Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्थतन्त्र सुधारका लागि ढिलो नगर्न आग्रह

अर्थतन्त्र सुधारका लागि ढिलो नगर्न आग्रह


काठमाडौं  । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् । केही समयअगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरे ।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा एवम् दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार एवम् नियामक निकायलाई अनुरोध गरे । गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । ‘हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधारभन्दा राजनीतिक मुद्दाहरूमा नै ध्यान केन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठेरो अवस्थामा पुग्ने निश्चित छ’, उनले भने, ‘त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसबेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।’

यस्तै, उनले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी मोडलमा उद्योग परिसंघलाई निर्माण तथा सञ्चालन गर्न दिन पनि आग्रह गरे । यससम्बन्धी आशय यसअघि नै परिसंघले संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइसकेको उनले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्नेभन्दै निर्माण एवम् सञ्चालनका लागि संघीय सरकारलाई सिफारिस गरेको बताए । यस्तै, उनले आगामी कात्तिकमा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालाहरूसँग बृहत् छलफल गर्ने जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया