Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५५ हजार बढीको कोरोना परीक्षण, १०९ जना कोरोनाबाट सङ्क्रमित

५५ हजार बढीको कोरोना परीक्षण, १०९ जना कोरोनाबाट सङ्क्रमित


काठमाडौं, वैशाख २८
नेपाल सरकारले शनिबारसम्म ५५ हजार ९ सय ३० जनाको कोभिड–१९ को आरडीटी (द्रुत परीक्षण) गरेको छ । पीसीआरबाट १६ हजार तीन सय नौ जनाको परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ७ सय ४२ जनाको आरडीटी परीक्षण गरिएको छ । प्रदेश नं १ मा सात हजार ५५, प्रदेश नं २ मा पाँच हजार ८ सय ९०, वाग्मती प्रदेशमा नौ हजार १ सय ५, गण्डकी प्रदेशमा छ हजार ३ सय ७७, प्रदेश नं ५ मा छ हजार ६ सय ३८, कर्णाली प्रदेशमा छ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा कुल १४ हजार ६ सय ९१ को परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल कुल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४८६, प्रदेश नं २ मा एक हजार ३ सय ५५, वाग्मती प्रदेशमा २ सय ९४, गण्डकी प्रदेशमा ४ सय ६३, प्रदेश नं ५ मा पाँच हजार २ सय २८, कर्णाली प्रदेशमा दुई हजार ४ सय ५५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३ सय ५१ क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै आइसोलेसनमा १ सय ४३ रहेका छन् । त्यसमा काठमाडौँ उपत्यकामा दुई र उपत्यकाबाहिर १ सय ४१ रहेका छन् । हालसम्म मोबाइल एप र बेव पेजमार्फत गुनासो गर्नेको सङ्ख्या ३४ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ सय ५४ गुनासो आएकामा त्यसलाई सम्बोधन गरिएको छ । तीमध्ये चार जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको सङ्ख्या ३ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कुल ५० हजार पीसीआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो । द्रुत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पीसीआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ ।सरकारले प्रदेश नं. २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४ सय पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश नं ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् । देशभर कूल १०९ जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७८ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३१ रहेका छन् ।

शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ । मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।

थप सामाजिक दूरी कायम गर्न आग्रह : सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवासमेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमालगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ । यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग गर्न उनले आग्रह गरेका छन् । “सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा देवकोटाले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x