Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाडपर्वले बढायो आयात

चाडपर्वले बढायो आयात


काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो महिनामा आयात केही बढेको छ । आर्थिक वर्षको तेस्रो महिनासम्म मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ६९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो ।

चाडबाडका लागि उपभोग्य वस्तुको माग बढेपछि आयात व्यापारमा वृद्धि भएको हो । नेपाली बजारमा अधिकांश वस्तुको आपूर्ति आयातबाट हुन्छ, जसले गर्दा चाडबाडको समयमा उपभोग्य वस्तुको माग बढ्दा आयात पनि बढछ । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा आयात कम भए पनि तेस्रो महिनामा बढेको छ ।

नेपालमा चाडपर्वलक्षित सामग्रीको आपूर्ति बढ्दा विगतका वर्षमा भदौदेखि नै आयात बढ्ने गरेको थियो । तर, यसवर्ष चाडपर्व केही ढिलो सुरु हुँदा असोज सुरु भएपछि मात्रै आयात बढेको छ ।

साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात भएकोमा भदौमा एक खर्ब ३० अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै असोजमा एक खर्ब ४८ अर्ब रुपैयाँको आयात भएको छ । त्यसमध्ये सबैभन्दा धेरै आयात पेट्रोलिम, फलाम, मोबाइल, सुन, भटमासलगायतका सामग्रीको भएको छ । असोजसम्म २९ अर्ब ९२ करोड रुपैयाँको डिजेल, १७ अर्ब १० करोड रुपैयाँको पेट्रोल, ११ अर्ब ६२ करोड रुपैयाँको एलपीजी ग्यास, नौ अर्ब ७६ करोड रुपैयाँको फलामजन्य पदार्थ, नौ अर्ब ४३ करोड रुपैयाँको मोबाइल, सात अर्ब ३५ करोड रुपैयाँको सुन र चार अर्ब ७० करोड रुपैयाँको हवाई इन्धन आयात गरिएको छ । त्यस्तै, चार अर्ब ४८ करोड रुपैयाँको कच्चा सूर्यमुखी तेल, चार अर्ब ४३ करोड रुपैयाँको भटमास र चार अर्ब ३७ करोड रुपैयाँको युरिया आयात गरिएको छ ।

आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ । कच्चापदार्थदेखि उपभोग्य वस्तुको अधिकांश हिस्सा आयातबाटै पूरा गर्नुपर्ने अवस्थामा आयात बढ्दा आन्तरिक अर्थतन्त्र सुधारोन्मुख हुँदै जान्छ । साथै बजार चलायमान हुन्छ, आर्थिक कारोबार फैलिन्छ र आर्थिक सूचकहरू बलियो बन्दै जान्छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा साढे तीन खर्ब रुपैयाँ लगानीयोग्य रकम देखिएको छ । मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाप्रति नागरिकको अविश्वासलगायतका कारणले गर्दा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम बजारमा आउन सकेको छैन । कर्जाको माग निकै न्यून छ ।

No description available.

निर्यात घट्यो : आयात बढे पनि निर्यात दुई दशमलव २६ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत वर्षको पहिलो त्रैमासमा निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँबराबरको थियो ।

गलैँचा, फलाम तथा स्टिलजन्य सामग्री, अलैँची, जुस र जुसजन्य पदार्थ, चिया, धागोको निर्यात सबैभन्दा बढी भएको छ । दुई अर्ब ९३ करोड ५६ लाख रुपैयाँको गलैँचा, एक अर्ब ९५ करोड ५३ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य सामग्री, एक अर्ब ८९ करोड सात लाख रुपैयाँको अलैँची, एक अर्ब ६० करोड आठ लाख रुपैयाँको जुस र जुसजन्य पदार्थ, एक अर्ब १९ करोड ७३ लाख रुपैयाँको चिया र एक अर्ब आठ करोड ४१ लाख रुपैयाँको धागो निर्यात गरिएको छ ।

साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएकोमा असोजसम्म आइपुग्दा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार एक दशमलव ३१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको बराबर थियो ।

व्यापारघाटा बढ्यो : विभागका अनुसार आयात व्यापार बढेसँगै व्यापारघाटा पनि बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापारघाटा दुई दशमलव १५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा व्यापारघाटा तीन खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । उच्च आयात र न्यून निर्यातका कारण अन्य मुलुकसँगको व्यापारघाटा बढ्दै गएको छ ।

मुलुकको अर्थतन्त्र चलायमान नरहेको, उद्योग, व्यवासाय, बजारको कारोबार खुम्चिनु, बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम बजारमा जान नसक्नु अहिलेको अर्थतन्त्रमा मुख्य समस्या हुन् । अधिकांश उपभोग्य वस्तु आन्तरिक उपभोगका लागि समेत उत्पादन नहुँदा आयात व्यापारमा निर्भर हुनुपरेको छ । कृषि उत्पादन, वन पैदावर, सेवा, औद्योगिक उत्पादन, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पर्यटनलगायतका क्षेत्रमा लगानी बढ्न सकिरहेको छैन । पछिल्लो समय प्रविधिजन्य उद्योग विदेशी मुद्रा कमाउने राम्रो क्षेत्र भए पनि पर्याप्त लगानी हुन सकेको छैन । जसले गर्दा निर्यात व्यापारमा ठूलो घाटा व्यहोर्नु परिरहेको छ ।

भारतसँग व्यापारघाटा : नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ । विभागका अनुसार असोज मसान्तसम्म भारतसँगको व्यापारघाटा सबैभन्दा धेरै देखिएको छ । असोजसम्मको तथ्यांकअनुसार भारतसँग दुई खर्ब २४ अर्ब ३६ करोड रुपैयाँ व्यापारघाटा भएकोे छ ।

भारतबाट दुई खर्ब ५० अर्ब ६१ करोड करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । चीनसँग ७९ अर्ब आठ करोड रुपैयाँको व्यापारघाटा भएको छ । चीनबाट ७९ अर्ब ८२ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ७३ करोड २३ लाख रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा संयुक्त अरब इमिरेट्स, युक्रेन, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलिया, अर्जेन्टिनालगायत छन् ।

एक खर्ब नाघ्यो भन्सार राजस्व : आयातमा सुधार आएपछि भन्सार राजस्वमा पनि सुधार आएको छ । विभागका अनुसार असोजसम्म कुल एक खर्ब नौ अर्ब २४ करोड ९१ लाख छ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ अर्ब ६१ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया