Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी


काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका चारवटा जहाजको असोज मसान्तसम्मको ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । सो ऋणको दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजकोे आंशिक गरी मंगलबार ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमका अनुसार नगद प्रवाहमा सुधार भएपछि प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिकरूपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट नियमित भुक्तानी गरीएको छ । यसका साथै तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

निगमले नयाँ तीनवटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने बताइएको छ । यसबाट पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले भाडादरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमका सबै जहाज सञ्चालनमा
यस्तै निगमले आफ्ना सबै जहाज सञ्चालनमा रहेको जनाएको छ । गत केही दिनदेखि निगमका जहाजहरूमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउन्डेड भई उडान प्रभावित भएको थियो । ग्राउन्डेड जहाजहरूको आवश्यक मर्मत गरी असोज २९ गतेदेखि सबै नियमित उडानमा रहेका छन् । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमको विश्वास छ ।

अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्नगएको असुविधाप्रति निगमले क्षमा मागेको छ । आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजाने निगमको प्रतिबद्धता समेत जनाएको छ । साथै, यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरूलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिएका छन् । उक्त जहाज ग्राउन्डेड हुनुका कारणहरूबारे स्पष्ट पार्न र कतै–कसैको कमी कमजोरी भएमा कडा कारबाही समेत हुने उनले निर्देशन दिएको निगमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया