Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्वभर ७८ नेपालीको मृत्यु, साँढे पाँच हजार जनामा कोरोना संक्रमण

विश्वभर ७८ नेपालीको मृत्यु, साँढे पाँच हजार जनामा कोरोना संक्रमण


काठमाडौं, वैशाख २९
महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ७८ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ७८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको संख्या सबैभन्दा बढी बेलायतमा रहेको छ । बेलायतमा ५१ जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई)मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्विडेनमा १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । कोरोना भाइरसका कारणले यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्यामा बेलायतमा २, स्विडेनमा १, बहराइनमा १, युएईमा १ थपिएका छन् ।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल ११०, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्विट्जरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साइप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङकङमा २, म्यान्मारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता फिनल्याण्ड र स्विडेन (१ मृत्यु) मा नेपालीहरुमा नयाँ संक्रमण देखिएको हो ।

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (सहर) मा १ हजार ६ सयभन्दा बढी स्वयंसेवकहरु राहत वितरणमा सक्रिय छन् । ३५ हजारभन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, मास्क, सेनिटाइजर, औषधि आदि) प्राप्त गरेको संघले जनाएको छ ।

एनआरएनएले विभिन्न देशमा सञ्चालित चौबीसै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीहरुले वन टु वट परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानुन, रोजगार, नेपाल फर्किने आदि) लिएको जनाएको छ । यसअघि संघले चीनबाट कोरोना भाइरसको संक्रमण सुरु भएलगत्तै संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधिलाई तीव्र बनाएको थियो ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ÷संस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x