Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, सहभागिता उत्साहजनक

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, सहभागिता उत्साहजनक


काठमाडौं । काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायतका स्टार्टअप इन्नोभेसन र आईडिया राखिएको थियो ।

देशैभरका नयाँ नयाँ स्टार्टअप, इन्नोभेसन हेर्न १२ हजारभन्दा बढीको सहभागिता रहेको थियो । आईसीटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए ।

फेस्टमा सातै प्रदेशका ३० भन्दा बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो । अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागीताको सम्मानपत्र समेत वितरण गरिएको थियो । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा पाँच सय बढीको नोमिनेसन प्राप्त भएको थियो ।

हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनोट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया