ सम्म लाग्ने अनुमान गरेका थिए ।

 


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया