Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट


काठमाडौं । काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वयटमा आज(शुक्रबार)देखि दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको छ । फेस्टको उद्घाटनसत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति थियो । यस्तै, कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह–सचिव विरेन्द्र मिश्र, स्क्वाइड अफ चेन्ज मेकर्सका सह–संस्थापक शुशील भट्टराई, आईसिटी विज्ञ हेमपाल श्रेष्ठलगायत स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्नेहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवद्र्धन र प्रोत्साहन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको बताए भने विज्ञान तथा प्रविधि सचिव बज्राचार्यले युवाहरूको स्टार्टअप तथा आईडियालाई प्रवद्र्धन गर्न फेस्ट महत्त्वपूर्ण प्लेटफर्म भएको बताइन् । सचिव बज्राचार्यले भनिन्, ‘देशभित्रै केही गर्न चाहने युवाका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट राम्रो प्लेटफर्म भएकाले सबैले फेस्ट अवलोकन गरेर देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरूको उत्साह बढाउन आग्रह गर्दछु ।’

कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्ने युवाहरूको उत्साहजनक सहभागीता रहेको छ । शुक्रबार र शनिबार सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।

आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ । यसबाहेक कार्यक्रममा स्याटेलाईट वर्कशप, एस्ट्रोनिमो वर्कशप, एभिसयन वर्कशप र रकेट साइन्स वर्कशप समेत सञ्चालन भइरहेको छ ।

फेस्टमा सातै प्रदेशका ३० भन्दा बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुकाले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गरेका छन । स्क्वाइड अफ चेन्जमेकरको रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखिएको छ ।

अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप र प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनलाई भोट पनि गर्न सक्नेछन् । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा पाँच सयभन्दा बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।

यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ । आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुनेछ । स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया