Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिता मंसिरमा हुने

२०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिता मंसिरमा हुने


काठमाडौं । नेपाल हस्तकला महासंघले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले आगामी मंसिर ७ देखि ११ गतेसम्म राजधानीमा मेला आयोजना गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

महासंघका अनुसार मेलामा हस्तकलाका वस्तुहरूको करिब एक सय ५० वटा स्टल रहनेछन् । मेलामा रहने स्टलमध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेश आदि देशका व्यापारीहरूको समेत सहभागिता रहनेछ भने व्यापार मेलामा महासंघका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ । मेलामा विभिन्न स्टलमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । त्यसैगरी मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निःशुल्क स्टल प्रदान गरिनेछ ।

उक्त मेलाको प्रमुख आकर्षणको रूपमा रहेको १८औं संस्करणको हस्तकला प्रतियोगिताअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रत्यक्षरूपमा जीवन्त प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । सो प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । साथै यस प्रतियोगितामा उत्कृष्ट तीन जना कलाकारलाई नगद पुरस्कार प्रदान गरिनेछ । महासंघका अनुसार प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रूपैयाँ रहेको छ । साथै प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०७९÷८० को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तारमा विशेष योगदान पु¥याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिनेछ । यसैगरी महासंघका एक उत्कृष्ट उद्यमी र एक उत्कृष्ट कलाकारलाई पनि मेलाको अवसरमा सम्मान प्रदान गरिनेछ ।

यस्तै मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ कलाकारलाई सम्मान गर्ने रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सगुन दिई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गरिनेछ । मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट ‘कला प्रदर्शनी २०८०’ आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्तनिर्मित विविध कलाकृतिहरू प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरूबीचमा परिचित गराउने उद्देश्य लिएको छ भने सो प्रदर्शनीमा राख्ने कलाकृतिहरूको प्रचारप्रसार गर्न कलाकारहरूको विवरणसहितको पुस्तिका पनि सो समितिबाट प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

मेलाले हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने, आयात र निर्यातबीचको दूरी घटाई व्यापारघाटा न्यूनीकरण गर्न सहयोग पु-याउने आयोजकको अपेक्षा छ । मेलाको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्रीबाट गरिने महासंघले जनाएको छ । मेला अवलोकनका लागि मन्त्रीहरू, उच्चपदस्थ अधिकृत, नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण गरिने भएको छ । मेला सञ्चालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको विभिन्न छाता संगठनहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने महासंघले जनाएको छ । महासंघले आफ्नो वार्षिक कार्यक्रमको रूपमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरू करिब १२ अर्ब मूल्यबराबरको विश्वका ६० भन्दा बढी देशहरूमा निकासी भइरहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई वार्षिक २४ अर्ब रूपैयाँको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिँदै आएको महासंघको भनाइ छ । त्यसैगरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेका छन् । देशको व्यापारघाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापारघाटा न्यूनीकरण गर्न हस्तकलाजस्ता निर्यातमूलक उद्योगको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने महासंघको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया