Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’

‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’


जनकपुरधाम । धनुषा जनकपुर उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको ‘जनकपुर विग मार्ट’मा गएराति भषिण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठीन भएको थियो ।

राससका अनुसार मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले रु. १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनी मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए ।

‘क्षणभरमै जल्यो सम्पत्ति’ सर्लाहीको मलङ्गवा नगरपालिका—११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न थिए । सुरुमा उनले काठमाडौँमा ‘डोर टु डो’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरे र पछि अरुकै पसलमा बजार व्यवस्थाकका रुपमा काम गरे ।

सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिरेका रायले केही समय अरुको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गरेका हुन् । “म शून्य लगानीबाट उठेको मान्छे हुँ । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ”, भावविह्वल हुँदै रायले भने, “तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।”

व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौधबाट व्यापार गरे । तर विसं २०७२ को गोर्खाभूकम्पपछि व्यापारमा मन्दि भएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गरे । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोर समेत रहेको घरमा लगानी गर ।

“म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरु सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो”, रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरु सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु. तीन करोड ६५ लाख ऋण (लोन) लिएको बताए ।

‘पीडामाथि पीडा’ रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनकी श्रीमती थिइन् । उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहेका थिए । “घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो”, रायले आफ्नो पीडा सुनाए ।

जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोगेका उनी दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा थिए । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए ।

“समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए”, गम्छाले टिलपिलाएका आँसु पुच्दै रायले भने, “भगवान १ पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।”

सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बीमाबाहेक सामानको बीमासमेत गरेको छैन ।

“जायजेथा बेँचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित ग¥यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास् नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने १” रायले निराशा पोखे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया