Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमाछापुच्छ्रे : बन्न सक्छ गण्डकी प्रदेशको अर्थतन्त्रको मेरुदण्ड

माछापुच्छ्रे : बन्न सक्छ गण्डकी प्रदेशको अर्थतन्त्रको मेरुदण्ड


काठमाडौं । नेपालमा हिम रेखाभन्दा माथिका लगभग १७ सय वटा हिमाल रहेका छन् । त्यसमध्ये नेपाल सरकारले ४१४ वटा हिमाल पर्वतारोहणका लागि खुल्ला गरेको छ । बाँकी रहेका नेपालका धेरै हिमालमध्ये केही हिमाल निषेधित रहेका छन् भने धेरै जसो हिमाल सरकारले अझै पनि खुल्ला गरेको छैन । पर्वतारोहणका लागि खुल्ला नगरिएका धेरै हिमालमध्ये एक हो ‘माछापुच्छ्रे हिमाल’ । जुन हिमाल अहिलेसम्म पर्वतारोहण गर्न चाहनेहरूका लागि खुल्ला नगरी प्रतिबन्धित अवस्थामै राखिएको छ । यो हिमालको उचाइ ६,६९३ (छ हजार छ सय त्रियानब्बे) रहेको छ । अहिलेको प्रशासनिक विभाजनअनुसार माछापुच्छ्रे हिमाल गण्डकी प्रदेशको कास्की जिल्लाअन्तर्गत माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । सो हिमाललाई नेपाली भाषामा माछापुच्छ्रे भनिए तापनि अंग्रेजी भाषामा रहेको नाम ‘फिसटेल’ ले बढी चिनिन्छ भने स्वीसहरूले चाहिँ यसलाई ‘म्याटर्न हर्न’ भन्ने गर्छन् । त्यस्तै विकिपीडीयाका अनुसार स्थानीय गुरुङ आदिवासीले माछापुच्छ्रे हिमाललाई ‘कतासुँ क्लिको’ भनी नामकरण गरेका छन् ।

त्यसो त माछापुच्छ्रे हिमाल सुरुमै आरोहण गर्न नपाउने भनी नेपाल सरकारले निषेध वा प्रतिबन्ध लगाएको थिएन । इतिहास हेर्दा र पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम बेलायती टोलीले गरेका थिए भनी डाक्टर हर्क गुरुङद्वारा लिखित विषय विविध नामक किताबमा उल्लेख छ । सो टोलीले बाटो खोज्दै जाने क्रममा सो बेला पञ्चेनीवराह नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यसैकारण सोभन्दा माथिका ठाउँलाई सो बेलायती टोलीले ‘अन्नपूर्ण सेन्चुरी’ नामकरण गरे । गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रयास गरेको थियो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भयो । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक थियोे, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयसको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पा¥यो ।’ भनी डाक्टर हर्क गुरुङले थप लेखेका छन् ।

सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामकरण भएका हिमचुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजक गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा थप लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीको नेपाली नामकरण गर्ने समितिको संयोजकको रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीको स्थानीय नाउँ त फेला परेन तर अन्य केही सांस्कृतिक तथ्य पत्ता लागे ।’

माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस)ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखराबासीहरूको विचारलाई समेटेर एउटा समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखराबासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर पवित्र भएको हुनाले खोलिनुहुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । हुन त कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? अझ त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीहरू चढे ? भन्नेमा रहेको हुन्छ । हुन त पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिईसकेको माछापुच्छ्रे गाउँपालिका स्रोतले बताएको छ । खासमा नेपाली समाज, त्यसमा पनि ऊ बेलाको (लगभग ७० वर्षअघिको) समाज धेरै नै फरक थियो, यसमा विवाद गर्ने कुरो भएन तर आजको समाज र युवा पुस्ता धेरै फरक सोच्ने र बुझ्ने भईसकेका छन् । त्यसैले आजको ‘२१ औं, २२औंँ!’ शताब्दीको युगमा पनि माछापुच्छ्रे हिमाललाई प्रतिबन्धित नै राख्नु ठिक हुँदैन कि ? तथापि पनि पोखरेलीहरूसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठिक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठिक होला ? भनी प्रश्न, बहस र छलफल गर्दा हुन्छ, फरक पर्दैन तर अबका दिनमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र छ !’ भन्लान् ? त्यसैले सकेसम्म केन्द्र सरकारले जति सक्दो चाँडो माछापुच्छ्रेलाई पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गर्दा राम्रो हुन्छ । माछापुच्छ्रे हिमाल अन्य हिमाल हेरी भौगोलिक दूरीका हिसाबले धेरै नजिक छ । केही सुगम स्थानमा पनि रहेको छ । त्यस्तै माछापुच्छ्रे हिमाल धेरै नै आकर्षक र सुन्दर पनि छ । उचाइको हिसाबले पनि न धेरै अग्लो, न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ ! यातायातको दृष्टिले पनि सुगम नै रहेको छ ।

त्यस्तै, अन्नपूर्ण संरक्षण आयोजनाले जैविक विविधताको संरक्षण गर्दै वन–जंगल, वातावरण, जंगली पशु–पंक्षी, स्थानीय आदिबासी र अन्य जातजातिको भाषा, वेशभूषा, संस्कार, संस्कृति, रहनसहन आदिको पनि संरक्षण र संवर्द्धन गर्दै आएको छ । त्यसैले माछापुच्छ्रे हिमाल आरोहणका लागि खुल्ला गर्नासाथ सबै कुरा नाश भईहाल्छ भन्ने चिन्ता लिनुपर्दैन । माछापुच्छ्रे हिमालमा आरोहण खुला गरेमा स्थानीय बासिन्दाहरूको आयआर्जन र थप रोजगारीको बाटो खुल्छ भने माछापुच्छ्रे आरोहणका लागि खुला गर्नाले गण्डकी प्रदेशको अर्थतन्त्रलाई थप टेवा दिने र समग्र देशकै अर्थतन्त्र चलायमान हुनमा सहयोग पुग्ने सम्भावना देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया