Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ


म्याग्दी । पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।

सय मिटर लामो केबल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो पुुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारीसाधन आवतजावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए । ‘पाँच वर्षअघि नै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ’, उनले भने, ‘स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।’

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो–कुञ्जोसहित जिल्लामा सञ्चालित ७५ करोड ५१ लाख लागतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् । घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुल बनाउन २०७६ फागुुन २९ गते देव एन्ड सायर कन्स्ट्रक्सनसँग सात करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ । देव एन्ड सायर कन्स्ट्रक्सनले २०७६ फागुन २९ गते नै पाँच करोड पाँच लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । विसं २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया