विदेशमा बिचल्लित नेपाली र सरकारको गैरजिम्मेवारीपन
लक्ष्मण सिटौला
मैले प्रेम गरेको माटो पुर्खाको पसिनाले भिजेको माटो
म जन्मिदा मेरी आमाले मेरो सालनाल गाडेको माटो
म हुर्किन मलाई उभ्याउन मलाई सामर्थ्य बनाउने माटो
म नेपालको हुँ भन्ने मेरो प्रमाणको सिरानी हो यो माटो
मैले पहिलो आँखा खोलेको पहिलो शब्द बोलेको माटो
म जे हुँ त यही हुँ माटोकै कारण हुँ, मेरो परिचय हो माटो
म मेरो देश मेरा बन्धुबान्धव मेरो श्री मेरो औकात माटो
म नेपालको हुँ भन्ने मेरो प्रमाणको सिरानी हो यो माटो
मैले जिन्दगी पाएदेखि निरन्तर देखिरहेको यही हो माटो
म पुज्य अपूज्य अमृत वा मृत मेरो सबथोक हो यो माटो
म भनेर बाँच्यो म भनेर हाँस्योमै भनेर रोयो कठै यो माटो
म नेपालको हुँ भन्ने मेरो प्रमाणको सिरानी हो यो माटो
मैले कि पहिले आमा देखेँ कि पहिले देखेँ जन्मेको माटो
म सुरक्षित छु भन्ने अभिबोध मेरो घाउको मल्हम हो माटो
म अरुबाट तिरस्कृत भए नि मेरो देश छ मेरो साथ छ माटो
म नेपालको हुँ भन्ने मेरो प्रमाणको सिरानी हो यो माटो
कविता त भावनाको भुल्का हो तर यही भुल्काले अमर तुल्याउन सक्छ मान्छेलाई । परिवर्तन भावनाको भुल्काले पनि बोलेको हुन्छ । परिवर्तन आदर्श राजनीतिक सिद्धान्तले पनि बोलेको हुन्छ । परिवर्तन प्रत्येक नागरिकको हसिलो मुहारमा पनि बिम्बित भएको हुन्छ र हुनुपर्छ यदि भएन हुन सकेन भने त्यहाँ केही तिक्तता छ भनेर बुझ्नुपर्ने हुन्छ । देश दुखेको बेलामा एउटा नागरिकको मुहारमा खुसी झल्किदैन । देश रोएको बेलामा एउटा नागरिकको ओठ मुस्कुराएको हुँदैन । देश समस्यामा परेको बेलामा एउटा नागरिकले मनोरञ्जन गरिरहेको हुँदैन । देश जुन अवस्थाबाट गुज्रिरहेको हुन्छ एउटा नागरिक पनि त्यस्तै हालमा उनिएको र बुनिएको हुन्छ ।
देश समस्याको आहालमा डुबिरहेको बेला कुन नागरिक आनन्दको पोखरीमा नुहाइरहन सक्छर ? आज देश संकटमा छ र हामी प्रत्येक नेपाली पनि संकटमा छौँ । देश रुदा बिरलै हाँस्छन् त्यहाका जनता । आज संसारको माटो रोएको छ । आज विश्व कोरोनाले आतङ्कित छ र यो अभेद अन्धकारको छिटाले हामी नेपाली पनि दुखित छौँ । नेपालीहरू विदेशमा पनि छन् । रोजिरोटिका लागि विदेश गएका नेपालीहरू कोरोनाका कारण मरिरहेका छन् । तिनका श्रमले भिजेको यो माटो आज तिनैलाई सम्झिएर रोइरहे छ । बेलायत युरोप र अमेरिकामा रहनुहुने केही नेपालीले आफ्नो ज्यान गुमाउनु परेकोमा आज नेपालको माटो द्रवीभूत भएकी छिन् तिनै सन्ततीका सम्झनामा नेपाल आमाको मुहार अँध्यारो भएको छ ।
विदेशमा खास गरेर खाडी मुलुक साउदी अरब, कतार, दोहा, दुवइ, मस्कट, यमन, अफगान अनि मलेसियामा रहेका हजारौं नेपाली दाजुभाइ दिदिबहिनी यतिबेला कोरोना व्याधीका कारण संकटमा छन् । उनीहरू काम गर्ने कम्पनी प्रायः बन्द भएको अवस्था छ । उहाँहरूको रोजगार गुमिसकेको छ र रोजगार कम्पनीले अब आफ्नो देश फर्क भनिसकेको छ । त्याहा बस्नुहुने प्रायः नेपालीहरू अवैध भैसकेको अवस्था छ । उनीहरू आफ्नो देश नेपाल फर्कन चाहन्छन् । यतिबेला नेपाल सरकारले ती बिचल्लीमा परेका तमाम नेपालीहरूको बिन्तीपुकारा सुनिदिनुपर्छ र उहाँहरूलाई आफ्नो देश आफ्नो माटोमा फर्किनका लागि बन्दोबस्ती मिलाउन सक्नुपर्छ । तवन सरकारको सफलता सम्झिन सकिन्छ ।
नागरिकले विदेशमा भोगेको पीडा यति भयातुर छ कि उनीहरूले हरेकपल यतिबेला आफ्नो माटो सम्झिरहेका छन् । नेपाल घुम्न आएका प्रायः सबै देशले आआफ्ना नागरिकहरूलाई हवाई चार्टर गरेर आफ्नो देश फर्कायो । श्रीलंका समेतले आफ्नो नागरिकलाई आफ्नो देश लिएर गयो । हामीले अरु कुरात परै छोडौ भारतीय सिमानामा रहेका नेपाली समेतलाई अपमानपूर्ण व्यवहार देखायौँ । हो रोग लाग्छ । सबै देश आज कोरोनाबाट भयभित छन् । यस्तो अवस्थामा आफ्नो देशको जनतालाई हतोत्साहित तुल्याउने कि माया गर्ने ? हो सरकारसँग पनि चुनौतीको पहाड छ तर समस्या छ भन्दैमा समस्याबाट भाग्नेकी समस्याको समाधान खोज्ने ?
कतारमा काम गर्ने नेपालीले भनिरहेछन् हामीलाई देश फर्काऊ । मलेसियामा काम गर्ने नेपालीले भनिरहेछन् हामीलाई आफ्नै मुलुकमा लैजाऊ । दुवई यमन मस्कट अरबका नेपाली श्रमिकहरूले भनिरहेका छन् हामी संकटमा छौँ हामीलाई नेपाल फर्कने वातावरण मिलाइदेऊ । तर, उनीहरूको आवाज आजसम्म सुनिएको छैन । तत्तत् देशको राजदूतमार्फत हामीले सबै कुरा मिलाइसकेको छौँ भन्छ नेपाल सरकार तर समस्या जहाँको तहीँ छ । नेपालीहरूको यो कन्तबिजोग कसरी हेर्न सकिरहेको छ यो सरकारले बुझ्न गाह्रो छ । अहिले हरेक दिन भारतीय सिमाबाट अवैध बाटो भएर हजारौं नेपाली नेपाल प्रवेश गरिरहेको अवस्था छ । अझ यो पनि सुन्नमा आएको छ कि एक जना नेपाली बराबर दुई हजार रुपैयाँ बोर्डरमा बसेका नेपाल प्रहरीलाई दियो भने बेलुकी बेलुकी सबैलाई नेपाल पस्न दिइएको छ । रोग त यसै नि भित्रीरहेकै छनि बरु यसलाई वैधानिक गरेर १५ दिनसम्म तोकिएको निश्चित क्वरेन्टाइनमा राखी उनीहरूलाई बल्ल घरमा जान दिने वातावरण मिलाउदा राम्रो हुन्थ्यो ।
त्यस्तै विदेशमा रहेका नेपालीलाई नेपाल वायुसेवा निगमको जाहाजमार्फत स्वदेशमा ल्याउने वातावरण मिलाउन सरकारलाई अनुरोध आइरहेको छ तर सरकार भने आफ्नै पार्टीको झैझगडा मिलाउन व्यस्त देखिन्छ । कतिपय हस्पिटलहरूमा द्रुतरूपमा चेक गर्ने कोरोना किटको अभाव हुन थाल सकेको छ । सरकार संवेदनशील देखिन्न । सरकार पार्टी र पद बाँडफाडमा अलमलिएको देखिन्छ । सरकार आफैँले देखिरहेको छ कि सबै मुलुकले नेपाल घुम्न आएका आ–आफ्ना नागरिकलाई जाहाज नै चार्टर गरेर लिएर गएको तर हाम्रा श्रमजीवी नेपाली कति अभागी होलान् विपतको घडिमा समेत राज्यले आफूप्रति बेवास्ता गरिरहेको छ । जब कि यो देशको समृद्धिका लागि र रेमिटान्स भित्र्याउनका लागि कसरी उनीहरूले योगदान दिए यो देशलाई र तिनैले पठाएको रेमिटान्समा कर लगाएर भोज खाने अनि तिनैलाई आपत्तिमा बिर्सिदिने यो कतिसम्मको निर्लज्ज पन हो सरकारको । यो देशको माटो तातो बालुवामा श्रम पोखेर रेमिट्यान्स जम्मा गरेर पठाउने श्रमिकको आसुले भिजेको छ ।
नेता त जुँघामा ताउ लाएर भुँडी पसारेर घुस खाने र भ्रष्टाचारको आगो तापेर बसिरहेको छ । सरकारले विदेशमा बिचल्लीमा परेका सबै नेपाल आमाका सुपुत्रहरूलाई उद्दार गरेर नेपाल ल्याउनुको विकल्प छैन । उनीहरूलाई विदेशमै अलपत्र छोडनु देशकै इज्जतमा दाग लगाउनु हो ।
नेपालमा कोरोना फैलिन्छ भनेर हजारौं नेपालीलाई विदेशमै अलपत्र छोडनु मानव अधिकारका हिसाबले समेत अमान्य हुने क्रियाकलाप हो । उनीहरूलाई विस्तार मुलुकमा ल्याएर निश्चित स्थानमा निश्चित अवधीभर क्वारेन्टाइनमा राखेर कोरोनामुक्त घोषणा गरेपछि मात्रै आ–आफ्नो घरमा जानदिने वातावरण मिलाउनु आजको आवश्यकता हो ।
कोरोना कहर कति समयसम्म लम्बिने हो यस्को कुनै टुंगो नभएकोले पनि आफ्ना देशका जनतालाई आफ्नै मुलुक फर्काउनु राज्यको वा सरकारको महत्वपूर्ण दायित्व हो । सरकारलाई प्रतिपक्षी पार्टीहरूले पनि यो विषयमा खास दबाब दिन पनि सकिरहेका छैनन् । विदेशमा सबै उद्योग कलकारखाना बन्द हुँदै गएका छन् । उद्योग बन्द हुँदै जाँदा श्रमजीवी नेपालीहरू कामबाट निकालिदै गएका छन् । यतिबेला कम्पनीहरूसँग भएको कुनै पनि श्रम सम्झौताले काम गर्दैन । अहिले संसारभर विशेष परिस्थिति सिर्जना भएको अवस्था पनि हो । सबै मुलुकको हालत उस्तै हो । सबै देशका जनता त्राहिमाम छन् । सबै देशले खाने अन्न नै हो ढुगांमाटो पक्कै होइन । सबै देशको सरकारले भनिरहेको छ कि आफ्ना देशका जनतालाई फिर्ता लिएर जानू तर हाम्रो सरकारले फिर्ता ल्याउन सकिरहेको छैन ।
हामीसँग जहाज छ । प्रविधि छ । हामी उनीहरूलाई भित्र्याउन योग्य पनि छौँ । उनीहरू स्वयंले फिर्ता आउनका लागि प्लेन खर्च आफैंले व्यहोर्ने कुरा पनि गरिरहेका छन् र लकडाउनको नियम पनि पालना गर्छु भनिरहेका छन् । तर सरकार भने डराइरहेको अवस्था छ र ऊ भनिरहेको छ सबै नेपालीलाई स्वदेश फर्काउन सम्भावना छैन अहिले जो जहाँ छन् त्यो त्यहीँ बस्ने हो रे । जो अर्काको भूमिमा छ उसलाई तिमी त्यही बस भनेर कसरी भन्न सकिन्छ जब कि अब तिमीहरू बिस्तारै आफ्नो देश फर्क भनेर ती देशका सरकारहरूले भनिसके । अहिले मौका मिल्यो भने दश देखि पन्ध्र लाख नेपाली नेपाल फर्किने तयारीमा छन् । उनीहरू यहाँ आएर बेरोजगारी बढ्छ वा रोग फैलिन्छ भन्नु गैरजिम्मेवारीपन हो । आफ्नो सन्तान जति धेरै भए पनि मायामा कमी आउने त पक्कै होइन होला । रोगको डरमा आफन्तविहीन पराइ भूमिमा माटो खोजेर बाँचिरहेका नेपालीहरूको समस्याप्रति एकचोटी सरकार गम्भीर हुनैपर्ने समय आएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया